दाउफिन्स सेमिफाइनलमा
धनकुटा : धरान फुटबल क्लबमाथि गोल वर्षा गर्दै क्यामरुन टोली दाउफिन्स १४औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनकुटास्थित तल्लो टुँडिखेलमा सोमबार भएको खेलमा दाउफिन्सले धरानलाई ५–० गोलले हरायो। दाउफिन्सको जितमा यानिक वो आना र कोनोले दुई दुई गोल गरे। अर्को गोल पेटंगाले गरेका थिए।
एकपक्षीय खेलमा दाउफिन्सले सुरुआतदेखि नै धरानलाई दबाबमा राखेको थियो। छैटौं मिनेटमा यानिकले खाता खोले। ३०औं मिनेटमा यानिकले दोस्रो गोल गरे। पेटंगाले ५०औं मिनेटमा वान भर्सेस वानमा गोल गरेका थिए। कोनोले ६१औं र ८६औं मिनेटमा गोल गर्दै दाउफिन्सलाई सजिलै जिताए। धरानले केही अवसर पाए पनि गोल फर्काउन सकेन। दाउफिन्सका कप्तान अउरेल इनामे म्यान अफ दी म्याच घोषित भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए।
खेलपछि दाउफिन्सका टिम म्यानेजर आशिक थापामगरले खेलाडी बीचको तालमेल र मेहनतले जित सम्भव भएको बताए। ६ वटा प्रतियोगिता जितिसकेको दाउफिन्स सातौं उपाधि जित्ने लक्ष्यसहित धनकुटा आएको पनि उनले बताए।
धरानका प्रशिक्षक सागर घिमिरेले पराजित भए पनि खेलाडीले राम्रो खेल प्रदर्शन गरेको बताए। दाउफिन्सका खेलाडीहरू शारीरिक रूपमा सशक्त र स्टामिना भएको कारण नेपाली खेलाडीलाई खेल्न मुस्किल भएको उनले बताए। मंगलबार एपीएफ र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !