व्यवसायसँगै सम्पदा संरक्षण

व्यवसायसँगै सम्पदा संरक्षण

अहिले द्वारिकाज् भएको ठाउँमा काष्ठकलाको वर्कसप, गाई गोठ र ग्यारेज थियो। काठ थुपारेर थुप्रो लगाएकाले छिमेकीले त्यो ठाउँलाई ‘डम्प यार्ड’ भन्थे।


 बत्तीसपुतलीस्थित द्वारिकाज् हेरिटेज होटलमा प्रवेश गर्दा जो कोहीलाई कुनै ऐतिहासिक सम्पदामा विचरण गर्दै गरेको अनुभूति हुन्छ।

कलात्मक काठका झ्यालढोका, ढुंगा छापेको आँगन, ऐतिहासिकता झल्कने इँटाबाट निर्मित भवनहरू, वागबगैंचाको त्यो भव्यता। यो होटलका योजनाकार द्वारिकादास श्रेष्ठले आफ्नो जीवनको लामो कालखण्डमा यो होटल निर्माण गरेका हुन्। वास्तवमा, यो सम्पदा होटलको आफ्नै इतिहास छ।

अम्बिका श्रेष्ठ, उमेरले ८७ वर्ष। तर, उही जोश, जाँगर, स्फूर्ति कायमै देख्न सकिन्छ। नेपालमा पर्यटन व्यवसाय जन्मिएर, बामे सर्दै हुर्किंदै गर्दादेखिको साक्षी हुन्— अम्बिका श्रेष्ठ।

पर्यटन क्षेत्रमा एक तहको विकास भयो। अथाह सम्भावना भएर पनि पूर्वाधारको अभावमा नेपालको पोल्टामा यसको धेरै लाभ परेकै छैन।

‘एउटा ठूलै पहल चाहिएको छ अब’, उनले भनिन्, ‘पूर्वाधारमा। हामीलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल नभई भएन। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) त हामीले ढिला नगरी बनाउनुपर्छ।’

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको पर्यटनलाई ठूलो माइलेज दिने छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–तराई द्रुतमार्ग— यी दुई परियोजनाले पर्यटन क्षेत्रमात्र होइन, समग्र नेपालको विकासमा कायापलट ल्याउने उनको बुझाइ छ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुँदै छ। तर लुम्बिनीमा शान्ति र ध्यानका लागि आउने पर्यटकलाई समेत ख्याल गर्दै त्यो विमानस्थल अधिक क्षमतामा सञ्चालन गर्ने भन्ने हुँदैन’, उनले भनिन्, ‘त्यसैले निजगढ विमानस्थल अत्यावश्यक छ।’

‘पर्यटन क्षेत्र पूर्ण रूपमा मूल्य शृंखलामा आबद्ध व्यवसाय हो, यसको लाभ तल्लो तहसम्म समावेशी हिसाबले हस्तान्तरण हुन्छ। लाभग्राहीको दायरा साँच्चिकै ठूलो छ’, उनले भनिन्, ‘द्वारिकाज्ले सम्भव भएसम्म सबै नेपाली वस्तुमात्र प्रयोग गर्छ। होटलभित्रको एउटा जापानी रेस्टुराँका सेफबाहेक सबै कर्मचारी पनि नेपाली नै छन्।’

श्रेष्ठले होटल स्थापनाको कथा सुरु गरिन्। उनका श्रीमान् द्वारिकादास श्रेष्ठ सन् १९५० ताका भारतमा कानुन तथा वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केका थिए। नेपाल प्रजातन्त्र उदयसँगै खुला समाजतर्फ अघि बढ्दै थियो। उनी उदार र प्रजातान्त्रिक सोच राख्ने व्यक्ति थिए। केही व्यवसाय सुरु गरौं भनेर उनले न्युरोडमा अहिले नेपाल बैंकभन्दा अगाडि पारस होटल खोले। ‘होटल खोल्ने बेलामा उहाँलाई परिवारले भने समर्थन गरेन।

उहाँका हजुरबुवाले यस्तो व्यवसाय हाम्रो परिवारमा आजसम्म कसैले गरेको छैन। समाजमा राम्रो सन्देश जाँदैन। तिमीलाई अछूत नै बनाउँछु भनेर निरुत्साहित गर्न खोज्नुभएको थियो रे’, श्रीमान्ले व्यवसायका लागि संघर्ष गरेका सुरुआती दिन सम्झँदै उनले भनिन्, ‘उहाँले बाह्य देशहरूमा होटल सम्मानित पेसा रहेको उदाहरण दिँदै यहाँ पशुपति भ्रमण गर्न आउने भक्तजनलाई राम्रो बसोबास गर्ने ठाउँ हुन्छ भनेर परिवारलाई सम्झाउनुभएछ।’

सन् १९५५ मा अम्बिका श्रेष्ठ र द्वारिकादास श्रेष्ठको विवाह हुँदा पारस होटल खुलिसकेको थियो। द्वारिकाज् होटलको स्थापनामा भने अम्बिका श्रेष्ठले उत्तिकै भूमिका खेलेकी छन्। ‘द्वारिकाज्को सोच उहाँको हो’, उनले भनिन्।

