पूर्वकमलरी, जो गायनबाट शिखर चुम्दै छिन्

पूर्वकमलरी, जो गायनबाट शिखर चुम्दै छिन्

कैलाली लम्की फाँटाकी पूर्वकमलरी समीक्षा चौधरीको गीत नगुञ्जिएको कुनै थारू गाउँ छैन। जुन गाउँ टेक्दा पनि आफ्नो गीत गुञ्जिरहेको सुन्न पाउँदा गर्वले उनको छाती फुल्छ।


बर्दियाकी पूर्वकमलरी सुमा थारूले अमेरिका भ्रमणका क्रममा तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टन उपस्थित एक कार्यक्रममा गीत सुनाउने अवसर पाइन्। कमलरी पीडा समेटिएको, अभिभावकले किन पढाएनन् भन्ने भाव समेटिएको त्यो गीत अंग्रेजीमा भावानुवाद गरेर अथ्र्याएपछि क्लिन्टनले सुमालाई मायाले अँगालो हालिन्। गीत क्षेत्रलाई अघि बढाउन उत्प्रेरणा दिइन्। तर सुमा थारू समयको गर्तसँगै गुमनाम छिन्।

क्लिन्टनको माया पाएर सुमा थारू गुमनाम भए पनि दसौं हजार कमलरीको हूलमा एक यस्ती कमलरी छिन्, जो आफ्नो स्वरको जादु छर्दै छिन्।

कैलाली लम्की फाँटाकी पूर्वकमलरी समीक्षा चौधरी (२७)को गीत नगुञ्जिएको कुनै थारू गाउँ छैन। जुन गाउँ टेक्दा पनि आफ्नो गीत गुञ्जिरहेको सुन्न पाउँदा उनलाई गर्वको महसुस हुन्छ। २०७१ देखि गायनलाई नै व्यवसाय बनाउँदै आएकी उनका पाँच वर्षमा करिब दुई सय गीत रेकर्ड भएका छन्। उनी पश्चिमा थारू गीतमा मात्रै सीमित छैनन्। 

नेपालीदेखि पूर्वीया थारू, भोजपुरी भाषाको गीतमा पनि उनका गीत रेकर्ड भएका छन्। नयाँ वर्षसँगै आउने पूर्वीया थारूहरूको सिरुवा पर्व हालै सकिएको छ। यसमा समीक्षाकै सिरुवा बोलको गीतमा रमाएर पूर्वीया थारू युवाहरूले नाच्दै झुम्दै मनोरञ्जन लिए।

कैलालीमा गएको वर्षदेखि थारू गीतसंगीतको कुम्भ मेला ‘बिन्दास म्युजिक अवार्ड’ आयोजना हुन थालेको छ। लोकगायन विधामा समीक्षाको पोल्टामा दुवै वर्षको अवार्ड हात पर्‍यो। माघी, होली, नयाँ वर्ष, दसैंतिहार लगायतका अवसरमा गाउँघरका कति कार्यक्रममा उपस्थिति जनाउनुपर्छ, उनले अब गन्नै छाडेकी छन्। ती विशेष कार्यक्रमबाहेक पनि वर्षमा करिब तीन दर्जन कार्यक्रममा उनी छुट्दिनन्। 
पश्चिम थरुहटमा कसैले सांगीतिक कार्यक्रम गर्‍यो भने समीक्षा चौधरी नछुटाउने नाम भएको छ। भन्छिन्, ‘सांगीतिक कार्यक्रमको समय व्यवस्थापन गर्न नसक्दा भएको शिक्षकको जागिर पनि छाड्ने बाध्यता आइपर्‍यो।’

चार दाजुभाइकी एक्ली बहिनी हुन् उनी। त्यसो त समीक्षाका बाबुआमा पनि गायनमा सोखिन थिए। त्यही गुण छोराछोरीमा पनि सर्‍यो। उनका दाजुभाइ पनि गीत गाउने गर्थे। अनि समीक्षाको स्वर पनि सानैदेखि उस्तै सुरिलो। तर उनको स्वर केवल गाउँघरकै कुनाकन्दरामा प्रतिध्वनित थिए।

सफलताको सिँढी चढ्नुभन्दा अघि उनको जीवनमा दुःखका अनेक अग्ला पहाड छन्। अर्काको घरमा कमैया बसेका बाबुआमाले पढाउने अवस्था थिएन। आफू भोकै रहेर मालिकको घरबाट बाआमाले ल्याएको रोटी लुछाचुँडी गरेर खान्थे उनीहरूले। बाआमाले उनलाई आठ वर्षकै उमेरमा कमलरी लगाइदिए, नेपालगन्जको एक मालिकको घरमा। 

त्यहीँ उनका दाजु पनि काम गर्थे। तर मरीमरी काम गरेको पेटभरि खान त परै जाओस्, उल्टै मालिक मालिक्नीले दिनहुँझँै कुट्ने गर्थे। त्यसैले दाजुबहिनी सल्लाह गरी मालिकको घरबाट भागे। बसपार्कमा आएर बस चढे। भागेर हिँडेकोमा बसभाडा हुने कुरै भएन। चिसापानी पुगेपछि कन्डक्टरले बसबाट ओरालिदिएछन्। त्यहाँबाट दिनभर भोकभोकै हिँडेर घोडाघोडी बजार नजिक रहेको आफ्नो गाउँ कौहाको घरमा पुगे।

मालिकको घरबाट भागेर हिँडेका उनीहरूको पीडा बाबाले बुझिदिएनन्। आमाले पीडा बुझ्थिन् होला तर घरको तंगी हालतले उनकी आमा घर छाडेर हिँडिसकेकी थिइन्। त्यसैले बाबाले उनलाई फेरि कमलरी पठाइदिए। यसपालि उनी सिमाना कटेर भारत, तुलसीपुर बजार जाने जरुवा रोडस्थित एक घरमा बन्धक भइन्। 

उता नेपालगन्जमा सँगै बालकमैया रहेका उनका दाजु भारत, लखिमपुर गए बालकमैयाकै रूपमा। अर्का दाजु पञ्जाब कमाउन हिँडेका थिए। भारतबाट आएपछि कैलाली भजनी नजिकैको जमिनदार खेमराज मल्लको घरमा उनको कमलरी जीवन सुरु भयो। माघीमा घर आएपछि उनी मालिकको घरमा जान मानिनन्। लगातार चार वर्ष कमलरी जीवनले उनी थाकिसकेकी थिइन्। आफ्नो जिन्दगीबारे बुझ्ने भइसकेकी थिइन्।

घोडाघोडीमा संस्कृत माविले निःशुल्क पढाउँछ भन्ने सुनेपछि उनी हान्निँदै उतै लागिन्। साँझबिहान अर्काको भाँडा माझेर पढिन्। १२ वर्षको उमेरमा कक्षा १ मा भर्ना भइन्। पढाइमा अब्बल ठहरिएपछि कक्षा जम्प गर्दै गइन्। कमलरी बस्दा बाथरुम सिंगरमा सीमित उनी गीत गुनगुनाउन थालिन्। 

स्कुलको शुक्रबारे कार्यक्रममा उनको स्वरको तारिफ हुन थाल्यो। त्यहाँका प्रिन्सिपल ज्ञानचन्द्र उपाध्यायले पनि उनको गीत मन पराउँदै गाउन हौस्याइरहे। सुदूरपश्चिम तारा आइडलका टप टेनमा परेका योगेश भट्टले उनलाई ट्र्याकमा गाउन सिकाए, यसले उनको स्वरमा अझ निखार थपियो। गाउँघरका विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रममा बोलावट आउन थाल्यो।

कार्यक्रममा निम्ता गरिए पनि त्यहाँ जान बसभाडा नहुने। उनको प्रतिभा उनका छिमेकी दाजु धनबहादुर चौधरीले नियालेका थिए। उनैले बसभाडा दिएर कार्यक्रममा जान हौस्याइरहे। धनबहादुरको पसल पनि थियो। समीक्षाले कापी, कलम कहिल्यै किन्नु परेन। त्यही पसलबाट उनले निःशुल्क सहयोग पाइरहिन्। यस मानेमा अरू असहाय थारू चेलीभन्दा भाग्यमानी ठान्छिन् आफूलाई।

