खादी कपडाले पाएन बजार

खादी कपडाले पाएन बजार

धनकुटा : घरेलु तानबाट बुनेका खादी कपडाले उचित बजार नपाउँदा तान बुन्दै आएका सहिदभूमि गाउँपालिकाका महिला मर्कामा परेका छन्। बजारमा मेसिनबाट उत्पादन भएको खादी कपडाको मूल्य घरेलु तानबाट बुनिएको कपडाभन्दा सस्तोमा पाइन थालेपछि उनीहरू मर्कामा परेका हुन्।

लोप हुँदै गएको खादी कपडाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई वर्षअघि छिन्ताङ महिला समाजले सहिदभूमि गाउँपालिकाको छिन्ताङलगायत विभिन्न स्थानमा महिलालाई तान बुन्ने तालिम दिएको थियो। १५ जनाभन्दा बढिले तालिम लिएका थिए। तालिमपश्चात ती महिलाले घरमै तान बनाएर खादीका कपडा बुन्न थाले। तर, ती खादीका कपडा बिक्री नभएर ३० जोरभन्दा बढी समाजको गोदाममै थन्किएको अध्यक्ष प्रभा पराजुली राईले बताइन्। न्यानो, टिकाउ, स्वास्थ्यवद्र्धक र आर्कषक देखिने खादीका कपडाबाट साडी, चोलो, बर्की, पटुका, दौरासुरुवाल, कोट, पछ्यौरालगायत सामग्री बन्ने उनले बताइन्।

घरेलु प्रविधिबाट बुनेका खादी कपडाको मूल्य १० हजार रुपैयाँ पर्छ। तर बजारमा मेसिनबाट बुनेका खादी कपडा ८ हजारभन्दा सस्तोमा पाइन्छ। घरेलु प्रविधिबाट बुनेका कपडाको लागत महँगो भएका कारण बिक्री नभएको उनले बताइन्। लागत खर्च महँगो हुँदा सस्तोमा बिक्री गर्दा घाटा हुने उनको भनाइ छ। महिलाले घरमा बुनेका कपडा खरिद गर्दा संस्थामा डेढ लाख रुपैयाँभन्दा बढी ऋण भएको उनले गुनासो गरिन्। महिलालाई व्यावसायिक बनाउने उद्देश्यले २ नम्बर वडा कार्यालयको ५० हजार, गाउँपालिकाको १ लाख र सल्भ नेपालको ५० हजार रुपैयाँ आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको थियो।

तालिमपछि यहाँका महिला उत्साहका साथ तान बुनिरहेका थिए। तर बजारमा बिक्री नहुँदा निराश भएको खादी कपडा बुन्दै आएकी छिन्ताङकी रामकुमारी राईले बताइन्। उनका अनुसार घरेलु प्रविधिबाट खादीका कपडा बुन्न धेरै मेहनत पर्छ। बजारमा काँचो धागो सहज रूपमा खरिद गर्न पाइए पनि त्यसका लागि आवश्यक कच्चापदार्थ जोहो गर्न गाह्रो छ। जंगलबाट जडिबुटीका बोक्रा ल्याएर काँचो धागोसँग पकाउनुपर्ने उनले बताइन्। जंगलबाट बोक्रा ल्याउन एक दिनभन्दा बढी समय लाग्छ। एक सेट कपडा बुन्न एक साताको समय लाग्छ। खादीका कपडा यस क्षेत्रको परम्परा र पहिचान पनि हो। यहाँका स्थानीयले पहिलेदेखि खादीबाट बुनेका कपडा लगाउँथे।

त्यतिबेला अरू कपडा नपाइने भएकाले सबै कपडाको विकल्पका रूपमा यसलाई प्रयोग गर्ने गरेको गाउँपालिका–३ देवीथानकी ८५ वर्षीया डिकमाया राईले बताइन्। खादी कपडाको बजार खोज्न गाउँपालिकाले पहलकदमी गरिरहेको अध्यक्ष मनोज राईले जानकारी दिए। ‘जनप्रतिनिधिलाई औपचारिक कार्यक्रममा अनिवार्य खादीका कपडाबाट बनेका पोसाक लगाउन पहल गर्दै छु’, उनले भने, ‘त्योबाहेक सुनिश्चित बजारको खोजीमा छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.