गाउँपालिकाको बस बिहेमा

गाउँपालिकाको बस बिहेमा

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकाद्वारा सञ्चालित सार्वजनिक बस बिहेमा प्रयोग भएको छ। स्थानीयको सहजताका लागि पूर्वीचौकी गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको बस बुधबारदेखि जन्ती बोक्दै आएको हो।

गाउँपालिकाको बस बिहेमा प्रयोग भएपछि यात्रुले गुनासो गर्न थालेका छन्। पूर्वीचौकी गाउँपालिकाको खिर्सेनबाट दिपायल सिलगढी नगरपालिका–२ मा आएको विवाहमा बिहीबार जन्ती लगेर फर्केको हो। शुक्रबार पनि उक्त गाउँपालिकाको बस सोही गाउँपालिकाबाट जन्ती बोकेर डडेलधुराको कोराल खोलामा विवाहको ब्यानरसहित गएको हो।

उक्त बस तीन दिनदेखि लगातार विवाहमा प्रयोग हुँदै आएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार गरेको नेपाल बन्दमा समेत जन्ती बोक्दै गरेको अवस्था भेटिएको हो। बन्दका कारण डोटीमा सञ्चालित सार्वजनिक यातायातका सवारीसाधन, गाउँपालिका नगरपालिकाद्वारा सञ्चालित नगरबस तथा अन्य यातायातका साधन ठप्प थिए।

यात्रुको सहजताका लागि ल्याइएको बस गाउँपालिकाले विवाहमा प्रयोग गर्न थालेपछि सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ। जनताको सेवाका लागि ल्याइएको बस मुनाफा कमाउन वा व्यक्तिगत सम्बन्धका आधारमा प्रयोग गर्नु गलत भएको स्थानीय कुबेर खड्काले बताए। बस भाडामा दिने कुरा बस सञ्चालन कार्यविधिमा समेत उल्लेख नभएको उनको भनाइ छ।

गाउँपालिकाको बस सञ्चालन कार्यविधिमा समेत गाउँपालिकाद्वारा सञ्चालित बस कुनै पनि प्रयोजनका लागि भाडामा दिने उल्लेख नभएको बताए। वडा नम्बर २, बगलेकका वडाध्यक्ष योगेन्द्र ठकुल्लाले कुनै सहकार्य नगरी बस विवाहमा प्रयोग भएको आरोप लगाए।

गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले कार्यविधिमा विवाह व्रतबन्धका लागि प्रयोग गर्न मिल्ने उल्लेख भएको दाबी गरे। उनले विवाहमा गाउँपालिकाको बस प्रयोग हुँदै आएको स्विकार्दै बस भाडामा दिएको बताए। विवाहमा बस प्रयोग गरेबापत कति रकम लिने सहमति भएको छ भन्नेबारे भने गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष कसैलाई जानकारी छैन। गाउँपालिकाका अध्यक्ष बोगटीले बस विवाहमा प्रयोग गरेबापत कति रकम लिने त्यो बस चालकलाई जानकारी हुने र चालकसँगै बुझ्न सकिने बताए।

बस सञ्चालन समिति संयोजक तथा वडा नम्बर १ का अध्यक्ष अंकबहादुर खड्काले बस विवाहमा प्रयोग भएको जानकारी आएको तर आफूसँग बस भाडामा दिँदा कुनै सल्लाह नगरेको बताए। ‘बस जुन उद्देश्यसाथ ल्याइएको हो त्यसैअनुसार प्रयोग गर्नुपर्ने हो’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.