प्रभावित क्षेत्रलाई प्राथमिकता दिन माग
सुर्खेत : भेरी बबई डाइभर्सन आयोजनाका प्रभावित क्षेत्रका नागरिकले आयोजनाबाट आउने लाभांशबाट प्रभावित क्षेत्रको विकास गर्नुपर्ने माग गरेका छन्। बाँके र बर्दियाका लागि बहुप्रतिक्षित राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ खन्ने कार्य सकिएलगत्तै आयोजनाका प्रभावित क्षेत्रका नागरिकले आफूहरूको माग सम्बोधन नभएको गुनासो गरेका छन्।
वैशाख ३ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भएपछि पूर्वीसुर्खेत क्षेत्रका नागरिकले स्रोत र प्रभावित क्षेत्र सुर्खेतमै भएकाले आयोजनाबाट आउने लाभांशको हिस्सेदार प्रभावित क्षेत्रका बासिन्दा पनि हुनुपर्ने माग राखेका छन्। आइतबार भेरीगंगा, सिम्ता र गुर्भावकोटका नागरिकले अन्तक्र्रिया गर्र्दैै आफ्ना माग सार्वजनिक गरेका छन्।
भेरी–बबई सरोकार समाज सुर्खेतले आयोजनाको सुरु र अन्त्य सुर्खेतमै भएकाले प्रदेश गौरवको आयोजनाका रूपमा घोषणा गर्न माग गरेको छ। यस्तै, आयोजनाको आधा काम भइसकेको र प्रभावितलाई हालसम्म उपलब्ध गराउनुपर्ने मुआब्जा उपलब्ध नगराएकाले यथाशीघ्र मुआब्जा दिलाउन माग गरिएको सरोकार समाजका अध्यक्ष जयबहादुर सुनारले बताए। मुआब्जा दिएर तत्कालीन राहत उपलब्ध गराए पनि दीर्घकालीन विपद् व्यवस्थापनका लागि आयोजनाको मुहान क्षेत्रमा दुवैतर्फ तटबन्ध निर्माण गर्न माग गरिएको छ।
यस्तै, प्रभावित क्षेत्रका नागरिकलाई रोजगारी र मजदुर बिमा गर्नुपर्ने माग राखिएको उनले बताए। वैशाख ३ गते प्रधानमन्त्री ओलीलाई आयोजनाको लाभांशका साथै पूर्वीसुर्खेतका नागरिकको तर्फबाट विकास निर्माणमा पहल गर्नुपर्ने विषयमा पनि ज्ञापनपत्र बुझाउने बताइएको छ। भेरी करिडोर निर्माणलाई तीव्रता दिन, स्थानीय स्तरमा गुणस्तरीय अस्पताल, प्राविधिक क्याम्पसलगायत संरचना निर्माणका लागि सरकारले दिन दिनुपर्ने माग राखिएको छ।
नेपालमै पहिलो पटक तोकिएको समयभन्दा अगाडि नै सुरुङ निर्माण सम्पन्न भएको पहिलो आयोजना हो। नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ खन्ने कार्य सुरु गरेर १७ महिना अवधिमा १२ हजार २ सय मिटर सुरुङ खनेर सो कार्य पूरा गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले जनाएको छ। पानीको स्रोत र प्रभावित क्षेत्रलाई नै बेवास्ता गरेकाले भविष्यमा आयोजनालाई निर्विवाद सञ्चालनका लागि पहिला आफ्ना माग पूरा गर्नुपर्ने स्थानीयको माग छ।
०७४ साल कात्तिक २० गतेबाट टीबीएमद्वारा सुरुङ खन्न सुरु गरिएको र सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकामा एक वर्षपहिले नै सुरुङ खन्ने कार्य पूरा गरिएको आयोजना प्रमुख सञ्जीव बरालले जानकारी दिए। सो सुरुङ निर्माणका लागि ७ अर्ब रुपैयाँ खर्च भएको जनाउँदै उनले आयोजनाको टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपैयाँ खर्च हुने बताइएको छ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण जिम्मा लिएको थियो। अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरिदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरूप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने सर्त राखेको थियो। सर्तअनुसार नै उत्पादक कम्पनीले आयोजनास्थलमा आएर दुई सय ५० मिटर लामो मेसिन जडान गरेको थियो।
डाइभर्सन हेडबक्सबाट बबईमा पानी खसाएर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी योजना छ। त्यसका लागि जलविद्युत् गृह र अन्य सम्बन्धित संरचना निर्माण भइरहेका छन्। उक्त आयोजना सम्पन्न भए विद्युत् उत्पादनसँगै बाँके र बर्दियामा ५१ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !