जनप्रतिनिधिको खेतिपाती

जनप्रतिनिधिको खेतिपाती

उनीसँग जागिर लगाइदेऊ भन्दै आउनेको ताँती हुने नै भयो। तर उनले सधैं खेतीपाती र पशुपालन गर्न हौस्याए। आफैंले २०६८ सालदेखि तरकारी खेती र कुखुरापालन गरेको उदाहरण दिए।


भिरालो पाखो। त्यही पाखोमा छन्, टनेल। टनेलभित्र लटरम्म फलेका छन् गोलभेडा। बारीमा काँक्राको झ्याल छ। धानिनसक्नु फलेको छ काँक्रो। घिरौंला र लौका उस्तै लटरम्म। मुला, साग, बन्दा आदि इत्यादि।

त्यो भिरालो पाखोमा खेती गर्न खनिखोस्री गर्दा मान्छेहरू भन्थे, ‘यस्तोमा पनि कहीँ खेती हुन्छ ? ’ उनले गाउँलेका कुरा सुनेनन्। तरकारी फल्न थालेपछि फेरि अर्का थरी आएर सोध्थे, ‘सदरमुकाम टाढा छ, तरकारी बेच्ने कहाँ हो ? ’ फेरि पनि उनको कानमा बतास लागेन। आफ्नै सुरमा काम गरिरहे। जति तरकारी फल्यो, सीधै बुटवल पु¥याए। अनि त अघिअघि सोध्नेहरूको मुखमा बुझो लाग्यो। उनीहरू नै भन्न थाले, ‘अच्युतलाई त फलिफापै छ नि; टमाटर बेच्यो पैसो, खुर्सानी बेच्यो पैसो, बन्दा बेच्यो पैसो, साग बेच्यो पैसो।’ हुन पनि तरकारी खेतीको आम्दानी महिनाकै झन्डै लाखको हाराहारीमा छ।

आम्दानीको स्रोत अर्काे पनि छ— कुखरा। उनी त तरकारी बेचेरमात्रै कहाँ हो र ! अन्डा बेचेर पनि पैसै कमाउँछन्। अच्युतले लेयर्स जातका कुखुरा पनि पालेका छन्। कुखुरा र तरकारीको आम्दानी हिसाब गर्दा महिनामा औसत पौने दुई लाख जतिको कमाइ छ उनको। बिहान र बेलुकाको अधिकांश समय अच्युत तरकारी बारी र कुखुराका खोरतिर भेटिन्छन्। दिनभरचाहिँ गाउँतिर। गाउँतिर किनभने उनको जिम्मेवारी नै त्यस्तै छ। अच्युत गाउँपालिकाका अध्यक्ष जो हुन्।

अर्घाखाँचीको पाणिनि गाउँपालिकाका अच्युत गौतम राजनीतिसँगसँगै कृषिमा भिजेका छन्। भाषण कम परि श्रम ज्यादा गर्छन्। त्यही भएरै गाउँलेले पत्याए। अध्यक्ष भए। गाउँपालिकाका तर्फबाट गर्ने काम छँदै छन्। व्यक्तिगत रूपमै पनि युवालाई प्रेरणा दिएका छन्।

उनकै गाउँ पोखराथोकमा मात्रै होइन, पाणिनिका थुप्रै गाउँमा अचेल तरकारी खेती फस्टाएको छ। नेता न परे। उनीसँग जागिर लगाइदेऊ भन्दै आउनेको ताँती हुने नै भयो। तर उनले सधैं खेतीपाती र पशुपालन गर्न हौस्याए। आफैंले २०६८ सालदेखि तरकारी खेती र कुखुरापालनको उदाहरण दिइरहेका थिए।

अरूलाई भन्न पनि सजिलो थियो। मान्नेहरूले सिको गरेका छन्। उनकै जस्तो कमाइ भएको छ। गौतम भन्छन्, ‘म ५÷१० हजारको जागिरभन्दा आफ्नै व्यवसाय गर भन्छु, मान्नेहरूले राम्रै गरेका छन्।’ उनी आफैंले चाहिँ पाँच जनालाई रोजगारी दिएका छन्। गाउँमै बसेर उनीहरू गौतमकहाँ महिनाको १० हजार रुपैयाँका दरले तलब बुझ्छन्। कम्तीमा विदेश गएर उनीहरूले रोजगारी खोज्न परेर गाउँमै आफैंले रोजगारी दिन सकेँ भन्ने गौतमलाई लाग्छ। पाँच जना पूरै समय काम गर्नेबाहेक गौतमकहाँ ज्यालादारीमा अरू १० जनाले काम पाएका छन्।

भाषण गर्दा पनि एक किसिमको सन्तुष्टि हुन्छ भन्छन् गौतम। अरूले भाषणमात्रै र आफूले काम पनि गरेकोमा गर्व छ उनलाई। पाणिनिका सबैजसो वडा अर्थात् पोखराथोक, पणेना, मैदान पाटौटी, खिदिम, अडगुरी, धातीबांग, पालीजस्ता गाउँतिर अचेल तरकारी खेती फस्टाएको छ।

क्याम्पस पढ्दा राजनीतिमा सक्रिय गौतम गाउँ फर्किएर कांग्रेस गाउँ समितिको सभापति भएका थिए। पोखराथोकको हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयको अध्यक्ष पनि सम्हाल्न भ्याए। सामाजिक कामसँगै व्यवसाय पनि गर्ने सोच पलाउँदा उनले तरकारी खेती र कुखुरापालन रोजेका थिए।

४५ वर्षे अच्युतले जसै गाउँपालिका अध्यक्ष जिते, तब उनको फोकस पनि कृषिमै भयो। कृषिमा पाणिनि गाउँपालिकाको बजेट दुई करोड रुपैयाँ छ। त्यसबाट उनले गोलभेडा खेती गर्न दुई सय प्लास्टिक टनेल बाँडे। आधा पैसा अनुदानमा ४३ वटा हाते ट्र्याक्टर वितरण गरे। गाई पाल्न ३५ जना किसानलाई २० हजार रुपैयाँका दरले अनुदान दिए।

भकारो सुधार कार्यक्रम ल्याएका छन्। बाख्रापालनमा अनुदान छ। अध्यक्ष गौतम भन्छन्, ‘राजनीति गर्ने भन्दै भाषणमात्रै गरेर हुन्न। आफूले पनि काम गर्ने अरूलाई पनि गर्न प्रेरित गर्ने हो।’ पाणिनिलाई कृषिको नमुना गाउँपालिका बनाउने योजना छ उनको।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.