नेपाल एकीकरणको पहिलो खुट्किलो नुवाकोटको साततले दरवार मक्किँदै
नुवाकोट : नेपाल एकीकरणको पहिलो खुड्किलो नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालयको पुनर्निर्माण एक महिनापछि सुरु गरिने भएको छ। भुकम्पले चारवर्ष अगाडि भत्किएको सो संग्रहालयको पुर्ननिर्माण चीनले गर्ने भएको छ।
पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट टाकुरेमाथि तेश्रो प्रयासमा विजय गरिसकेपछि सेनाद्वारा १८१६ सालमा साततले दरवार निर्माण गरेका थिए । गीर्वाणयुद्ध विक्रम शाहको पालामा २५ वर्षसम्म सोही दरवारबाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो।
२०७२ साल वैशाख १२ गते शनिबार बिहान ११:५६ मा गएको विनासकारी भुकम्पले ठुलो क्षति गरेको जिल्लामध्ये नुवाकोट पनि एक हो। यस जिल्लामा एकहजार एकसय १२ जनाले भुकम्पका कारण ज्यान गुमाएका थिए भने पाँच हजारजना घाइते भएका थिए।
भुकम्पले क्षति पु¥याएको राष्ट्रिय सम्पदामध्ये विदुर नगरपालिका वडा नं. २ नुवाकोटको पुरानो सदरमुकामस्थित बजारमा रहेको सदियौं पुरानो साततले दरवार पनि एक हो। यस दरवारको पुर्ननिर्माण नहुँदा खण्डहर हुँदै गइरहेको छ।
लामो समयपछि सो संग्रहालयको पुर्ननिर्माणका लागि चीनका प्राविधिसहितको सात जनाको टोली स्थलगत अनुगमनमा क्रियाशील रहेका छन्। टोलीले आफ्नै कामदार लगाएर निर्माण गर्ने जनाएको छ।
भुकम्प पुर्ननिर्माण प्राधिकरणका अधिकृत भिष्म बास्कोटालाई चीनका प्राविधिकले अबको एक महिनामा दरवारको पुर्ननिर्माण सुरु गर्ने जानकारी दिएको बास्कोटाले बताए। यससँगै नुवाकोटका सम्पदाहरु छिमेकी राष्ट्र चीनले बनाइदिने दरवार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटका प्रमुख अर्जुन फुयालले बताए ।
चीनले भुकम्पले ढलेको सो दरवारका साथै तलुजु मन्दिर, गारदघर, रंगमहल तथा लामपाटी र सेतोपाटी पनि बनाउने जिम्मा पाएको उनले बताए।
चिनीयाँ प्राविधिक टोलीले गत वर्ष नै स्थलगत रुपमा दरवार पुगेर अनुगमन तथा निरीक्षण गरेका थिए। भुकम्पको चार वर्षसम्म दरवार पुर्ननिर्माण हुन नसक्दा खण्डहर बनेको छ। २०६७ सालमा सो साततले दरवारलाई नेपाल सरकारले संग्रहालयको रुपमा घोषणा गरी त्यहाँ प्रवेश शुल्क लिने गरेको थियो।
साततले दरवार प्रवेश गरेबापत नेपालीलाई प्रतिव्यक्ति २०, विद्यार्थी १०, सार्क राष्ट्रका नागरिकसँग एकसय तथा अन्य देशका नागरिकसँग एकसय ५० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको थियो । काठमाडौँदेखि ६७ किलोमिटर दुरीमा रहेको दरवार जीर्ण हुँदा सो राजश्व ठप्प भएको छ। भूकम्पपछि कुनै आगन्तुकलाई प्रवेश गर्न नदिइएको मात्रै होइन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको कर्मचारीसमेत भित्रको अवस्था बुझ्नका लागि लामो समयदेखि भित्र पस्न सकेका छैनन्।
हाल दरवारको पश्चिमी मोहडातर्फको भाग लडिसकेको छ। नुवाकोटको ऐतिहासिक साततले दरबार पुनःनिर्माणका लागि चिनीयाँ टोली नुवाकोट आएर पुनः सर्भे गरेको छ।
भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको छ। अहिले साततले दरबार टेकोले धानेर अड्याइएको छ।
चीनले नेपाल सरकारको पुरातत्व विभागको सहमति लिएर गत २०७४ सालको भदौमा दुई सातासम्म पुर्ननिर्माणका लागि सर्भे गरेको दरवार संरक्षण तथा हेरचाह कार्यालय नुवाकोटका प्रमुख अर्जुन फुयालले जानकारी दिए ।
चिनीयाँ टोलीले पहिलो चरणमा साततले र तलेजु भवानीको मन्दिर, दोश्रो चरणमा गारदघर र रंगमहल तथा तेश्रो चरणमा लामपाटी र सेतोपाटीको पुर्ननिर्माण गर्ने तयारी गरेको छ।
गत वर्ष नौ जनाको चिनीयाँ प्राविधिक टोलीले साततले दरवारको स्थलगत रुपमा ड्रोन क्यामेरामार्फत स्थलगत निरीक्षण गरेको थियो।
सर्भे कार्यमा चीनको 'चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज'का प्राविधिकहरु सहभागी थिए। टोलीको नेतृत्व वरिष्ठ इन्जिनियर ह्वाङले गरेका थिए।
सो कम्पनीले १७ वर्ष अगाडि तिब्बतको पोताला दरवारको पुर्ननिर्माण गरेको थियो। विनासकारी भुकम्पपछि चीन सरकारले साततले दरवार मर्मतका लागि प्रतिवद्धता जनाएको थियो। पुर्ननिर्माणमा करोडौं रकम लाग्ने जनाए पनि सवै सर्भे गरिसकेपछि मात्र लागत जानकारी हुने चिनीयाँ पक्षले जनाएको छ।
आकर्षक तथा भीमकाय संरचना रहेको साततले दरवारलाई भुकम्पले क्षति पु¥याएपछि चारै तर्फबाट काठ र फलामको डण्डीले टेको लगाएर अड्याइएको छ। टेको लगाइएको ठाउँको पर्खालका इँट्टाहरु क्रमसः उप्किँदै जान थालेपछि झन अर्को जोखिम देखापरेको स्थानीयवासी राजेन्द्र डंगोलले बताए।
२०३८ सालसम्म नुवाकोटको सदरमुकाम रहेको सो साततले दरवारबाटै जिल्लास्थित मुख्य कार्यालयहरु जिल्ला प्रशासन, कारागार, अदालत, प्रहरी तथा मालपोत कार्यालय सञ्चालन भएका थिए। भुकम्पपछि दरवारको पूर्वी मोहडा रहेको दरबार अगाडि, पछाडि र उत्तरीभाग भित्ताको इँटाको गाह्रो चर्किएको छ।
संग्राहलयमा परिणत गरिएको साततले दरवारमा पुराना र ऐतिहासिक सामग्रीहरुलाई सुरक्षित साथ राखिँदै आएको छ। भुकम्पका कारण भित्र पस्नै नमिल्ने भएको संग्रहालयमा राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्रीहरु, पृथ्वीनारायण शाह र उनका रानीहरुको प्रतिमा, सुरक्षित गरिएको छ। यस अघि पनि १९९० सालको भुकम्पले उक्त दरवारमा असर परेको थियो।
त्यसबेला नौ तल्ला रहेको दरबार लडेर सात तलामा झरेको थियो। दरवार नुवाकोटको सदरमुकाम विदुरदेखि सात किलोमिटर उत्तरपुर्वमा रहेको छ।
जीर्ण र जेखिमयुक्त रहेका कारण पर्यटकहरु टाढैबाट दरवार हेरेर फर्कने गरेका छन्। २०७२ साल साउन महिनामा तत्कालीन परराष्ट्रमन्त्रि महेन्द्रबहादुर पाण्डेको कुटनीतिक पहलमा नेपालका लागि चीनीयाँ तत्कालीन राजदुतले साततले दरवारलगायत नुवाकोटका विभिन्न सम्पदाहरुको भ्रमण गरेर पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएका थिए। सोही अनुसार कार्य हुन थालेको दरवार संरक्षण तथा हेरचाह कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !