चीनमा एसियाली सभ्यता संवार्ता

चीनमा एसियाली सभ्यता संवार्ता

भर्खरै मात्र दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय फोरमको सफल आयोजना गरेको चीनले बुधबार (जेठ १ गते) बाट साझा भाग्य समुदाय तथा एसियाली सभ्यताबीच आदानप्रदान र पारस्परिक अध्ययन विषयमा एसियाली सभ्यता संवार्ता सम्मेलन आयोजना गरेको छ। सम्मेलनबाट मानव सभ्यताको विकास अघि बढाउन तथा साझा सहकार्य र साझा भाग्य समुदाय निर्माणमा थप योगदान पुग्ने विश्वास छ। सम्मेलन दौरान द्विपक्षीय तथा बहुपक्षीय पहल र सम्झौता हुने अनुमान छ।

विश्वका कतिपय प्राचीन सभ्यता लुप्त भइसकेका छन्। विभिन्न सभ्यताबीच टकराव पनि भएका थिए र हाल पनि भइरहेका छन्, विशेषतः पूर्वी र पश्चिमी सभ्यताबीचमा घर्षण जारी छ। त्यसबाहेक विभिन्न मुलुकभित्रका जातीय समूहबीच पनि मनमुटाव छन्। त्यसको ज्वलन्त उदाहरण नेपाललाई लिन सकिन्छ। आदिवासी र जनजातिका रूपमा, जात, भाषा, क्षेत्रीयता र धर्मका आधारमा मनमुटाव बढ्दै गएको देख्न सकिन्छ। एकबाट अर्कोमाथि हानथाप जारी छ। मुलुक संघीयतामा गइसके पनि अझै प्रदेशको नामाकरण तथा राजधानी छनोटसमेत गर्न कठिन अवस्था छ।

चिनियाँ संवार्ताको ध्येय सबैले सबैलाई चिन्ने, एकले अर्कोलाई सम्मान गर्ने र सुन्दर विश्वको कल्पना गर्दै हातेमालो गर्दै अघि बढ्ने हो। आपसमा झैझगडा गरे सबै समाप्त हुन्छ मिलीजुली सहअस्तित्वमा रही साझा विजय हासिल गर्न सकिन्छ भन्ने मान्यता यो संवार्ताको हो। प्राचीन तथा धनी एसियाली सभ्यताबीच आदानप्रदान र आपसलाई नजिकबाट चिन्ने र जानकारी लिने उद्देश्यले नै यो संवार्ता आयोजना गरिएको हो।

पछिल्लो कालमा हामी उभिइएको विश्व भयावह बन्दै गएको छ। कुन बेला के घटना हुने हो थाहा हुन्न, प्राकृतिक प्रकोपको डर छँदै छ। हाल मानवीय आतंकबाट हुन सक्ने क्षतिबाट सबै त्रसित छन्। यहाँ अमेरिकी वैज्ञानिक स्यामुयल हन्टिङटनको सिद्धान्त सभ्यताहरूको टक्करको अवधारणा प्रस्तुत गर्न उचित हुन्छ। उनले सन् १९९३ मा नै शीतयुद्धपश्चात् विभिन्न धार्मिक तथा सांस्कृतिक पक्षधर नै द्वन्द्वको मुख्य स्रोत हुने अनुमान लगाएका थिए। उनको तर्क छ, मानिसले आफ्नो जातीयता र धर्मबाट आफूलाई परिभाषित गर्ने छन्।

आजको विश्व हेर्दा त्यतैतिर अग्रसर देखिन्छ। त्यसो हुन नदिन र हामी उभिएको धरातल जोगाउन पनि विभिन्न सभ्यताबीच सुमधुर सम्बन्ध स्थापना जरुरी छ। विभिन्न सभ्यताबीच द्विपक्षीय तथा बहुपक्षीय आदानप्रदान बढाउँदै तिनीहरूको विविधता र समानतालाई एकअर्काले सम्मान गर्ने र संसारभरका मानिसबीच मित्रता बढाउने र मानव समाजको प्रगतिलाई उत्प्रेरित गरिनुपर्छ। सभ्यताबीचको आदान–प्रदान र पारस्परिक अध्ययन मानव सभ्यताको विकासका साथै विश्व शान्तिका लागि महत्त्वपूर्ण हुनेछ।

