ब्राउन सुगरसहित पाँच पक्राउ
जुम्ला : लागु औषध ब्राउन सुगरसहित जुम्लामा पाँचजना पक्राउ परेका छन्। जिल्लाभित्र लागु औषध (ब्राउन सुगर) ओसार पोसार, विक्री वितरण तथा सेवन गरिहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपितलाई चन्दननाथ नगरपालिका ४ भारतीबाडास्थित एक घरको कोठाबाट पक्राउ गरिएको हो। पक्राउ परेकालाई रीतपूर्वक खानतलासी गर्दा ४ ग्राम २० मिलिग्राम लागु औषध भेटिएको छ।
पक्राउ पर्नेहरूमा बाँके जिल्ला डुढुवा गाउँपालिका ५ का २६ वर्षिय हिरालाल सुनार सहित पाँच जना रहेका छन्। प्रहरी निरीक्षक नवीन ओलीका अनुसार सुनार विक्रेता हुन् भने उनले उक्त लागु औषध बेच्न लागेका चारजना १८ वर्ष कम उमेरका छन्।
उनीहरूलाई खानतलासी गर्दा हिरालाल सुनारको कालो रंगको ब्यागभित्र पोको पारेर राखिएको ब्राउन सुगर बरामद गरिएको छ। उनीहरूमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय जुम्लामा लागु औषध विक्री, विरतण तथा ओसार पोसार गर्नेहरूको संख्या बढिरहेको पाइन्छ।
प्रतिक्रिया दिनुहोस !