भारतमा प्रधानन्यायाधीशमाथि यौन दुर्व्यवहार आरोप
नयाँदिल्ली : भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उनकै एक पूर्वसहयोगी (जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लागेको छ।
प्रधानन्यायाधीश गोगोईले आफूविरुद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वसनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउने दुर्भावनाबाट प्रेरित अभिव्यक्ति भएको भनी आरोपको खण्डन गरेका छन्।
पूर्वसहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ वर्षीय महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई शुक्रबार पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुईपटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छन्।
यस क्रममा प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहको र यसको पछाडि कुनै ठूलो शक्तिको हात रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोगोईले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको बताए। उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको षड्यन्त्र भएको बताउँदै यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने बताएका छन्।
उनले भने, ‘यस्तो अवस्थामा काम गर्नुपर्यो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन्। उक्त महिलालाई सर्वोच्चमा कसरी जागीर मिल्यो ? जब कि उसको विरुद्ध आपराधिक मुद्दा छ। यसको पनि जाँच हुनुपर्छ।’ साथै प्रधानन्यायाधीश गोगोईले उक्त महिलाको आपराधिक पृष्ठभूमि भएको बताएका छन्।
महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन्।
ती महिलाले भनेकी छन्, ‘उहाँले मलाई मेरो कम्मरमा समात्नुभयो र शरीरका सबै अंगमा हात लगाउनुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो। उहाँले मलाई पनि उहाँको शरीरमा अँगालो हाल्न भन्नुभयो र उम्कने प्रयास गर्दा चरप्प समातेर राख्नुभयो। यो यौन दुव्र्यवहारको प्रयास थियो।’
प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मि श्रा र सञ्जीव खन्ना रहेको विशेष बेन्चमा सुनुवाइ भएको छ।
शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीश सहितको एक विशेष बेन्चमा सुनुवाइ हुने बताएको छ ।