यसरी सौहार्द संवार्ताको आयोजना गर्ने जिम्मा चीनले लिएको छ। चीनले विगतका वर्षहरूमा अकल्पनीय रूपमा फट्को मारेको छ। ऊ एउटा विशाल प्राचीन सभ्यताको देश मात्रै रहेन, हाल हरेक क्षेत्रमा विश्वको पहिलो या अग्रणी स्थानमा छ। उसैले विश्वलाई जोड्ने हेतुले नवीन रेशममार्ग परियोजना अघि सारेको छ र विश्वका झन्डै १५० वटा मुलुक केही न केही चीनको राजधानी बेइजिङमा आयोजना भइरहेको सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एसियाली सभ्यता सम्बन्धमा मुख्य सम्बोधन पनि गर्नेछन्। विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखका साथै एसियाका ४७ वटा मुलुक तथा अन्य मुलुकका प्रतिनिधि र युनेस्कोलगायत अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूले सो सम्मेलनमा भाग लिइरहेका छन्। सम्मेलनको अवधिमा उद्घाटन समारोह, ६ वटा विविध विषयक मञ्च, एसिया संस्कृति मेला तथा एसियाली सभ्यता सप्ताह कार्यक्रम समेटिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीको प्रचार विभागका उपप्रमुख तथा राज्य परिषद् सूचना कार्यालयका प्रमुख सु लिनले ४७ वटा एसियाली मुलुक र अन्य मुलुकका गरी दुई हजारभन्दा बढी प्रतिनिधिले उद्घाटन समारोहका साथै अरू विविध मञ्च तथा कार्यक्रममा सहभागिता जनाउने बताएका छन्। साथै एसियाली सभ्यता सप्ताहअन्तर्गत आयोजना हुने एसियाली संस्कृति र फेसन प्रदर्शनी, पर्यटन प्रदर्शन, एसियाली खाना महोत्सव, एसियाली चलचित्र तथा टीभी सप्ताह र एसियाली सांस्कृतिक झाँकीको प्रदर्शन जस्ता कार्यक्रममा देश–विदेशका गरी ३० हजारभन्दा बढी मानिसको सहभागिता रहनेछ।

एसियाली सभ्यता सम्बन्धमा चिनियाँ राष्ट्राध्यक्ष सीले पहिले पनि सम्बोधन गरेका थिए। उनले सर्वप्रथम सन् २०१४ मार्चमा पेरिसमा पहिलोपटक यस प्रसंगलाई उठाएका थिए। युनेस्कोको प्रधान कार्यालयमा सम्बोधन गर्ने क्रममा उनले विभिन्न सभ्यताबीच सुमधुर सहअस्तित्वका लागि विश्वले आदानप्रदान तथा पारस्पारिक अध्ययन तथा सहयोग बढाउनुपर्ने बताएका थिए। विश्व शान्ति तथा मानव समुदायको प्रगतिका लागि सभ्यताबीच आदानप्रदान आवश्यक रहेको औंल्याएका थिए। यसले आपसमा मित्रताको सेतु बनाउने उनको ठहर छ। यसरी सभ्यताबीच आदानप्रदानका लागि केही महत्त्वपूर्ण सिद्धान्तका साथमा सही दृष्टिकोण राख्नुपर्ने उनको मान्यता छ।

संवार्ताबाट समग्र एसिया र विश्वका लागि साझा भविष्य समुदाय निर्माणमा सहयोग पुग्नेछ।

सभ्यताहरू सबै समावेशी छन् र संसारलाई अगाडि बढाउन आदानप्रदान तथा पारस्परिक सहयोगका लागि अवसर दिएको छ। सबै सभ्यताले समावेशीलाई आत्मसात गर्ने हो भने सभ्यताको सद्भाव वास्तविकता बन्नेछ र सभ्यताबीच टकरावको त्रास रहने छैन। इतिहासले पनि आदानप्रदान तथा पारस्परिक साथ सहयोगबाट मात्रै सभ्यतालाई जीवन्त बनाउने देखाएको छ। विभिन्न संस्कृति, जातीय समूह, रङ, धर्म तथा सामाजिक प्रणाली रहेको विश्वमा सबैको गन्तव्य र लक्ष्य शान्ति र समृद्धि भएकाले विश्व मानव समुदायमाथि आइपर्ने चुनौती सामना गर्न विभिन्न सभ्यताबीच मेलमिलाप आवश्यक रहेकोमा उनले जोड दिएका थिए।