‘हामी तिम्रो गीत रेकर्ड गराउन सक्तैनौं। किन बित्थामा गायिका बन्ने सपना देख्छ्यौ ? ’ यस्ता वचन लाउँदै समीक्षाका परिवारका सदस्यहरूले उनको सपनामा भाँजो हालिरहे। काम गर्दै पढ्दै गुजारा गर्नुपर्ने अवस्थाले पढाइमा समय दिन नभ्याएपछि एसएलसीमा ब्याक लाग्यो।

यहीबीचमा उनको बिहे भयो। आमाबाबुले उनको गायक बन्ने सपना तुहाइसकेका थिए, सासूससुराले यो विषय बुझ्ने कुरै थिएन। त्यसमाथि तीन जना देवरदेउरानीको संयुक्त परिवार। तर बिहेपछि उनको जीवनको गोरेटो बदलियो। मन बुझ्ने श्रीमान् पाएपछि उनले पढाइलाई निरन्तरता दिइन्। २०६९ मा एसएलसी पास भएपछि सपनाझैँ पो लाग्यो। उनले नियमित आईए पनि कटाइन्। अनि, साथीहरूसँग श्रीमान्ले मिलेर खोलेको स्कुलमा शिक्षिकासमेत भइन्।

लम्की चुहा नगरपालिका–६, गुलरा, कैलालीका उनका श्रीमान् फेरु चौधरी स्थानीय चिनिएका कलाकार थिए। गायक, संगीतकारहरूसँग उनको फराकिलो चिनजान थियो। उनले गाउँघरमा हुने विभिन्न कार्यक्रममा गीत गाउने वातावरण मिलाइदिए। गीत गाएको राम्रो पारि श्रमिक ल्याएर घरपरिवारलाई दिन थालेपछि देवरदेउरानी, सासूससुराहरूको पनि कुनै गुनासो रहेन।

श्रीमान्ले नै पहिलो एल्बम ‘वैष्णवी’ (२०७१) निकाल्न सघाए। छोरीको नामबाट ‘वैष्णवी’ एल्बम निकालेपछि उनलाई एकै पटक दुई सन्तान जन्माएझैं लाग्यो। नेपाली भाषाको यो एल्बममा विकास चौधरीको संगीत छ। बजारमा पहिलो एल्बमको प्रवेशसँगै समीक्षाले थारू सिनेमा ‘भौँरा’को ‘टीकापुर बजारमे डेख्नुँ टुहिन’ बोलको गीत गाएपछि एकाएक हिट भइन्। उनलाई कार्यक्रममा बोलाउनेको ताँती लाग्न थाल्यो।

उनकी छोरी अहिले सानै छिन्। त्यसैले कार्यक्रममा जाने केही समय छोट्याएकी छन्। तर आयोजकले मान्दैनन्। बर्थ डे, पार्टी, होटलको शुभारम्भ लगायतमा उनको माग छ।
कार्यक्रममा युवा श्रोताहरूले समीक्षालाई आधुनिक गीत फर्मायस गर्छन्। तर उनले कार्यक्रममा घुमाइफिराइ लोकगीतकै ट्र्याकमा 
श्रोताहरूलाई लगिसकेकी हुन्छिन्। लोकसंगीत हाम्रो आधार हो, यसलाई बिर्सिनु हुन्न भन्ने उनलाई लाग्छ। संगीतमा अझ निखार ल्याउन उनले विगत डेढ महिनादेखि संगीत पाठशाला, कालिकास्थान, काठमाडौँमा भोकल सिकिरहेकी छन्।

त्यसो त कमलरीको पीडा बोकेको आफ्नै कहानीको गीत अझै पनि गाउन पाएकी छैनन् उनले। अब बितेका दिन सम्झिन मन पनि छैन उनलाई। अर्काको घरमा भाँडा माझ्ने, पोछा लगाउनेदेखि घरको सबै काममा खट्नुपथ्र्यो उनीजस्ता कमलरीले। समीक्षा अहिले आफ्नै जिन्दगीको समीक्षा गर्दै छिन्। गायनमै करिअर बनाउन तनमन लगाएकी उनी यसैबाट समृद्धिको पाइला पनि चाल्दै छिन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.