लालपुर्जामा बराम नागरिकतामा गुरुङ

लालपुर्जामा बराम नागरिकतामा गुरुङ

गोरखा : सिरानचोक गाउँपालिका–४ को डाँडागाउँमा बराम समुदायको करिब ४५ घर छ। सोही गाउँपालिकाको कटहरबारीमा २४, हरिबलेमा १५, चित्रेमा ७ घर, झिम्रेकमा ४० घरधुरी छन्। सिम्ले र कुजुङमा पनि बराम समुदायको बसोबास छ तर उनीहरु आफ्नो थर गुरुङ लेख्छन्। अधिकांशको लालपूर्जामा बराम र नागरिकतामा गुरुङ थर छ। यहाँका बराम समुदायलाई आफ्नो भेषभूषा र चाडपर्वका बारेमा पत्तो नभएको वडाका जनप्रतिनिधि समेत रहेका कुलबहादुर बरामले बताए।

गुरुङ समुदायको संगतले सिरानचोक गाउँपालिकाभित्रका बराम समुदायले प्रायः गुरुङ भाषा बुझ्छन्। तर आफ्नो भाषाका बारेमा अनभिज्ञ छन्। ‘बाउबाजेको पालादेखि यही गाउँमा बसेको हो’, डाँडागाउँकी ७२ वर्षीय आशमाया बराम भन्छिन्, ‘न हाम्रो बाउले बराम भाषा बोले, न बाजेले। हामीले कसरी जान्नु ? छरछिमेक गुरुङ धेरै भएकाले उनीहरुको भाषा आउँछ, आफ्नो भाषा आउँदैन।’ आफ्नो भाषाको महत्वबारे कसैलाई ज्ञान नभएकाले भाषा सिक्न पनि असम्भव भएको उनको भनाइ छ।

२०६८ सालको जनगणनामा सरकारले बरामलाई अति सीमान्तकृत समुदायमा सूचिकृत गरेको छ। राज्यबाट पहिचान पाएपछि नयाँपुस्तालाई थर सच्याउने र भाषा सिक्ने चाहना बढेको छ तर लालपूर्जामा एउटा थर, नागरिकतामा अर्को थर हुँदा झन्झट भएको वडा सदस्य कुलबहादुर बरामको भनाइ छ। ‘पहिले बाउबाजेको जग्गा अंश लिँदा बराम थरबाट लालपूर्जा बनाए। जागिर खान नागरिकतामा गुरुङ लेखे, कसैले मगर लेखे’, उनले भने, ‘अहिले बराम समुदायले अवसर पाउने भएपछि छोरानातीलाई थर सच्याउन झञ्झट भएको छ।’

नयाँपुस्तालाई आफ्नो भाषा र समुदायप्रति मोह बढेको भीमसेन थापा गाउँपालिका–३ गैराथोकका गोविन्द बरामको भनाइ छ। ‘बराम समुदाय यसै त अल्पसंख्यक, अति सीमान्तकृत छ। थर फेरेकाले जनगणनामा अझ कम देखिएको छ’, उनले भने, ‘नयाँपुस्तालाई आफ्नो थर लेख्न पाए, भाषा सिक्न पाए, मौलिक भेषभूषा लगाउन पाए हुन्थ्यो भन्ने भएको छ।’ चाहेर पनि नयाँपुस्ताले आफ्नो भाषा सिक्न नपाएको उनले बताए।

विभिन्न कार्यक्रममा गुरुङ, मगर समुदायले आफ्नो जाति, भाषा, संस्कृति बारे प्रदर्शन गर्न थालेपछि बराम युवा पनि आफ्नो भाषा सिक्न, भेषभूषा लगाउन लालायित भएको उनले बताए। ‘गतवर्ष भाषा सिक्न किताब पनि बाँडिएको थियो तर धेरै बराम युवा पढ्न लोख्नै जान्दैनन्। किताब बाँडेर मात्र के गर्नु ? ’, उनले भने। सिमान्तकृत, अल्पसंख्यक समुदायको प्रवद्र्धन गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्नुपर्नेमा उनको जोड छ।

ताकु डाँडागाउँको अन्तरज्योति माविले यस वर्षदेखि बराम भाषा पढाइ सुरु गरेको छ। बराम समुदायको बाहुल्य रहेका अन्य गाउँका विद्यालयमा पनि बराम भाषा पढाई हुनुपर्ने उनको माग छ। ‘बराम समुदायको आफ्नै भाषा छ। बालकुरा भन्ने किताब छ’, उनले भने, ‘बरामको बाक्लो बसोबास भएको गाउँका स्कुलमा एउटा किताब पढाउन गाउँपालिकाले नियम लागु गराइदिए हुन्थ्यो।’ बल लगाउने ठाउँमा बरामको प्रयोग हुने तर बुद्धि लगाउने ठाउँमा बरामले ठाउँ नपाउने गरेको भन्दै उनले दुख व्यक्त गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.