जाडो महिना। एक बिहान द्वारिकादास श्रेष्ठ मर्निङ वाकबाट फर्कंदै गर्दा वसन्तपुरमा डकर्मीहरूले कलात्मक काठहरू चिरेर फलेकहरू निकाल्दै गरेको देखे। झ्याल, ढोका बनाउन चौडा काठ निकाल्दा बुट्टा निकालेर आगो ताप्न प्रयोग गरिरहेका थिए। द्वारिकादासले डकर्मीहरूलाई त्यो कलात्मक काठ आफूलाई दिए, त्यो बराबरको साधरण काठ आफूले दिने प्रस्ताव गरे। यसरी संकलन गरेर ल्याएको काठ उनले अहिले होटल भएको ठाउँमा थुपार्न थाले।

काठमाडौं, भक्तपुर, पाटनका अन्य भागमा पनि यसरी नाश भइरहेका कलात्मक काठहरू जम्मा गरे। थुपार्दा÷थुपार्दै सन् १९९५ ताकादेखि धेरै मेहनत गरेर बुट्टाकर्मी (काठका कालीगढ) खोजेर बिग्रेका बुट्टाहरू बनाउने गरी वर्कसप खुल्यो। ‘कलात्मक काठहरू संरक्षण गरेर राख्ने भनेर उहाँले संकलन सुरु गर्नुभएको थियो। त्यति बेलासम्म यस्तो होटल खोल्ने भन्ने सोच थिएन’, उनले भनिन्, ‘उहाँ सरकारी सेवामा काम गर्नुहुन्थ्यो। हामीसँग होटल खोल्न यथेष्ट पैसा पनि थिएन।’

अहिले द्वारिकाज् भएको ठाउँमा काष्ठकलाको वर्कसप, गाई गोठ र ग्यारेज थियो। काठ थुपारेर थुप्रो लगाएकाले छिमेकीले त्यो ठाउँलाई ‘डम्प यार्ड’ भन्थे। काठमाडौंमा बस्दै आएकी अम्बिका श्रेष्ठको एक अमेरिकी साथी स्नातकोत्तरको थेसिस लेख्दै थिइन्। उनी थेसिस लेख्न शान्त ठाउँको खोजीमा थिइन्। उनले गाई गोठ रहेको माथि दुईवटा कोठा निर्माण गरिदिन आग्रह गरिन्। कलात्मक झ्याल राखेर गाईको गोठमाथि दुई कोठा थपियो।

उनले त्यहीँ बसेर थेसिस सकिन्। उनले कलात्मक काठको झ्याल राखेर निर्माण गरिएको यो कोठा असाध्यै मन पराइन्। उनी नै द्वारिकाज् होटलको पहिलो अतिथि थिइन्। उनले त्यो ठाउँमा स–साना स्केलमा भवनहरू बनाएर भाडामा दिन सुझाएको अम्बिका सम्झन्छिन्।

‘तिनताकाबाट हामीले गेस्ट हाउसको अवधारणामा काम सुरु गरेका थियौं। सानो–सानो स्केलमा थोरै–थोरै काम गर्दै जाँदा हामीले यसलाई सम्पदा होटलको रूपमा विकास गर्ने सोच बनायौं। सन् १९७७ मा मात्र द्वारिकाज् होटल भनेर दर्ता भएको हो’, अम्बिका श्रेष्ठले आफ्ना स्मृतिका पानाहरूबाट सुनाइन्, ‘त्यसअघिसम्म त हामी ट्राभल कम्पनी चलाउँथ्यौं। १९६५ मा हामीले ट्राभल कम्पनी खोलेका थियौं।’

यसैबीच १९७५ फ्रेबुअरीमा तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा हाइप्रोफाइल अतिथिहरू नेपाल आए। तिनीहरूमध्ये फिलिपिनी प्रथम महिला मार्कोसका लागि सरकारले पारस होटल माग्यो। त्यसपछि पारस होटलका पर्यटकलाई अहिले द्वारिकाज होटल भएको ठाउँमा लगेर राखियो।

संस्कृति र कलाको जगेर्ना गरे मात्र भावी पुस्तालाई हस्तान्तरण गर्ने केही बाँकी रहन्छ भन्ने द्वारिकादासको सोचले सन् १९७७ सम्म होटलको रूप ग्रहण गरिसकेको थियो। होटल त बन्यो। अब व्यवसाय चाहियो। त्यसका लागि पर्यटक चाहियो।

१९७० को दशक र ८० को सुरुआतसम्म विदेशीहरू भारतीय ट्राभल एजेन्टमार्फत नेपाल आउँथे। भारतका ट्राभल एजेन्टले नेपालमा भारतीय लगानीका र उनीहरूसँग राम्रो सम्पर्क÷सम्बन्ध भएका होटल बुक गरिदिन्थे। अहिलेजस्तो सञ्चार प्रविधिको विकास भइसकेको थिएन, यसले गर्दा पनि प्रत्यक्ष रूपमा विदेशी पर्यटक भित्र्याउन अप्ठेरो थियो। तिनताका द्वारिकादास श्रेष्ठले जापान भ्रमण गरेर प्रत्यक्ष रूपमा नै पर्यटकहरू नेपाल आउने चलन सुरु गराएका थिए।

सन् १९९२ मा द्वारिकादासको निधनपछि अम्बिका श्रेष्ठ र छोरी संगीता श्रेष्ठले व्यवसाय अघि बढाउँदै लगे। होटललाई भव्य र आलिसान बनाउने क्रममा छोरी संगीताको भूमिका पनि कम छैन। यसैबीचमा एक दशकअघि द्वारिकाज्ले धुलिखेलमा रिसोर्ट पनि लिएर सञ्चालन गरिरहेको छ। अघिल्लो सार्क शिखर सम्मेलनका बेला सार्क राष्ट्रका सरकारप्रमुखहरू वि श्राम तथा मनविनोदका लागि धुलिखेलस्थित द्वारिकाज रिसोर्ट पुगेका थिए।

‘रिसोर्टका सञ्चालकहरूले ऋण भुक्तानी गर्न नसकेपछि बैंकले लिलामको तयारी गरेको थियो। यसै क्रममा हामीले ऋण सकारेर रिसोर्ट लिएका हौं’, अम्बिकाले सुनाइन्।

यसबाहेक अरू विस्तारको तयारी छ कि भन्ने प्रश्नमा उनले तत्काल त्यसबारे कुनै सोच नरहेको बताइन्।

द्वारिकाज्को व्यवसाय भने अब तेस्रो पुस्तामा आइपुगेको छ। अम्बिका श्रेष्ठ भने सम्पदा संरक्षणमा आफूलाई क्रियाशील राख्ने बताउँछिन्। हेरिटेज सोसाइटीमार्फत उनले यसका लागि वकालत गरिरहेका छन्। ‘सिंहदरबारको अगाडिको मोहडा भत्काउने निर्णयको हामीले विरोध गर्‍यौं। अहिले रेट्रोफिटिङ भइरहेको छ। फेरि बागदरबार (सुन्धारा)मा त्यही कुरा आएको छ। अब ती पुराना सम्पदा भत्काएर कहाँ बनाउन सकिन्छ र ? ’, उनले भनिन्, ‘मेरो सोच हामीले अझै पर्यटनको लाभ कसरी तृणमूलमा विस्तार गर्ने, हाम्रा सम्पदाको कसरी संरक्षण गर्ने भन्नेमा छ।’

नेपालका हरेक क्षेत्रको मौलिक खानेकुरा द्वारिकाजमा पाइन्छ। ‘पर्यटकलाई मौलिक खाना खुवाउनुपर्छ। म त सम्भव भएसम्म जुम्लाको चामल र सिमीको ठूलो सम्भावना देख्छु’, उनले भनिन्।

‘मौलिक खानेकुरालाई अन्तर्राष्ट्रियकरण गर्ने काम पनि द्वारिकाज्बाटै सुरु भएको हो। मौलिक नेपाली खाना खुवाउन हामीले सुरु गरेका हौं’, उनले भनिन्।

त्यतिमात्र होइन, सम्पदा क्षेत्र वरपर होमस्टे सुरु गर्ने श्रेय पनि उनलाई जान्छ। पाटनको ‘नेवाः छेँ’ पहिलो होमस्टे हो। ‘बगलामुखी नजिकको पुरानो कलात्मक भवन भत्काएर भाडाका लागि नयाँ भवन बनाउन लागिएको थियोे। हामीले उनीहरूलाई सम्झायौं, होमस्टेमार्फत यसरी आर्जन गर्न सकिन्छ भनेर’, उनले भनिन्, ‘परिवारकी महिला सदस्यलाई ल्याएर होमस्टे सञ्चालसम्बन्धी तालिम दियौं।’

अहिले पाटनको पिलाछेँ टोलमा नवनिर्माणसँगै होमस्टेलाई व्यावसायिक रूपमा सञ्चालन गरिएको छ। सम्पदा क्षेत्रवरपर ल्यान्ड पुलिङ गरी व्यावसायिक कम्प्लेक्स बनाउने प्रचलन रोकेर आयआर्जनका क्रियाकलापलाई प्रवद्र्धन गर्नुपर्ने उनी बताउँछिन्। उक्त क्षेत्र वरपरका घरमा परम्परागत शैली कायमै राख्नुपर्ने उनको धारणा छ।

सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको छ। पर्यटन उद्यमी अम्बिका श्रेष्ठ भने सरकारले होटलहरूलाई ‘रेट कटिङ’ गर्नबाट रोक्ने बाध्यकारी प्रावधान आवश्यक रहेको बताउँछिन्। ‘होटलको स्तरअनुसार सेवाशुल्क हुन्छ। ‘रेट कटिङ’मार्फत पर्यटक खोस्ने चलनले देशमा आउने विदेशी मुद्रासमेत कम हुन जान्छ’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.