भारतीय निर्वाचनको परकम्प
सत्तारोहण गर्दा ‘पहिले छिमेकी नीति’ बाट आरम्भ गरेका मोदी छिमेकमै विवादित बने । नेपालमा बढेको उनको ‘क्रेज’ आफ्नै कारण ओझेलमा पर्यो ।
छिमेकी मुलुक भारतको लोकसभा निर्वाचनमा विश्वकै आँखा केन्द्रित छन्। अनि, प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षा पनि हुँदै छ। ५४३ लोकसभा सिटनिम्ति अघिल्लो बिहीबार (चैत २८) बाट निर्वाचन भइरहेको छ। सात चरणको मतदान सकिएपछि जेठ ९ बाट मतगणना सुरु हुनेछ। निर्वाचनमा करिब ९० करोड मतदाताले शासकको भाग्य निर्धारण गर्दै छन्। अघिल्लो पटकदेखि नै ‘नो भोट’ को समेत व्यवस्था गरिएकाले उम्मेदवार मन नपरे ‘नो भोट’ मा चिह्न लगाउन सक्ने छन्। भोटिङमा प्रविधि उपयोग भएको छ।
अघिल्लो निर्वाचनमा बीजेपीले २८२ र कांग्रेस आई (राष्ट्रिय कांग्रेस) ले ४४ सिट ल्याएका थिए। कांग्रेसको १० प्रतिशतभन्दा पनि कम सिट रहेपछि सरकारले संसद्मा प्रतिपक्षलाई ओझेल पार्ने नीति लिएको थियो। राष्ट्रिय स्वयंसेवक कार्यकर्ता अनि गुजरातको मुख्यमन्त्री हँुदै राष्ट्रवादी छवि बनाएर उदाएका मोदीका पक्षमा परिणाम जान्छ या जाँदैन भन्ने अनेक अड्कलबाजी र चर्चा भइरहेका छन्। भारतभित्र मात्र होइन, परम्परागत शक्ति र उदाउँदो शक्ति राष्ट्रहरूले समेत निकै चासोका साथ यो निर्वाचन नियालेका छन्।
विश्वमा अनुदारवादी लहर चलिरहँदा मोदी पनि त्यही कित्ताबाट उदाएका हुन्। तर भारतमा मोदीको कित्ता फरक छ। उनी अन्य मुलुकमा उदाए झैं अनुदारवादको पहलबाट आएका होइनन्। पुँजीको विश्वव्यापीकरण भएपछि श्रम बजार र विश्वमा छरिएका भारतीयहरूको भावना जोडेर उनले आफूलाई राष्ट्रवादको प्रवक्ता बनाएको बुझाइ राजनीतिक विश्लेषक हरि शर्माको छ। ‘धेरै वर्षसम्म भारतीय मध्यम वर्गका नागरिक कामका लागि युरोप तथा अमेरिका पढ्न गए।
त्यहाँको सरकारको रंगभेदी नीतिका कारण सधैं पछि परेको उनीहरूले अनुभव गरे पनि आफ्नो मिहिनेतका कारण अर्थ र समाजमा वर्चस्व कायम गर्दै गए’ शर्माले भने, ‘मोदीले तिनीहरूलाई जोडे। राष्ट्रियताको भावनामा ल्याए। यो उनको बलियो कडि हो।’ हुन पनि जवाहरलाल नेहरू–इन्दिरा गान्धीको समयमा विश्वमा रंगभेदको विषय अघि बढेको थियो। काला अमेरिकीभन्दा फरक देखिने तर गोराहरूसँग आफू कुम मिलाउन नसक्ने भारतीयलाई जोडेर अघि बढेको मोदी पछिल्लो समय अनुदारवाद नै देखिए। आफैंलाई सर्वेसर्वा ठानी मोदी विपक्षीलाई गालीगलौज गर्न उत्रेको धारणा भारतीय सञ्चारमाध्यमहरूले पस्किरहेका छन्।
प्रतिपक्षले पनि मोदीको छिमेक नीति असफल भएको जिकिरसहित अन्य नीतिबारे बहस गर्नु बेकार रहेको भन्दै प्रचार गरिरहेको छ। उदारवाद र अनुदारका पक्षपोषकबीचको लडाइँको रूपमा समेत विश्वले यो निर्वाचनलाई नियालेको छ। नेपालको सीमा क्षेत्रमा निर्वाचन भइरहँदा त्यहाँ कुन दललाई मत जान्छ भन्नेमा नेपालको पनि चासो रहने गरेको छ।
छिमेक नीतिमै अलमल
सन् २०१४ को निर्वाचनपछि सत्तारोहण गर्दा ‘पहिले छिमेक नीति’ बाट आरम्भ गरेका मोदी छिमेकमै विवादित बने। नेपालमा बढेको उनको ‘क्रेज’ आफ्नै कारण ध्वस्त भयो। नेपालको आन्तरिक राजनीतिमा नचाहिँदो चासो देखाउँदा उनी संसद्मा नाजवाफ बनेका थिए। उनका विदेशमन्त्री सुष्मा स्वराजको बोली नै प्रतिपक्षले बन्द गराएको अवस्थासमेत उनले भोगे। नेपालमा संविधान जारी गर्ने क्रममा उनका केही धारणा अस्वीकार गरिदिँदा लगाइएको आर्थिक नाकाबन्दीले दुई देशबीचको सम्बन्धमा दरार आयो। नेपालमा भारतविरोधी भावना मौलायो। नाकाबन्दीमा नेपालीले केही समय दुःख पाए। त्यसले भारतलाई हेर्ने नेपाली दृष्टिकोणमा परिवर्तन आएपछि भारतीयहरू पनि चिन्तित बने।
भारतभित्र मात्र होइन, परम्परागत शक्ति र उदाउँदो शक्ति राष्ट्रहरूले समेत निकै चासोका साथ यो निर्वाचन नियालेका छन्।
पछि विस्तारै सम्बन्ध सुध्रिएर आएको थियो। यसरी पटकपटक परीक्षामा खरो उत्रँदै आएका मोदी निर्वाचनको केही दिन पहिलेसम्म पाकिस्तानसँग आमनेसामने थिए। त्यस्तै अन्य छिमेक पनि अझै भारतसँग खुला दिलले एक हुन सकेका छैनन्। यस्तो अवस्थालाई विश्वकै ठूलो लोकतन्त्रको अनुदारवादको रूपमा व्याख्या भएकाले पनि निर्वाचनको पक्ष कता जाने भन्ने अन्योल रहेको छ।
भारत दक्षिण एसियाको ठूलो र आर्थिक विकासमा अग्रसर रहेको मुलुक हो। त्यही भएर मोदीले आफ्नो नीति परिवर्तन गर्दै छिमेकीसँगको सम्बन्ध राम्रो बनाउन आरम्भमा जोड दिएका थिए। तर, कार्यकाल सकेर अर्को निर्वाचनको आरम्भ हुँदै गर्दा पाकिस्तानमाथि आक्रमण गर्नुपर्ने अवस्थामा पुग्दा सम्बन्ध असहज हुन पुगेको थियो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पनि बन्दी बनाइयो। प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक) लाई अग्रसर गराएपछि मोदीको कूटनीतिक चालमा समेत असर परेको थियो।
निर्वाचन प्रचार गर्दै गर्दा पाकिस्तानमाथिको आक्रमण र राजनीतिक दलका नेताको बोलीमा ‘बेलगाम’ को विषयमा पनि कूटनीतिक विश्लेषण भए। मोदी कालमा चीनसँगको दोक्लाम तनाव र भारतले चीनसँग गरेको लिपुलेक सहकार्यमा नेपालको आपत्ति लगायतको विषयलाई त्यहाँका जनता र प्रतिपक्षले नियालेका छन्। अनि पछिल्लो समय पाकिस्तानमा भएको हमलाले झन् मोदी संकटमा परेका छन्। मोदीको जुन प्रकारको छवि बाहिर आएको छ, त्यसलाई पाकिस्तानका इम्रान खानले टपक्कै टिपे। त्यो घटनाले पनि मोदीलाई निर्वाचनमा असर पुर्याउन सक्छ। निर्वाचन सँघारमा भारतीय जनताको भावना जितेको बेला मोदीको पाकिस्तान आक्रमण रणनीति आफैंतर्फ फर्किए झैं छ।
निर्वाचनमा चासो
भारतको मात्र होइन, अन्य मुलुकका अखबारमा समेत त्यहाँको निर्वाचनको खबरले प्राथमिकता पाएको छ। भारतीय टेलिभिजनमा त झन् बिहानदेखि साँझसम्मको चर्चा कसले सरकार बनाउँछ भन्नेमा अग्रसर छ। अनि, पाँच वर्षअघि भारतमा मोदीको उदय हुँदै गर्दा गरिएका प्रतिबद्धताको स्मरण त्यहाँका जनताले गरिरहेका छन। उनको नेतृत्वमा भएका कामको लेखाजोखा त्यहाँको टेलिभिजन र अखबारहरूले गरिरहेका छन् भने बाहिरका मुलुकले विदेश सम्बन्ध र उनले उठाएका अन्तर्राष्ट्रिय एजेन्डालाई उठाइरहेका छन्। कांग्रेस आईका कारण भारत अघि बढ्न नसकेको बताउँदै आएका मोदीले आफ्नो कार्यकालमा के गरे त ? उनको विदेश भ्रमणको आलोचना भइरहेको छ भने कूटनीतिक सन्तुलन गुमाएको विषय बढी चासोमा परेको छ। अनुदारवादी छवि बनाएका मोदीले आफ्नो पाँचबर्से कार्यकालमा एक दिन पनि सञ्चारमाध्यममा खुलेर अन्तरक्रिया गरेनन्। ‘उनी किन संवादमा आएनन् ? ’, बग्रेल्ती प्रश्न उठेका छन्।
मोदी नै उदाउँछन् त ?
फेरि बीजेपी भन्ने एकथरीको आकलन छ भने अर्काथरी विश्लेषकहरू सहज नभएको बताउँछन्। कांग्रेस आईमा धातुको चुम्बक वा ग्लुको भूमिका निर्वाह गरिरहेको गान्धी–परिवारको विषयमा पनि कुरा उठाउन थालेपछि बीजेपीलाई सहज हुन सक्ने बताइएको छ। गान्धी वंशबाट बाहिर जानेबित्तिकै कांग्रेस आई चोइटिन सक्ने आकलन भइरहँदा त्यसमा अडिएर अघि बढ्ने आम बुझाइ छ। बीजेपीले सरकार निर्माण गर्ने गरी सुविधाजनक बहुमत ल्याउँछ या ल्याउँदैन भन्ने आमजिज्ञासा बढेको छ भारतभित्रै। बीजेपीले बहुमत नल्याए पनि सरकार बनाउन सक्ने अर्को थरीको आकलन छ। त्यस्तो हुन गएमा पुनः मोदी नआउने धारणा पनि बाहिर छ। अनि सत्ता समीकरण कस्तो होला भन्नेमा पनि उत्तिकै चासो छ। विपक्षी कांग्रेस पनि अरू विपक्षी दलसँग सहकार्य गर्दै एकीकृत प्रगतिशील गठबन्धन (यूपीए) का साथ निर्वाचन रणनीतिमा लागेकाले पहिले झैं कमजोर नभएको आकलन छ।
राजनीतिका लागि व्यक्तिगत जीवनसमेत दाउमा लगाएका राहुल गान्धी, मायावती र ममता बनर्जीमध्ये एकले अवसर पाउन सक्छन्। यसका लागि नै उनीहरू लगातार चुनावी दौडमा मिहिनेत गरिरहेका छन्। कांग्रेसको गठबन्धन पनि पहिलेभन्दा बलियो झैं छ। हिन्दुको मतकै लागि भए पनि हिन्दु कट्टरतासम्बन्धी विवादास्पद अभिव्यक्तिले मोदीलाई परीक्षामा राखेको छ। कतिपय कलाकार अनि कतिपय अल्पसंख्यक कांग्रेसको पक्षमा देखिएका छन्। यो विषय मोदीका निम्ति टाउको दुखाइ बनेको छ। प्रधानमन्त्री भएमा भारतमा वर्षमा कम्तीमा एक करोड नयाँ रोजगार सिर्जना गर्ने घोषणा पूरा नभएको भन्दै त्यसलाई विपक्षीले ‘क्यास’ गरिरहेको अवस्था छ। अनि विभिन्न भ्रष्टाचारका विषय पनि त्यहाँ उठाइएका छन्। अनि हिन्दु अतिवादले पनि सन्तुलित समाजमा असर पर्दै गएको धारणा भारतमा फैलिएकाले मोदीलाई सहज भने पक्कै छैन।
नेपालको चासो
नेपाल र भारत सम्बन्धमा उतारचढाव सामान्य झैं छ। तर नेपालको राजनीतिमा भारतको चासो बढ्दो रहेकाले दलअनुकूलको नेतृत्व सत्तामा रहँदा यहाँ हुने सहकार्यलाई सहज हुने धारणा आम बुझाइ छ। भारतमा हिन्दुवादी पुनः सत्तामा आए नेपालमा पनि सांस्कृतिक रूपमा भए पनि राजसंस्था ब्यँुताउन भूमिका निर्वाह हुन सक्ने अर्को आकलन छ। तर, त्यो आकलन सत्य नहुन सक्छ, यद्यपि दलीय चासो भने मोदीप्रति बढी देखिँदैन। नेपालीले नाकाबन्दीको मार खेप्नु नपरेको भए मोदीले नेपालमा भारतीय कलाकारभन्दा पनि बढी जनमतमा छाउँथे। त्यही कारण पनि नेपाल बुझेको नेतृत्व भारतमा आएमा सहज हुने बुझाइ छ।
नेपालमा भारतको सरोकार चीनसँग पनि जोडिएको छ। यसले चीनले कसलाई समर्थन गर्छ र चीनको समर्थन पाएको व्यक्ति भारतमा को उदाउँछ भन्नेमा पनि निर्भर गर्छ। अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा भारत एक हिस्सेदार झैं छ। उसको अनौपचारिक क्वाडमा रहेको भारतले खेल्ने भूमिकालाई लिएर अमेरिकाले पनि त्यहाँको निर्वाचन नियाल्ने हुँँदा नेपाल र अमेरिका–भारत मात्र होइन, नेपाल, भारत र चीनको पनि सहकार्यको अवस्था कस्तो रहन्छ भन्ने अर्को बुझाइ छ। भारतको निर्वाचन यतिबेला विश्वको चासोमा मात्र होइन भूराजनीतिमा चासो राख्ने नेपालीको पनि उत्तिकै महत्वमा परेको छ।
प्रतिक्रिया दिनुहोस !