आरुबोटे हत्याकाण्ड : घटनास्थल पुग्दा जे देखियो

आरुबोटे हत्याकाण्ड : घटनास्थल पुग्दा जे देखियो

आरुबोटे : केही दिनअघि पारिवारिक कामले झापाको बिर्तामोड झरेको थिएँ। तीन दिनको बिर्तामोड बसाईपछि मंगलबार साँझसम्म फिदिम फर्कने योजना थियो। मंगलबार राति काठमाडौंमा रहेका सुरक्षा निकायका एक उच्च पदस्त व्यक्तिले फोन गर्नुभएको रहेछ। बिहान उठेर मोबाइल हेर्दा थाहा भयो। कार्यव्यस्तताले कल ब्याक गरिन्।

बिहान आठ बजेपछि फिदिमबाट निरन्तर फोन आउन थाल्यो।आरुबोटेमा एकै परिवारका नौजनाको हत्या भएको छ भन्ने कुरा सुनिन्छ। तपाई कता हुनुहुन्छ ? खास कुरा के हो ? भन्दै एकपछि अर्को फोन आए।

बिहानको आठ बजे जिल्लाबाट फोन आएपछि आरुबोटेका स्थानीय साथीलाई फोन गरेर वास्तविकता बुझ्ने कोशिस गरेँ।नौ जनाको हत्या भएको थाहा भएपनि एकीन विवरण पाउन निकै कठिन भयो। फोन गरेर अनलाइनमा समाचार अपडेट गराएँ। 

मलाई घटनास्थल कसरी पुग्ने भन्ने कुराले पिरोल्न थाल्यो। तीब्ररुपमा मोटरसाइकल हाक्दा पनि घटनास्थल पुग्न बिर्तामोडदेखि करिब छ घण्टा लाग्थ्यो। साढे नौ बजेपछि अन्नपूर्ण पोष्टका व्यूरो चिफ चिरजिवि ढुंगानाले फोन गरेर जहाँ र जस्तो अवस्थामा भएपनि घटनास्थलमा पुगेर रिपोर्टिङ गर्न निर्देशन दिनुभयो।

एपीवान टेलीभिजनबाट पनि घटनाको बारेमा जानकारी मागिएको थियो । देशभरिबाट फोन आउनेक्रम बढ्दै गयो।  ट्याक्सीमा विर्तामोडको नयाँ बसपार्क पुगेर गाडीको टिकट लिएँ।बुटाबारी पुग्न लागेपछि एपीवान टीभीका झापा व्युरोबाट सुब्रत न्यौपानेले घटनाको बारेमा जानकारी लिन फोन गर्नुभयो। मैले बिर्तामोड नै भएको र मोटरसाइकल भए सँगै जाउँ भन्ने प्रस्ताव राखेँ।

उहाँले आफूसँग मोटरसाइकल नभएको र एपीवान टीभी झापाका क्यामरा पर्सन बिष्णु श्रेष्ठलाई फोन गरेर पाँच मिनेटमा आफूलाई कल गर्ने बताउनुभयो। मैले ट्याक्सीलाई पाँच मिनेट बुटाबारीमै रोकेँ। सुब्रत न्यौपानेले क्यामरा पर्सन घटनास्थलमा जाने भनी मलाई विर्तामोडको मुक्तिचोक फर्कन आग्रह गर्नुभयो । 

ट्याक्सी छाडेर म मुक्तिचोक गएँ। बिष्णु श्रेष्ठलाई एक घण्टा कुरेर मुक्तिचोकको पिपलको बोटमुनि बसेर फोन लगाउँदै घटनाको बारेमा अपडेट हुँदै गएँ।

बिष्णु श्रेष्ठ मुक्तिचोक आइपुग्दा ११ बजिसकेको थियो। हामी तीब्र गतिमा दानबारीतर्फ हुँइकियौं। दानबारी, लारुम्बाहुँदै मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबी बजारसम्म पुग्न हामीलाई निकै कठिन भयो। बाटो अप्ठ्यारो, हिलो र हामी दुवै जनका लागि नौलो भएकाले रबी पुग्न कठिन भएको थियो। मैले खाना खाएको थिइन। लारुम्बा पुगेर आधा-आधा प्लेट चाउमिन र चिया खायौँ। घटनाको खबरले लारुम्बालाई आतंकित बनाइसकेको थियो।मलाई भने भोक लागेको भएपनि खानातिर मन गएको थिएन। कति खेर घटनास्थल पुगौं भन्ने मात्र लागेको थियो। 

तीब्र गतिमा हुँइकिँदा बाटोमा थुप्रै ठाउँ हिलोमा चिप्लिएर लड्यौं। कहिले बाइक भासिन्थ्यो।तानेर उठाउनुपर्थ्यो। बाइक घचेट्दै चार बजे रबि बजार पुग्यौँ। रबी बजार सुनसान थियो। बजारमा देखिएका मन्छेको मुहारमा त्रास भरिएको थियो। घटनाको बारेमा कसैले पनि बोल्न चाहेनन्।

