शान्ति सुरक्षाको मामलामा ओली सरकार पूर्णरुपमा असफल : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति सुरक्षाको मामलामा ओली सरकार पूर्णरुपमा असफल भएको बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।
उनले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्नलाई अहिलेसम्म पत्ता नलाग्नुमा सरकार नै दोषी भएको आरोप लगाएका छन्। 'निर्मला पन्त हत्या र बलात्कारको प्रमाण नष्ट गर्ने काम स्वयं सरकारले गरेको छ,'उनले भने,' यो लज्जास्पद कुरा हो।'
उनले देशका विभिन्न भागमा विशेषगरी महिलाविरुद्ध भैरहेका हिंसा अन्त्य गर्ने ठोस योजना र अभियान यो सरकारसँग नभएको दावी गरेका छन्। उनले भने,' मुलुकका धेरै भागमा हिंसात्मक द्वन्दका घटनाहरु भइरहँदा पनि कुन आधारमा सरकारले त्यसको समाधान भइसकेको दावी गरेको हो स्पष्ट छैन।'
सभापति देउवाले आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुकै प्रतिभालाई प्रोत्साहनस्वरुप ल्याएको नानो स्याटलाइट परियोजनालाई देखाएर यो सरकारले आफैले नेपाललाई अन्तरिक्षा युगमा पुर्याएको बकम्फुसे दावी गरेको बताए।