एक हातले ताली
![एक हातले ताली](https://annapurnapost.prixacdn.net/media/albums/60-Bharat-Khadka_20190503085242_4gq8j6qT5R.jpg)
भरतको हातको बनोट अरूको जस्तै छ। तर उनले एउटै हातले ताली बजाएको सुन्दा सबै आश्चर्यमा पर्छन्।
उदयपुरको बेलका नगरपालिका–९ का २७ वर्षीय युवा भरत घिमिरेलाई केही न केही नयाँ गर्न मन लाग्छ। दुई हातले ताली बजाउनेहरूको जमातमा उनी एक्ला एक हातले ताली बजाउने पात्रका रूपमा चिनिन्छन्।
उनको कला पृथक् मात्रै छैन, रमाइलो पनि छ। साहित्यका पारखी उनी मञ्चमा उक्लेपछि सिर्जना मात्र सुनाउँदैनन्, एक हातले ताली बजाएर दुनियाँलाई चकित बनाइदिन्छन्। भन्छन्, ‘एकहाते तालीमा भविष्य खोज्दै छु।’
दुई हातले जसरी नै एक हातले ताली बजाउन सिपालु उनी भन्छन्, ‘प्रयास गर्दा सबै कुरा सहज रहेछ।’ एक हातले ताली बजाएर उनी विभिन्न कार्यक्रममा दर्शकलाई अचम्भित तुल्याउँछन्।
उनको हातको बनोट अरूको जस्तै छ। तर उनले एउटै हातले ताली बजाएको सुन्दा सबै आश्चर्यमा पर्ने गरेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा बताउँछन्। भरतले आफ्नो नौलो प्रतिभा धेरै स्टेज कार्यक्रममार्फत देखाइसकेका छन्। उदयपुरको मैनामैनी महोत्सव, सर्लाहीको हरिवन महोत्सव, प्रदेश नं. १ ले आयोजना गरेको स्काउट तालिम, त्रियुगा महोत्सव, मोरङ महोत्सवलगायत कार्यक्रममा उनले आफ्नो प्रतिभा प्रस्तुत गरिसके। स्काउटमा देखाएको प्रतिभाप्रति प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले समेत स्यावासी दिएको तालिमका सहकर्मी मीरा विष्टले बताइन्।
उनको यो प्रतिभा उदयपुर जिल्लामा मात्र होइन, देशमै नयाँ भएको चित्रकुमार कार्की बताउँछन्। भरतको प्रतिभाको प्रशंसा गर्दै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने उनी अध्ययनरत त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख रमेश रोकाले बताए। भन्छन्, ‘बिल्कुलै नयाँ प्रतिभा छ, ठाउँ र अवसर पाए केही गर्न सक्ने क्षमता उसमा छ।’
घिमिरेले सामान्य जमघटदेखि ठूला उत्सव, महोत्सव र विशेष कार्यक्रममा आफ्नो एक हातले ताली बजाउने प्रतिभा देखाइसकेका छन्। उनी दायाँ वा बायाँमध्ये जुनसुकै हातले ताली बजाउन सक्छन्।
उनले एकसाथ दुवै हातले ताली बजाउँदा सामूहिक तालीको आवाज आउँछ। ‘सानै उमेरदेखि केही नयाँ प्रतिभा देखाउनुपर्छ भन्ने मनमा थियो, त्यसैले अरूभन्दा फरक प्रकृतिको प्रतिभालाई अभ्यास गरेँ, जुन आज साकार भएको छ’, उनले भने, ‘अन्य साथीले नौलो प्रतिभा देखाएर नाम गिनिज बुकमा नाम लेखाएका छन्। मेरो पनि चाहना गिनिजबुकमा लेखाउने नै हो, अहिले त्यही तयारी गरिरहेको छु।’
सम्भावनाहरूको खोजीमा भौंतारिने क्रममा पुरानो उखान ‘एक हातले ताली बज्दैन’ भन्ने कुरा मनमा बिझेको उनले बताए। निकै गहिरोसँग बिझेको यो कुराले उनलाई बारम्बार पिरोलिरह्यो। कसैले गर्न नसकेको यो काम आफूले गर्न पाए हुन्थ्यो भन्ने लोभ पनि लाग्यो। असम्भव देखेका कुराहरूमा पनि सम्भावना हुन सक्छ भन्ने बुझेर बारम्बार प्रयास गरेको उनी बताउँछन्।
‘क्याम्पसमा सरले पढाउने क्रममा एक हातले ताली बज्दैन भन्ने उखान सुनाउनुभयो। मैले जुरुक्क उठेर एक हातले ताली बज्न सक्छ भन्ने जवाफ दिएँ र बजाएर पनि देखाएँ’, उनले भने, ‘त्यो देखेर कक्षा कोठामा ठूलै हाँसो फैलियो। कक्षा सकिएपछि कक्षाका साथी र अन्य कक्षाका थुप्रै साथीले एक हातले ताली बजाउन आग्रह गरे, मैलै नै त्यस्तै खोजेको थिएँ। म झन् उत्साहित भएँ र अहिले आएर सफलता मिल्यो।’
गाउँले जीवन बिताइरहेका भरत प्रतिभा भएर पनि त्यसलाई प्रचारप्रसार गर्न सकिरहेका छैनन्। कमजोर आर्थिक अवस्थाका कारण पनि सोचेजस्तो प्रगति गर्न नसकेको उनी बताउँछन्। भन्छन्, ‘धेरै ठाउँमा साथीहरूले बोलाउँछन्, कसैले केही पैसा दिन्छन्, कसैले दिँदैनन्, नैतिकताले माग्न पनि गाह्रो, तर पनि आफ्नो गोजी रित्तो। जता धाउनुपरे पनि पैसा नै चाहिने रहेछ।’
अभ्यासका क्रममा २०७० सालदेखि आफ्नो प्रतिभालाई सुरुआत गरेको उनी बताउँछन्। यति बेला उनको एउटै धोको छ, गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउने। र विश्वशान्तिका लागि एक हातले ताली बजाउँदै विश्व भ्रमणमा निस्किने।
नाम लेखाउन धेरै प्रचारप्रसार गरी विशेष ठाउँहरूमा प्रर्दशन नै गर्ने तयारी रहेको उनी बताउँछन्। अहिलेसम्म संसारभरमै एक हातले ताली बजाएको कुरा नसुनिएकाले आफ्नो प्रतिभाले गिनिज बुकमा रेकर्डको स्थान पाउने उनको आशा छ। र विश्वास पनि। त्यसका लागि सम्बन्धित निकायसँग कुरा भइरहेको भरतको भनाइ छ।
सामान्य परिवारमा जन्मिएका उनी घरका कान्छो छोरा हुन्। उनको यो नयाँ प्रतिभाले बुवाआमा, साथीभाइलगायत सबै खुसी छन्। एक हातले ताली बज्छ भन्ने कुरामा विश्वास नगर्ने उनका बुवाआमाले आफ्नै छोराले बजाएको देख्न पाए पनि उनको यो कलालाई सम्मान गरिदिने निकायको भने कमी छ।
उनले स्थानीय वरपीपल आधारभूत विद्यालय बेलका नगरपालिका–९ बाट अध्ययन थालेका हुन्। त्यसपछि वडा नम्बर ३ को कोसी जनता उच्च माध्यमिक विद्यालयबाट माध्यमिक र उच्च माध्यमिक तहसम्मको अध्ययन पूरा गरेका छन्। क्याम्पस पढ्न सदरमुकाम गाईघाट बसिरहेका उनी त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा स्नातकोत्तर तह अध्ययनरत छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)