बाटोमा सोध्दै हामी आरुबोटेतर्फ लाग्यौँ। रबीदेखि आरुबोट पुग्न हामीलाई निकै समय लाग्यो। घटनास्थल पुग्ने बाटो सोध्दै हामी अघि बढ्यौं। बेलुकाको पाँच बज्न लाग्दा हामी आरुबोट पुग्यौँ। घटनास्थल भन्दा निकै माथिदेखि मान्छेको बाक्लो भीड थियो। सबै मौन र भावुक थिए। प्रहरीको बाक्लो उपस्थिति थियो। 

सबै डराएका देखिन्थे। स्थानीयसँग घटनाको बारेमा चासो राख्दा आफू टाढाबाट आएकाले थाहा नभएको भनेर पन्छिए। आरुबोट बजारनजिकै बाटोको छेउमा रहेछ बमबहादुर फियाकका ज्वाइँ धनराज शेर्माको घर। घर वारी पनि मान्छेको घुँइचो लागेको थियो। कोही सुकसुक गर्दै रोइरहेका थिए। कोही गम्भीर मुद्रामा थिए।

प्रहरीले घरलाई घेरा हालेको थियो। कसैलाई पनि घरमा प्रवेश गर्न दिएको थिएन। यस घरभित्र धनराज शेर्मासहित पाँच जनाको हत्या भएको थियो।धनराजकी श्रीमती जस्मिता फियाक शेर्मा, छोरी युहाना र मुना शेर्मा र भतिजी इक्सा सेर्माको हत्या घरभित्रै भएको रहेछ।

 करिब पैदल १५ मिनेट ओरालो झरेपछि चारजनाको हत्या भएको बमबहादुर फियाकको घर पुगियो। मकैबारीको बीचमा रहेको घर मान्छेको भीडले छोपिएको थियो। भीड थिचोल्दै भित्र जाँदा प्रहरी घर घेरा हालेर बसेका थिए। त्योभन्दा भित्र जान जो कोहिलाई अनुमति थिएन।

त्यहाँ प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती, प्रहरीका हाकिम र जनप्रतिनिधि थिए। बमबहादुर फियाकसहित उनकी श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक र आसिका खजुमको हत्या भएको थियो। उनीहरुको शव घरभित्र थियो। यही घरबाट बमबहादुरकी नातिनी सीता खजुम मृत्युको मुखबाट उम्कन सफल भएकी थिइन्। उनी घाइते अवस्थामा उम्कन सफल भएको प्रहरीले जानकारी दियो।

हत्या भएको घरभित्र पसेर कसैलाई पनि फोटो खिच्न दिइएको थिएन। आफन्त र सर्वसाधारण आफ्नै तरिकाले घटनाको विश्लेषण गरिरहेका थिए। कोही रोइरहेका थिए। प्रहरी प्रशासनको बेवास्ताका कारण विभत्स हत्या भएको भनी केही स्थानीय आक्रोश पोख्दै थिए। 

करिब एक हप्ता अगाडी जस्मिताको घरमा बनाएको थुक्पा खाँदा आठजना बिरामी परेका थिए। नुनमा सिसाका टुक्रा मिसाइएकाले खाजा खाने सबै बिरामी परेका थिए। उनीहरू फिदिममा उपचारपछि सोमबार मात्रै घर फर्किका थिए।

कसैले षडयन्त्र गरेर सबैलाई मार्न खोजेको भनी प्रहरीलाई खबर गर्दा पनि प्रहरीले अनुसन्धान नगरेकाले एकै परिवारका नौ जनाको हत्या भएको स्थानीयको भनाइ थियो। 
 
स्थानीयले बमबहादुरका कान्छा ज्वाई मनबहादुर माखिमले हत्या गरेको अनुमान गरेका छन्। मानबहादुरले बमबहादुरकै कान्छी छोरी मनकुमारी फियाकसँग विवाह गरेका थिए। माखिम केही महिनाअघि मात्र विदेशबाट घर फर्किएको स्थानीयले सुनाए। 

स्थानीयका अनुसार मानबहादुर र मनकुमारीको सम्बन्धमा खटपट आएको थियो। उनीहरु सम्बन्ध बिच्छेद गर्ने तयारीमा  थिए। त्यसैको आक्रोशमा मानबहादुरले सबैको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ।

हत्या भएको स्थानबाट दुई घण्टा पैदल हिँड्दा पुगिने मिक्लाजुङ गाउँपालिका- ८ लुमाङदेनमा मानबहादुर झुण्डिएको अवस्थामा फेला परेका रहेछन्। यो घटनाले मिक्लाजुङका स्थानीय शोकमा  मात्रै डुबेका छैनन् आतंकित पनि उत्तिकै छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.