निकुन्ज क्षेत्रका स्थानीय भन्छन्- 'ज्यान जोगाउनै मुस्किल'
त्रिशूली (नुवाकोट) : पर्यटकीय गन्तव्य लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्र र आसपासका स्थानमा वन्यजन्तु नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन्।
नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तीन जिल्ला समेटिएको निकुन्ज क्षेत्रबाट गाउँमा छिरेका वन्यजन्तुले अन्नवाली खाने र मान्छेहरूलाई समेत आक्रमण गर्ने गरेकाले नियन्त्रण तथा रोकथामको पहल गर्न निकुञ्जसँग आग्रह गरेका हुन्।
स्थानीय र जनप्रतिनिधिसहितले वन्यजन्तुबाट प्रभावित स्थानीयले निकुञ्जबाट गाउँ छिरेका दुम्सी, बादँर, घोरल मृग, बदेल लगायतका वन्यजन्तुले किसानले आफ्ना जग्गामा लगाएको बाली धान, मकै, गहुँ, आलुमा क्षति गर्ने गरेकोले नियन्त्रण गर्ने दायित्व पनि निकुन्जकै भएको बताएका छन्।
किसान राधिका पौडेलका अनुसार घरको एक जनाको त कामै कुरुवा बस्ने बादँर धपाउने मा खटाउनुपर्ने बाध्यता भएको छ। रसुवाका विभिन्न बस्तीहरूमा वन्यजन्तुले आक्रमण गर्न थालेपछि स्थानीयहरू समस्यामा परेका छन्।
समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले मागसमेत गरेका छन्। पहिले उत्पादित अन्न तथा तरकारी वेचविखन गरेर वालवच्चाको पठनपाठन तथा घरखर्च चलाउन पुग्नेमा अहिले जंगली जनावरले सो सवै निमिट्यान्न मात्र पारेन, ज्यानै जोगाउन मुस्किल परिरहेको किसानहरूले गुनासो गरेका छन्।
दक्षिणी भेगमा रहेको उत्तरगया गाउँपालिकाको दुईसय रोपनी खेतीयोग्य जमीन वन्यजन्तुको आतंकका कारण बाँझो राख्नु परेको अर्का स्थानीय स्थानीय किसानले बताए। बाँदरले केही नराख्ने, मकै अघि अघि छर्दै गयो पछि पछि बादँरले टिप्दै जाने जस्ता समस्याका कारण गाउँलेहरूले हैरानी व्यहोर्नुपरेको किसानको गुनासो छ।
बाँदर धपाउन जाने महिला तथा बालबालिकालाई समेत बाँदरले अत्याउने गरेको किसानहरू बताउँछन्। निकुञ्ज नजिक रहेका गाउँमा निकुञ्जबाट गाउँ छिरेका वन्यजन्तुले दुःख दिएपनि निकुञ्जको कडा कानुनका कारण स्थानीयहरू वन्यजन्तु धपाउनसमेत डराउनुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ।
स्थानीय अगुवा कृषक अर्जुन अधिकारीले निकुन्जको मध्यवर्ति क्षेत्रभित्र बन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपनि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको बताए। बाँदर, बँदेल तथा मृगका कारण मानव भने भोकभोकै वस्तुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
किसानहरूले वन्यजन्तुको कारण स्थानीयको जीविकोपार्जनमा समेत असहजता उत्पन्न भएको, सम्बन्धित पक्षले चासो नदेखाएको दुखेसो गरे। निकुञ्जका प्रतिनिधिहरूसँग धेरै पटक पीडितहरूले आफ्ना माग राखेपनि उचित रुपमा संवोधन नहुने गरेको उनीहरूको धारणा छ।
वन्यजन्तुबाट हैरानी व्यहोरेपछि स्थानीयले बैकल्पिक खेतीको रुपमा भुइँकटर, अदुवा, बेसार, तोरी समेत लगाइसकेको र सो फल समेत भित्राउन नपाएको दुःखेसो राखेका छन्। पैरेवेशी र सिम्ले फाँटमा एकहजार वटाको हाराहारीमा रहेका बांदरहरूले आफनो आहाराका लागिगाउँमा प्रवेश गाउँमा वितण्डा मच्चाउने गरेको किसानहरू बताउँछन्।
वफरजोन क्षेत्रमा प्लाष्टिक टनेल, बायोग्यास, गोठ सुधारमा निकुञ्जले सहयोग गर्दै आएपनि स्थानीयको तत्कालीन समस्यालाई संवोधन हुन नसकेको स्थानीयहरू बताउँछन्। बाँदर बाहेकको वन्यजन्तुले क्षति पु¥याएमा क्षतिपूर्ती दाबी गर्न पाइने भएपनि त्यसको प्रकृया झंझटिलो र लामो भएकोले स्थानीय बताउँछ्न्।
उत्तरगया गापाको वडा नं. ५ का वडा अध्यक्ष ईश्वर थापाका अनुसार वन्यजन्तुको संरक्षणमा सबै जुट्दै स्थानीयको पिर मर्कालाई समाधानको लागि निकुञ्जले वन्यजन्तु धपाउने शिर्षकमा समेत बजेट खर्च गर्नुपर्ने बताउँछन्। यसका लागि आवश्यक नीति तथा योजना बनाउनुपर्ने, क्षतिपूर्ति कोष बनाउने, बाँदरबाट क्षति पुगेको बालीको पति उचित मूल्यांकन हुनुपर्ने तथा स्थानीय निकायसँगको समन्वय गर्नुपर्ने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !