बलात्कारीलाई संरक्षण गरेको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढा
(महेन्द्रनगर) धनुषा : बलात्कारीलाई संरक्षण गर्दै पीडित बालिकाको उपचारमा लापरबाही भएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय सखुवामा तोडफोड गरेका छन्। स्थानीयको विरोधले आइबार दिउँसो जनकपुर–ढल्केरब सडकखण्डसमेत अवरुद्ध भएको थियो।
गत वैशाख १५ गते क्षिरेश्वरनाथ नगरपालिकाकी एक १४ वर्षकी बालिकालाई आफ्नै घरमा पढिरहेको बेला छिमेकी काका पर्ने ३३ वर्षका राजकुमार साहले बलात्कार गरेको आरोप छ।
बलात्कारपछि घाइते भएकी बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार गरिएको थियो। गत शुक्रबार बालिकाको मानसिक सन्तुलनसमेत बिग्रेपछि उनलाई उपचारको लागि काठमाडौं लगिएको थियो।
ढुंगामुढाको क्रममा एकजना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमिर दाहालले जानकारी दिए। ‘मेसको चारवटा झ्यालको सिसा पुटेको छ,’ उनले भने।
चक्काजामको कारण जनकपुर–ढल्केबर सडकखण्डमा यातायात बन्द भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर कोइरालाले पीडित बालिकाको राजधानीस्थित पाटन अस्पतालमा उपचार भइरहेको बताए।
कक्षा ८ मा पढ्दै ती बालिकाको बलात्कृत भएको खवर एकदिनपछि प्रहरीमा पुगेको थियो। प्रहरीले तुरुन्त आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। बालिकाका परिवारको उजुरीको आधारमा प्रहरीले मेडिकल चेकजाँचपछि अनुसन्धान अगाडि बढाएको हो।
यस अघि फागुन १ गते राति क्षिरेश्वरनाथ नगरपालिकाको छिमेकी मिथिला नगरपालिका-३ हरीहरपुर मगर टोलकी बालिका रेश्मा रसाइलीको बलात्कारपछि हत्या गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !