पुनः परीक्षाले करोड व्ययभार

पुनः परीक्षाले करोड व्ययभार

काठमाडौं : परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो पटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ। परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो।

पहिलो चरणमा एसईई चैत १० गते सुरु भएको थियो। तर ३ विषयको परीक्षा सकिएपछि प्रदेश २ मा लगातार ३ विषयको प्रश्नपत्र बाहिरिएको थियो। यसरी प्रश्न बाहिरिएपछि शिक्षा मन्त्रालयले त्यहाँ हुन बाँकी विषयको परीक्षा स्थगन गरी चैत २२ गतेदेखि सञ्चालन गरेको थियो। पहिलो पटक छापिसकेको प्रश्नपत्र खेर गएपछि अर्को पटक छाप्दा लागेको खर्च, परीक्षामा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकसहित सुरक्षाकर्मी र कार्यालय सहायकलाई समेत दैनिक दिनुपर्ने भत्तालगायत शीर्षकमा यो रकम खर्च भएको हो।

‘परीक्षा रोकिएपछि पहिले छापेका सबै प्रश्नपत्र रद्द गर्नुप¥यो’, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक विष्णु अधिकारीले भने, ‘विभिन्न शीर्षकमा खर्च गर्दा १ करोड २ लाख रुपैयाँ थप व्ययभार थपियो।’ प्रदेश २ मा २ सय ६३ परीक्षा केन्द्र थिए। सबै केन्द्रमा त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष हुन्छन्। परीक्षा स्थगित भए पनि दुवै केन्द्रमा केन्द्राध्यक्षलगायत कर्मचारी खटिसकेका थिए। केन्द्राध्यक्षले दैनिक ८ सय रुपैयाँ भत्ता पाउँछन्। यस हिसाबले उनीहरूको भत्ताबापत एक दिनमा २ लाख १० हजार ६ सय रुपैयाँ खर्च हुन्छ।

यी सबै केन्द्रका लागि ३ सय ४५ सहायक केन्द्राध्यक्ष खटिएका छन्। उनीहरूलाई दैनिक ५ सय भत्ता दिने नियम छ। यो हिसाबले उनीहरूको भत्तामा दैनिक १ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुन्छ। ३ हजार ४ सय ३६ परीक्षा नियन्त्रक खटिएका छन्। उनीहरूलाई दैनिक ३ सय ५० भत्ता दिँदा कुल खर्च १२ लाख २ हजार ६ सय रुपैयाँ खर्च हुन्छ।

यो प्रदेशमा खटिएका ५ हजार ८६ परीक्षा सहायकलाई दैनिक ३ सय भत्ता दिँदा १५ लाख २५ हजार ८ सय रुपैयाँ लाग्छ। १ हजार २ सय ८१ कार्यालय सहायक र १ लाख ५५ हजार २ सय ६३ सुरक्षाकर्मी एसईईमा प्रदेश २ मा खटिएका थिए। यी कर्मचारीलाई दैनिक डेढ सय रुपैयाँ भत्ता दिनुपर्ने हुन्छ। यसका लागि ७ लाख ८३ हजार ९ सय रुपैयाँ दैनिक खर्च हुन्छ। यो सबै हिसाब गर्दा प्रदेश २ को एसईईमा एक दिनमा ३८ लाख ९५ हजार २ सय रुपैयाँ खर्च हुन्छ।

दुई दिनको लागि यो खर्च ७७ लाख ९० हजार ४ सय रुपैयाँ हुन्छ। दुवै दिन परीक्षा स्थगन भए पनि सबै कर्मचारी कार्य क्षेत्रमा खटिइसकेका थिए। अधिकारीका अनुसार एउटा प्रश्नपत्र छपाई गर्दा ३ रुपैयाँ ५५ पैसा पर्छ। यो प्रदेशमा रहेका ७० हजार ५ सय परीक्षार्थीको तथ्यांक जोडेर हिसाब गर्दा एक दिन परीक्षा रद्द हुँदा २ लाख ५० हजार २ सय ७५ हजार रुपैयाँ प्रश्नपत्र छपाइमा मात्र खर्च हुन्छ।

प्रदेश २ मा रद्द भएका दुईवटा र बाँकी सम्पन्न गर्नुपर्ने तीनसहित पाँचवटा दिनको प्रश्नपत्र वापत लाग्ने रकम १२ लाख ५१ हजार ३ सय ७ छ रुपैयाँ पर्न आउँछ। दैनिक भत्ता र प्रश्नपत्रका लागि मात्र दुई दिनको खर्च ८२ लाख ९० हजार नौ सय ५० रुपैयाँ हुन जान्छ। यसवाहेक परीक्षार्थीलाई वितरण गरिएको उत्तर पुस्तिकावापतको रकम, उत्तरपुस्तिका र प्रश्नपत्र ढुवानीका लागि थप रकम खर्च हुन्छ। त्यसबाहेक पाँच दिनको परीक्षा रद्द हुँदा परीक्षा हुन बाँकी रहेका विषयको परीक्षाका लागि पनि अर्को प्रश्नपत्र छापिएको थियो।

उक्त रकम निकासाका लागि शिक्षा मन्त्रालयमा पत्र पठाइएको पनि नियन्त्रक अधिकारीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.