पर्सामा घटेन लागुऔषध कारोबार
वीरगन्ज : लागुऔषधको कारोबार पर्सा जिल्लामा झन्–झन बढिरहेको छ। प्रहरीले २०७५ बैशाख १४ गतेबाट जिल्लाभर नै लागुऔषध रोकथाम महाभियान नै चलाएपनि यसमा कुनै नियन्त्रण हुन सकेको छैन।
जिल्लाका सबै स्थानीय तहको सहकार्यमा जिल्ल प्रहरी कार्यालय पर्साले अभियान सन्चालन गरेको एक वर्ष पुरा भएको छ। तर, पर्सामा लागुऔषधको कारोबार घट्नुको साटो झन बढ्दै गएको प्रहरीकै तथ्याङकले पुष्टी गर्छ। गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको कार्यक्रममा पर्सा प्रहरीका प्रवक्ता मान बहादुर राइले प्रस्तुत गरेको कार्यपत्रमा पर्सामा अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा लागुऔषधको कारोबार बढेको उल्लेख छ।
पर्सा प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख १५ गतेसम्म मात्रै १८०जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। तर, अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा जम्मा ११५ जना भने लागुऔषध कारोबारी पक्राउ परेका थिए। त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा भने एक सय ५० जना पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्सामा चालु आर्थिक वर्षको ९ महिने अवधिमा लागुऔषध शीर्षकमा १४१ वटा मुद्धा दर्ता भएका छन्। जबकी अघिल्लो आर्थिक वर्ष २०७४/७५मा जम्मा १४२ वटा मुद्धा दर्ता भएका थिए। यसैगरि चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पर्साका विभिन्न स्थानबाट प्रहरीले ३६८ केजी गाजा, ३१६ केजी चरेश, १ किलो ९ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ। यस्तै नाइट्रोभेट टयाब्लेट ६ हजार पाच सय ८९ पिस, कोरेक्स दुइ सय ७२ बोत्तल बरामद गरेको छ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भने पर्सा प्रहरीले ३४४ केजी गाजा, २९८ केजी चरेश, २०९ ग्राम खैरो हेरोइन, नाइट्रोभेट टयाब्लेट ५ हजार ९८३ पिस र कोरेक्स ११ बोतल मात्र बरामद गरेको थिया।
पर्सा प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिने अवधिमा लागुऔषधको कारोबारको अभियोगमा पक्राउ परेका १८० मध्ये १६देखि ३५ वर्ष उमेरका युवा युवती १५७ जना छन्। तर, अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा भने पक्राउ परेका १९५ मध्ये १६ देखि ३५ वर्ष उमेरका युवा युवतीहरुको संख्या एक सय ४९ मात्रै थियो।
प्रहरीका अनुसार जिल्ल प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका मध्ये ६० प्रतिशत थुनावा लागुऔषध मुद्धाका छन्। त्यस्तै वीरगन्ज कारागारमा रहेका १ हजार १०० कैदी बन्दी मध्ये ४० प्रतिशत लागुऔषध मुद्दाकै अभियुक्त र आरोपीहरु रहेको प्रहरी नायव उपरिक्षक राइले जानकारी दिए।
भारतसँग खुल्ला सीमा जोडिएको पर्साको नाका हँुदै नेपालबाट गाजा र चरेश भारतमा तस्करी हुँदै आएको छ भने भारतबाट खैरो हेरोइन, प्रतिबन्धित नशाजन्य औषधी लगायतका लागु औषधहरु नेपाल भित्रिने गरेको छ। लागु औषधका कारोबारीले लागु औषधको ओसार पसार र कारोबारलाइ ट्रान्जिट प्वाइन्ट बनाएपछि त्यसलाइ रोक्न भन्दै पर्सामा जिल्ला प्रहरी कार्यालय पर्साले स्थानीय तहहरुको सहकार्यमा जिल्लाभरि नै लागु औषधरोकथाम महाअभियान सन्चालन गरेको थियो।
जनप्रतिनिधिले लागुऔषध रोकथाम महाअभियान अन्तर्गत सन्चालन गरिने जनचेतनामुलक कार्यक्रमका लागि आआफनो स्थानीय तहमा बजेट पनि छुटयाउने घोषणा गरेका थिए। पर्सामा लागु औषधको कारोबार बढेको प्रहरीकै तथ्यांकले देखाएपनि पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राइले लागुऔषधको कारोबारमा कमी आएको बताए।
पर्सामा पक्राउ परेकाहरु अधिकांश अन्य जिल्लाका अभियुक्तहरु रहेको भन्दै उनले भने,‘यो महाअभियानलाई अझ प्रभावकारी रुपमा कसरी अगाडि बढाउने सम्बन्धमा हामीले छलफल गरिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस !