विश्वमै दुर्लभ चिर कालिज

विश्वमै दुर्लभ चिर कालिज

जाजरकोट : चिर कालिज सुन्दर पन्छी हो। विश्वमै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ चिर कालिज जाजरकोटका जंगलमा पाइन्छन्। यो चरा दुईदेखि चार फिट लामो हुन्छ। कुखुराजस्तै देखिने यो चराको पुच्छर लामो हुन्छ।

यसले एकान्त जंगलमा खोर बनाएर अन्डा पार्छ। कुखुराजस्तै ओथारो बसेर चल्ला कोरल्छ। यो कालो, खैरो र छिरबिरे रङको हुन्छ। कालिजभन्दा स्वभाव र बनावट अलि फरक हुन्छ। पोथीभन्दा भाले अलि ठूलो र बलियो हुन्छ।

पछिल्लो समय विश्वमै दुर्लभ चिर कालिजको व्यापक चोरी सिकार हुन थालेको छ। सम्बन्धित निकायको बेवास्ता र संरक्षणको अभावमा यसको चोरी सिकार बढेको हो। यो पन्छी जिल्लाका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवती, पैक, ढिमे, झाप्रा, अर्छानी लगायतका स्थानमा पाइन्छ। चिर कालिजलाई स्थानीय सिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पन्छी संरक्षण संघका सदस्यसमेत रहेका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहले बताए। विश्वमै दुर्लभ पन्छीलाई चेतनाको अभावमा मार्ने गरिएको उनको भनाइ छ।

एक हजार आठ सयदेखि तीन हजार मिटरको उचाइमा यसको बासस्थान हुन्छ। घाँसे भीरपाखा र झाडी भएको पारिलो स्थानमा चिर कालिज पाइन्छ। यसको संरक्षणका लागि अहिलेसम्म कुनै निकायबाट पहल भएको देखिन्न। सरकारले नौ प्रजातिका संरक्षित चराको सूचीमा चिर कालिजलाई राखेको छ। यसलाई मारेमा कानुनी कारबाही हुने व्यवस्थासमेत गरिएको छ। तर नियामक निकायले बेवास्ता गर्दा र यसको महत्त्वबारे स्थानीयवासीलाई जानकारी नहुँदा चिर कालिज मार्ने क्रम बढिरहेको सक्ला–२ का बुद्धि ध्यारले बताए।

चोरी सिकारका साथै वनजंगलको विनाश र आगलागीका कारण पनि चिर कालिजलाई प्रतिकूल असर परिरहेको छ। जनचेतनामूलक कार्यक्रमका माध्यमबाट यसको संरक्षण गर्न सके जाजरकोटमा प्रशस्त मात्रामा चिर कालिज वृद्धि गर्न सकिने पशु स्वास्थ्य प्राविधिक सिंहको भनाइ छ। पन्छीविज्ञ कृष्णप्रसाद भुसालको टोलीले चार वर्षअघि जाजरकोटमा गरेको एक स्थलगत अध्ययनबाट चिर कालिज रहेको तथ्य फेला पारे पनि अहिलेसम्म संरक्षणका लागि कुनै पहल गरिएको छैन। चिर कालिज पाइने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न सके जाजरकोटमा चिर कालिजको संख्या वृद्धि गर्न सकिने स्थानीयवासीको भनाइ छ।

चिर कालिजलाई स्थानीयवासीले भरुवा बन्दुकले गोली हानेर तथा पासो थापेर मार्ने गरेका छन्। भौगोलिक विकटता र असुरक्षाका कारण चिर कालिजको चोरी सिकार बढ्दै गएको हो। समयमै संरक्षण नगर्ने हो भने यहाँको चिर कालिज पनि लोप हुने अवस्थामा पुगेको भेरी मालिका नगरपालिका–२ का टीकाराम खड्काले बताए। डिभिजन वन प्रमुख मञ्जुर अहमदले मातहतका रेन्जपोस्टलाई चिर कालिजको चोरी सिकार रोक्न निर्देशन दिइसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.