सीले सन् २०१४ मा सांघाईमा आयोजित कन्फरेन्स अन इन्टरएक्सन एन्ड कन्फिडेन्स ब्युल्डिङ मिजर्स इन एसिया सम्मेलनमा र सन् २०१५ को पोआओ फोरममा पनि सभ्यताबारे चर्चा गरेका थिए। पछिल्लो समय पोआओ फोरममा एसियाली सभ्यताको संवाद शीर्षकमा वार्ता पनि हुँदै आएको छ।

एसियाली सभ्यता संवार्ताको आयोजनाबाट विविध एसियाली सभ्यता र मुलुकलाई पारस्परिक अध्ययन तथा विकासको माध्यमबाट एसियाली संस्कृतिप्रति गर्व अनुभूत हुनेछ र यी सभ्यता र मुलुकबीच पारस्परिक विश्वास तथा सहकार्यको प्रवर्धन हुनेछ। जसबाट समग्र एसिया र विश्वका लागि साझा भविष्य समुदाय निर्माणमा सहयोग पुग्नेछ। संवार्ताले प्रतिभावान् कलाकार तथा नवयुवालाई धनी तथा जीवन्त एसियाली संस्कृतिबारे गहन रूपमा बुझ्न तथा अन्तरक्रिया गर्ने अवसर दिनेछ। एसियाली सभ्यताको मानव सभ्यताको विकासमा ठूलो योगदान छ र भविष्यमा पनि यसको योगदान महत्त्वपूर्ण रहनेछ।

प्राचीन रेशममार्गका सबै पुराना प्रमुख सभ्यता, पश्चिमा हेलनिस्टिक, रोमन त्यसैगरी अरबी, इरानी सभ्यता, दक्षिण एसियाली र दक्षिणपूर्व एसियाली सभ्यता र चिनियाँ सभ्यताबीच पुरानै साइनो छ। हजारौं वर्षदेखि पारस्परिक सम्मान र विश्वासको साझा इतिहास छ। सभ्यताबीचको फरक र भिन्नताको पहिचान गरी सहिष्णु, शान्ति र सहअस्तित्वको स्थापनासँगै आदानप्रदानलाई बढाउन सकिनेछ। सर्वव्यापी समस्याको संयुक्त रूपमा मिलेर समाधान गर्न सकिनेछ। वैश्विक पर्यावरणीय सभ्यताको निर्माण, सहकार्य प्रणाली, सहविकास र सहसमृद्धिको विश्वव्यापी व्यवस्था लागू गर्न सकिने छ।

वैज्ञानिक स्यामुयल हन्टिङटनले सभ्यताबीच टक्कर हुने र मानिसले आफ्नो जातीयता र धर्मबाट आफूलाई परिभाषित गर्ने धारणा राखेका थिए तर एकले अर्को सभ्यतामाथि धावा बोलेन र सौहार्द र सद्भावपूर्ण वातावरण बनिरह्यो भने त्यस्तो दिन आउने छैन।

यस संवार्ताका ६ वटा पत्रको पिओनी फूलको लोगोले एसियाका ६ वटा भौगोलिक क्षेत्र र पत्रमा देखिएका रङले एसियाली मुलुकहरूको झन्डाका रङका साथै रंगीन एसियाली सभ्यताको प्रतिनिधित्व गरेका छन्। नेपालबाट पनि प्राज्ञ तथा विभिन्न क्षेत्रका विज्ञ र विद्वान्हरूको सहभागिता रहनेछ। सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल, कवि दुर्गालाल श्रेष्ठको यस गीतको भावना विविध सभ्यताको विश्वमा पनि उत्तिकै मेल खान्छ। एसियाली देशहरूले आफ्नो सांस्कृतिक विविधताको रक्षा गर्न तथा मानव सभ्यताको उज्ज्वल भविष्यका लागि आपसमा मिलेर अघि बढ्नुपर्छ र भएका मनमुटावलाई वार्ताबाट हटाउनुपर्छ। साथै विश्वमा नवप्रविधिको विकास उग्र गतिमा भइरहेको छ, यसले पनि सभ्यताको विकासमा प्रभाव पार्नेछ।


—अलौकिक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बेइजिङमा विदेशी विशेषज्ञको रूपमा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.