जुम्लामा धर्मनिरपेक्षता विरुद्ध उत्रिएका राप्रपाका १२ नेता-कार्यकर्ता पक्राउ
जुम्ला : धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपा नेपाल जुम्लाका १२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम खलंगाको बालमन्दिर नजिकै धर्मनिरपेक्षता लेखिएका ब्यानर, पम्प्लेट जलाउँदै गरेको अवस्थामा नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय अगाडि उक्त कागजात जलाउने राप्रपा जुम्लाको कार्यक्रम थियो । तर बाक्लो संख्यामा प्रहरी परिचालन हुँदा उनीहरुले बालमन्दिर नजिकै कागजात जलाएका थिए ।
सोही क्रममा प्रहरी र राप्रपा कार्यकर्ताबीच ठेलमठेल समेत भएको थियो । राप्रपा नेपाल जिल्ला कार्यसमिति जुम्लाले स्वतन्त्र पूर्वक गरिएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।
राप्रपा नेपालका युवा नेता अनुप थापाले प्रहरी नियन्त्रणमा रहेका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहाइको माग गरेका छन् । पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्यसमिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र जुम्लाका प्रवक्ता अंगदप्रसाद देवकोटा लगायत नेता, कार्यकर्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएका नेता, कार्यकर्तालाई छोड्ने वा राख्ने भन्ने विषयमा केन्द्रबाट आउने परिपत्र अनुसार अघि बढ्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !