पुनर्निर्माणका लागि डोटी दरबार उत्खनन्

पुनर्निर्माणका लागि डोटी दरबार उत्खनन्

डोटी : संरक्षणको अभावमा ऐतिहासिक धरोहरहरु खण्डहरमा परिणत भइरहेका छन्। लामो समयदेखि ओभलेलमा पर्दा मासिने खतरामा रहेको डोटीको दिपायलमा रहेको राजदरबार पुर्ननिर्माणका लागि उत्खनन् गर्ने कार्य सुरु भएको छ।

 मध्यकालीन सयममा बाइसे राज्यहरू मध्ये सबैभन्दा शक्तिशाली डोटी राज्य थियो। यसै राज्यका एक चर्चित राजा हुन् भूपती शाह उनले डोटीमा वि.सं. १६१५ देखि १६४७ मा शासन गरेको इतिहासमा भेटिन्छ। उनकै शासन कालमा हालको दिपायल सिलगढी नगरपालिका डोटीस्थिति दिपायल बजारको बायाँतिर पर्ने गौडा नामक डाँडाँमा कोट अर्थात राजदरबार निर्माण गरिएको थियो।सोही दरबारबाट डोटी राज्यको राजकाज सञ्चालन हुन्थ्यो।  

यही ऐतिहासिक डोटी दरबार पुनर्निर्माणका लागि अहिले उत्खनन् कार्य सुरु भएको हो। निकै पुरानो इतिहास बोकेको यस दरबारको उत्खनन्बाट ऐतिहासिक र पुरातात्विक महत्वका वस्तुहरु भेटिने आशा गरिएको छ। पुरातत्व विभागको निरीक्षणमा दिपायल सिलगढी नगरपालिकाले उत्खनन्को कार्य गरिरहेको नगरप्रमुख मञ्जु मलासी बताइन्।

सोही ठाउँमा भैरवका मन्दिरसमेत स्थापना भएको थियो। सो मन्दिरमा वि.सं. १८९० सम्म नेपाल दरवारबाटै पूजा खर्च व्यहोरिने गरिएको बताइन्छ।  दरवारको संरक्षण तथा मन्दिरको सामान्य जिर्णोद्वार सोही क्षेत्रमा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र तथा नगरपालिकाले गर्नुपर्ने भनिए पनि संरक्षण भने अझै हुन सकेको छैन। मन्दिरको सामान्य संरक्षण भई सो क्षेत्रमा भ्रमण गर्न जाने व्यक्तिहरु पुजाआजा गर्ने भएपनि दरबारको भने भग्नाबशेष  मात्रै देख्न सकिन्छ।

दरबार संरक्षणका लागि पटक–पटक आवाज उठाएको भएपनि सम्बन्धित निकायले बेवास्ता गर्न गरेको स्थानीय प्रेमबहादुर शाहले गुनासो गरे। उनले भने, ‘अहिले नगरपालिको अग्रसरतामा पुनर्निर्माणको काम सुरु भएको छ, यसमा सबैले सहयोग गर्नुपर्छ।’

‘हामी दरबारको पुनर्निर्माण गरी संरक्षण गर्छौं’, नगर प्रमुख मलासीले भनिन्, ‘यसको संरक्षण गरी सो क्षेत्रमा संग्रालय स्थापना गर्ने योजना छ।’ यस क्षेत्रलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्ने मलासीले बताइन्।

निरालीको दरबार भने उस्तै

डोटीकै निरौलीमा रहेको निरौली दरबारको अवस्था पनि उस्तै छ।  यसको संरक्षणमा भने हालसम्म कतैबाट कुनै कदम चालिएको छैन। निरौलीका तत्कालीन राजा निरैपाल मल्लले झन्डै दुई हजार वर्ष पहिले दरबार बनाएका थिए। 

दरबार क्षेत्रमा विक्रम संवतको सुरुवाती कालका शिलालेख भेटिएको स्थानीयहरु बताउछन्। दरबारको गारो लगाउन मासको प्रयोग गरिएको छ। यस क्षेत्रमा मासको उत्पादन बढी हुने र बलियो हुने भएकोले दरबार मासको गारो लगाएर बनाइएको जानकारहरुको भनाइ छ। ‘ती दरबारहरु हाम्रा इतिहासका साक्षी हुन्। इतिहास मेट्नु देशकै लागि घाटाको कुरा हो’  इतिहासका जानकार धनबहादुर मल्ल भन्छन्। 

मल्ल राजाको शासनकालमा भण्डारीहरु राजाका पुरेत भएर निरौली आएको र भण्डारी शक्तिशाली भएपछि मल्लहरु निरौलीबाट पलायन भएको स्थानीय बताउछन्। 
समुद्री सतहबाट झन्डै १ हजार ५ सय मिटरको उचाईमा रहेको निरौली दरबार पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ। दरवारको संरक्षणका लागि सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ। 

दरवारमा जान खोज्दा अचानक सर्प निस्कने र त्यो सर्पलाई मार्न खोजे सर्प नै रहस्यमय तरिकाले हराउने गरेकाले दरबारमा अनौठो अलौकिक शक्ति रहेको निरौली, खतेनाका धर्मराज भण्डारीले बताए। उनकाअनुसार दरबारमा जान खोज्नेलाई सर्पले छेक्ने गरेकोले हालसम्म कोही पनि  दरबारभित्र पस्न सकेका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.