गाडीभन्दा घोडा भरपर्दो
हरिबहादुर लम्जेल, धनकुटा / टीआर लिम्बू, तेह्रथुम : धनकुटा–२ भीरगाउँको किन्ताङसम्म सडक पुगेको छ। तर, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने कच्ची सडक भरपर्दा छैनन्। आक्कलझुक्कल चल्ने सवारी साधनबाट गाउँका उत्पादन बजार पुर्याउन र बजारबाट सामान ल्याउन सधैं सम्भव छैन। त्यही भएर सामान ढुवानीका लागि घोडाकै भर पर्छन्, स्थानीय।
किन्ताङका तिलबहादुर मगरले घोडा पालेका छन्। गाउँका किसानले उत्पादन गरेको दूध यही घोडाले जोरपाटी बजारसम्म बोक्छन्। बजारबाट फर्किंदा दैनिक उपभोग्य वस्तु बोकाइन्छ। गाउँमा सडक पुगे पनि सवारी साधन नचल्दा ढुवानीको साधन बनेको छ घोडा। दूध लिएर बजार जाने र फर्किंदा खाद्यान्न बोकाएर ल्याउने गरिएको तिलबहादुरको भनाइ छ।
दूध दुवानीबापत उनले प्रतिलिटर साढे ५ रुपैयाँसम्म ज्याला पाउँछन्। करिब १ घण्टामा जोरपाटीको सहकारीमा पुगिने उनले सुनाए। सस्तो भएकाले पनि गाउँका उत्पादन बोकाउन अझै घोडाकै प्रयोग गर्ने गरिएको उनको भनाइ छ। ‘अरूले पनि घोडा पालेका थिए तर यातायात साधन आउन थालेपछि बेचे’, उनले भने, ‘तर, मैले अझै घोडाबाटै सामान ढुवानी गरिरहेको छु।’ घोडा घरमै पुग्ने भएपछि किसानलाई सजिलो भएको उनको अनुभव छ। छथरजोरपाटी गाउँपालिका–१ भस्मेका श्रीमान् कार्कीका पनि दुइटा घोडा छन्। उनी पनि गाउँमा संकलित दूध घोडाबाटै बजारको सहकारीसम्म पुर्याउँछन्।
तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका राजकुमार पन्तको घरमा पाँचवटा घोडा छन्। गाउँ सडक सञ्जालले जोडे पनि घोडालाई भ्याइनभ्याइ छ। आङदिमका ५५ घरबाट दूध संकलन गरी उनी यिनै घोडामार्फत बजारसम्म पुर्याउँछन्। काङलाबाङमा सञ्चालित सोराना दुग्ध उत्पादक सहकारी संस्थासम्म दैनिक ५ सय लिटर दूध पुर्याउने गरेको उनले सुनाए। उनले यसबाट मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। चार वर्षदेखि घोडाबाट आम्दानी लिँदै आइरहेको उनले बताए।
गाउँ–गाउँमा सडक खनिए पनि ढुवानीको भरपर्दो साधनका रूपमा अझै घोडा प्रयोग गरिन्छ। तेह्रथुमको पश्चिमी क्षेत्रका किसानले दूध तथा कृषिजन्य सामग्री ढुवानी गर्न घोडाकै भर पर्दै आएका छन्। सवारी साधनको भरै नहुनुका साथै खर्च धेरै लाग्ने मार्गदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टीकाराम बस्नेतले बताए।
तेह्रथुमको गाउँमा उत्पादित दूध घोडालाई बोकाएर सहकारीसम्म लगिँदै। तस्बिर : टीआर लिम्बू
धनकुटाको जोरपाटी बजारस्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्थामा दुई वर्षअघि २० भन्दा बढी घोडाले दूध लिएर आउँथे। हात्तीखर्कको सल्लेमा चार, घस्नेमा दुई, भीरगाउँमा तीनवटा घोडा थिए। किन्ताङ बगाने टोलमा घोडा थिए। घोडाका कारण सधैं बिहान जोरपाटीमा बजार लागेझैं देखिने गरेको व्यवस्थापक देवबहादुर कार्कीले बताए।
उनका अनुसार सडक नहुँदा किसान आफैं दूध बोकेर आउँथे। २०६७/६८ देखि घोडा प्रयोग गर्न थालेको उनले सुनाए। एउटा घोडाले ८० लिटरसम्म दूध बोक्छ। गाडी चलिरहने ठाउँमा घोडा विस्थापित भए पनि अन्यमा घोडा भरपर्दो माध्यम रहेको उनको भनाइ छ।
सडक राम्रो भएको ठाउँमा पनि स्थानीय उत्पादन कम मात्र हुने भएकाले सवारी साधन नआउने तेह्रथुम हमरजुङका नरसिंह लिम्बूले बताए। ‘थोरै सामान लिन ट्र्याक्टर र अन्य साधन आउन मान्दैनन्’, उनले भने, ‘आइहाले पनि भाडा महँगो लिन्छन्। घोडालाई बोकाउँदा भाडामा सहुलियत र सधैं भरपर्दो हुन्छ।’
कृषि उत्पादन बजारसम्म पुर्याउन जनशाक्ति अभावका साथै सवारीका साधन पर्याप्त रूपमा सञ्चालन हुन नसक्दा घोडा प्रयोगमा आउने गरेको किसान प्रकाश लिम्बूले बताए। ‘सडक बिग्रिए पनि घोडा भएपछि फरक परेन’, उनले भने, ‘ढुवानी भइहाल्छ।’ ज्यालादारीमा काम गर्नेको अभावमा घोडा किनेर दूध बिक्री गर्दै आएको छथर गाउँपालिका–६ मा सञ्चालित मचिन्द्र पशुपालन सहकारी संस्थाका अध्यक्ष काजीमान आंखेवाले बताए। ‘संस्थाले एउटा घोडा खरिद गरेको छ’ उनले भने।
किसानले गाई फार्म दर्ता गर्ने क्रम बढेको तेह्रथुमको पशु शाखा कार्यालय शुक्रबारेले जनाएको छ। व्यावसायिक गाईपालनतर्फ युवाको आकर्षण बढ्दो रहेको जलकन्या पशुुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष डम्बर भट्टराईले बताए। ‘एक दर्जन गाई फार्म सञ्चालनमा छन्’, उनले भने, ‘यहाँबाट उत्पादित दूध घोडालाई बोकाइन्छ।’
छथर क्षेत्रका प्राय किसानले गाई तथा भैंसीपालनसँगै दूध बिक्रीबाट राम्रो आम्दानी लिने गरेका छन्। वैदेशिक रोजगारबाट फर्किएका युवाले पनि दुग्ध व्यवसाय रोजेका छन्।