त्रिशूली ‘३ ए ’ को उपकरण परीक्षण
नुवाकोट : माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको संरचना र उपकरण परीक्षण गरिएको छ। सबै उपकरणको परीक्षण सफल भएको आयोजनाले जनाएको छ।
यससँगै आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नु अघि गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो। यो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।
आयोजनाको काम ९९ प्रतिशत सकिएको छ। विद्युत् गृहमा रहेका उपकरणबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत् गृहमा रहेको टर्वाइनमा झारिन्छ। त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानललगायत उपकरण डिजाइनअनुसार चले÷नचलेको हेरिन्छ। विद्युत् भने उत्पादन हुँदैन।
त्रिशूली नदीको पश्चिमी किनारा नुवाकोट र रसुवाको सिमानामा आयोजना निर्माणको काम सन् २०११ देखि निर्माण सुरु भएको थियो। नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेगमा निर्माण भइरहेको ६० मेगावाट क्षमताको आयोजनाको काम धमाधम निर्माण भइरहेको छ।
े आयोजना सदरमुकाम विदुरदेखि २५ किलोमिटर दूरी उत्तरमा निर्माण भइरहेको छ। दैनिक एकसय ५० जना चिनियाँ र एकसय ५० जना नेपाली कामदारद्वारा माथिल्लो त्रिशूली थ्री ए निर्माणको अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
चीनको चाइना गेजुवा गु्रप अफ कम्पनीले निर्माण गरिरहेको आयोजनाको सिभिलतर्फ ९९ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत र प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको आयोजना प्रमुख फणिन्द्र जोशीले जानकारी दिए। निर्माण सम्झौताअनुसार सन् २०१४ को अप्रिलमा सक्नुपर्ने आयोजना ६० मेगावाटबाट ९० मेगावाट बनाउने कि नबनाउने भन्ने विवादमा परेर लम्बिएको थियो।
नुवाकोट र रसुवामा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो। तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणको परीक्षणमा समय लागेकाले व्यावसायिकरूपमा विद्युत उत्पादन केही ढिलाई भएको घिसिङले बताए।
यस आयोजनाले दोस्रो युनिट (३० मेगावाट)को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ। कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो।
प्रतिक्रिया दिनुहोस !