जनप्रतिनिधिले नै लगाए ताला
राजविराज : सप्तरीको सप्तकोसी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा जनप्रतिनिधिले तालाबन्दी गरेका छन्। जनताको काम रोकेको भन्दै उपप्रमुख आशा चौधरीको नेतृत्वमा पुगेका वडाध्यक्ष र सदस्यहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा ताला लगाएका हुन्। व्यक्तिगत अपेक्षा पूरा नभएपछि लामो समयदेखि कार्यालय प्रमुख चौधरीले काम रोकी नगरपालिकाको कामकाज प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिले बताए।
‘हामीले पटक–पटक आग्रह गरे पनि कार्यालय प्रमुख काम गर्न तयार हुनुभएन,’ उपप्रमुख चौधरीले भनिन्, ‘कामै नगर्ने कार्यालय प्रमुखको काम छैन भनेर तालाबन्दी गरेका हौँ।’ जनप्रतिनिधिलाई बेवास्ता गरी विकासका काम प्रभावित बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक जानकारी गराइएको उनले बताइन्।
नगरपालिकाका कार्यालय प्रमुख राजकपुर चौलागाईं पुसमा सरुवा भएपछि शिक्षा शाखाका उपसचिव रामदेव चौधरी निमित्त कार्यालय प्रमुख भएका थिए। उपप्रमुख चौधरीका अनुसार रामदेव कार्यालय प्रमुख हुँदाका अधिकांश योजना र सम्झौता अधुरा छन्। उनी कार्यालय प्रमुख भएका बेलाको ३९ वटा विकास योजनाका फाइल थन्किएको छ।
यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा चैत १८ गते कार्यालयमा हाजिर भएलगत्तै वासुदेव रेग्मी बिदामा बसेका छन्। पोखरामा तीनमहिने तालिमका लागि भन्दै बिदा बसेका रेग्मी चैत अन्तिम सातादेखि फर्किएका छैनन्।
रेग्मीले पुराना मितिका फाइल तत्कालीन निमित्त कार्यालय प्रमुखले गरेपछि मात्र आफूले नयाँ कामकाज अगाडि बढाउने भन्दै चौधरीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिई बिदामा बसेको जनप्रतिनिधिहरूको भनाइ छ। रेग्मीले आफू हाजिर भएपछिका फाइलको मात्रै जिम्मेवारी लिने र तामेलीमा रहेका फाइलको जिम्मा तत्कालीन कार्यालय प्रमुखले नै लिनुपर्ने जवाफ दिएको १ नम्बरका वडाध्यक्ष नारायण आचार्यले बताए। ‘३९ वटा फाइल त्यसै थन्किएका छन्,’ जनप्रतिनिधिको एकै स्वर छ, ‘विकास–निर्माण, सामाजिक सुरक्षालगायत काम रोकिएपछि तालाबन्दीबाहेक विकल्प रहेन।’
चौधरी पहिलो पटक निमित्त कार्यालय प्रमुख हुँदादेखिका जनताका काम नभएको र पुनः निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाए पनि आफ्नै पालाको सम्झौताका काम नगरेपछि नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको जनप्रतिनिधिको गुनासो छ। नियोजित रूपमा निमित्त कार्यालय प्रमुख चौधरीले काम नगरी कार्यालयलाई अनिर्णयको बन्दी बनाएकाले तालाबन्दी गर्नुपरेको वडा नम्बर १ का सदस्य जाहिर हुसेनले बताए।
कार्यालय प्रमुखको क्षेत्राधिकार मिचेर जनप्रतिनिधिले काम गर्न खोजेकाले समस्या आएको भन्दै निमित्त कार्यालय प्रमुख चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोबार गर्ने अख्तियारी नपाएकाले काम गर्न नसकिएको बताए।
नगरपालिकाको काममा काठमाडौंमा रहेका नगरप्रमुख उत्तम शर्माले अड्किएको विकासका काम फुकाउन पटक–पटक आग्रह गर्दा पनि निमित्त कार्यालय प्रमुखले नमानेपछि तालाबन्दीको विकल्प नभएको बताए। जनप्रतिनिधिले नै नगरपालिकामा तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस !