समृद्धिको सपना बोकेर साइकल यात्रा

समृद्धिको सपना बोकेर साइकल यात्रा

राजविराज : साइकल यात्री कर्ण श्रेष्ठको यात्रा प्रदेश- २ आइपुगेको छ।खोटाङ्गको दिक्तेलबाट यात्रा थालेका श्रेष्ठ एक नम्बर प्रदेशअन्तर्गत १४ वटै जिल्लाको भ्रमण सम्पन्न गरी प्रदेश २ आइपुगेका छन्। 

खोटाङ्गको रुपाकोट मझुवागढी नगरपालिका- ४ खाल्लेका ३४ वर्षीय श्रेष्ठले खोटाङ्गको हलेसीलगायत देशकै धार्मिक एवं पर्यटकीय स्थल चिनाउने उद्देश्यले चैत ३ गतेबाट यात्रा थालनी गरेको बताए।

सप्तरीको भ्रमण सकेर सिरहा हिंडेका उनले ६ महिनामा साइकल यात्राबाटै देशभरीका ७७ वटै जिल्लाको भ्रमण गर्ने योजना रहेको सुनाए। पर्यटन क्षेत्रको विकास गर्न र आत्मनिर्भर बन्नसके मात्रै समृद्धि सम्भव छ भन्ने मान्यताका साथ श्रेष्ठले साइकल यात्रा थालेका हुन्।'भ्रष्टाचार मुक्त समाजको निर्माण गरौं, धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रबद्र्धन गरौं,' नाराका साथ आफ्नै खर्चमा यात्रामा निक्लिएका श्रेष्ठले समृद्धिको मुख्य आधार शिक्षा भएकाले दुई खाले शिक्षा नीति अन्त्य गरी व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यक्तामा जोड दिए।

शिक्षाका नाममा व्यापार, सुशासनका नाममा असमानता, विकासका नाममा मौलाएको भ्रष्टाचार र अनियमितता तथा कानुन पालना एवं कार्यान्वयनमा हुने गरेको विभेद देखेर त्यसविरुद्ध जागरण ल्याउन साइकल यात्रामा निक्लिएको साइकल यात्री श्रेष्ठले बताए।

देशको चिन्ता टाउकोमा र माया छातीमा राखेर साइकलबाट नै देशको सबै जिल्ला घुम्न सकिने सन्देश दिन पनि देश दौडाहामा हिंडेको उनको भनाई छ। स्नातक गरी फोटो स्टुडियो र किराना पसल सञ्चालन गरिरहेका श्रेष्ठ साइकल यात्रामार्फत् पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरु चिनाउन तथा भ्रष्टाचारविरुद्ध नेपाली जनतालाई एकजुट बनाउन उपयुक्त माध्यम लागेकोले देश भ्रमणमा निक्लेको बताउँछन् । खोटाङको दर्जनौ धार्मिक तथा पर्यटकीय स्थल घुमेका उनको 'खोटाङको प्राकृतिक सम्पदा' नामक पुस्तक प्रकाशित छ । 

श्रीमतीलाई वृद्ध बुवाआमा र नाबालक दुई छोराको जिम्मेवारी सुम्पिदै यात्रामा निक्लिएका श्रेष्ठलाई देशको हालतबारे निकै चिन्ता लाग्ने गरेको बताए। सरकारको मूल नारा 'समृद्ध नेपाल, सुखी नेपाली' बाट समेत प्रभावित श्रेष्ठले प्राविधिक एवं व्यवहारिक शिक्षा लागु गरेर स्थानीय साधन स्रोत परिचालन गरे मुलुक समृद्ध हुने बताए। 

सरकारको अभियानमा यात्राले सहयोग पुग्ने बताएका उनले नेताहरुको बोली र व्यवहार समान हुनुपर्ने तथा चुनावी घोषणापत्र अनुसार काम हुनुपर्ने जिकिर गरे।विकासका नाममा गाउँ-गाउँमा सडक सञ्जाल विस्तार भइरहे पनि गुणस्तरिय काम नभइरहेको यात्राको अनुभव सुनाउँदै श्रेष्ठले कालोपत्रे गरिएका सडक महिना दिन नपुग्दै भत्कन थालेकाले त्यसविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताए।

व्यवहारिक शिक्षा र सो अनुरुपको रोजगारीको अवसर नहुँदा युवाहरु विदेशिन बाध्य भइरहेको उनको बुझाइ छ। सरकारले ठूलो लगानी गरेर गाउँ-गाउँमा विद्यालय पुर्‍याए पनि गुणस्तरीय शिक्षाका लागि गाउँबाट काठमाडौं नभए सदरमुकामका निजी -विद्यालय भर्ना हुने परिपाटी छ' उनी भन्छन, 'हावापानी, भूगोल र स्थानीय साधन स्रोत सदुपयोग गर्न सकिने शिक्षा नभएकाले लाखौं प्रजातीका बनस्पति जडीबुटी, ८३ हजार मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने र खेती सिंचाइ गर्ने जलश्रोत, कच्चा पदार्थ र खनिज पदार्थहरु त्यसै खेर गइरहेको छ।'

पढ्नका लागि बाहिरिनेहरु गाउँमा फर्केर नआउने गरेको दावी गर्दै श्रेष्ठ वर्तमान शिक्षा नीति र पाठ्यक्रम परिमार्जन गरी समतामुलक, व्यावहारिक, प्राविधिक र सिपमुलक शिक्षा लागू गर्नुपर्ने माग राख्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.