पदाधिकारीले नै गरे खेलकुदमा तालाबन्दी

पदाधिकारीले नै गरे खेलकुदमा तालाबन्दी

राजविराज : जिल्ला खेलकुद विकास समितिका पदाधिकारीबीच असमझदारी बढ्दै गएपछि समितिका पदाधिकारीहरूले नै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उपाध्यक्ष धीरेन्द्र बर्मा धिरुको नेतृत्वमा कोषाध्यक्ष राजेश चौधरीसहितका सदस्यहरूले कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

तालाबन्दीले गर्दा हाजिर गर्न नपाएका कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई जानकारी गराई घर फर्किएका छन्। अध्यक्ष वा कोषाध्यक्षमध्ये कस्को नाममा खाता सञ्चालन गर्ने भन्ने विषयमा समितिमा विवाद छ। अध्यक्ष अमर खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोबारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउँदै आएका छन्।

अध्यक्षबाहेक उपाध्यक्ष, कोषाध्यक्ष र सम्पूर्ण सदस्यहरू भने कोषाध्यक्षको नाममा खाता सञ्चालन हुनुपर्ने अडानमा छन्। खेलकुद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ। समितिमा सचिवको भूमिका निर्वाह गर्ने कार्यालय प्रमुख भुजेलले भने अध्यक्षको कार्यादेश बिना आर्थिक कारोवार गर्न नसक्ने भन्दै असमर्थता जनाएका छन्।

गत पुस १७ गते अध्यक्ष एजेट न्यासुर लामाको कार्यकाल समाप्त भएपछि खवास अध्यक्षमा नियुक्त भएका थिए। खाता सञ्चालनसम्बन्धी विवादकै कारण अध्यक्ष खवासको पदभार ग्रहण कार्यक्रम पनि एक महिनासम्म प्रभावित भएको थियो। तर, एक महिनापछि खवासले पदभार ग्रहण गरे पनि तीन महिना बितिसक्दासमेत समितिको बैठक भने बस्न सकेको छैन।

समितिका पदाधिकारीबीचको आपसी विवादका कारण खेलकुद गतिविधिसमेत प्रभावित बनेको छ। भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका—९ स्थित मदन भण्डारी खेलग्रामका लागि आएको २५ लाख रुपैयाँ र सप्तकोसी नगरपालिकास्थित भगनी मलेठमा कभर्डहल निर्माणका लागि आएको १० लाख रुपैयाँ पनि फ्रिज हुने अवस्थामा पुगेको कर्मचारीहरू बताउँछन्।

यसैगरी उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि खेलाडी छनोट भइसक्नु पर्नेमा हालसम्म त्यो काम पनि पूरा हुन सकेको छैन। यी सबैको दोष एक पक्षले अर्को पक्षलाई लगाउँदै आएका छन्। कोषाध्यक्ष चौधरीले बारम्बार आग्रह गर्दा पनि अध्यक्ष र कार्यालय प्रमुखले बैठक नडाकेर बहुमत सदस्यहरूको निर्णय कार्यान्वयन हुन नदिएपछि तालाबन्दी गर्नु परेको बताए।

गत मंसिर ५ गते कार्यालय प्रमुखको पदभार ग्रहण गरेका भारोत्तोलनका प्रशिक्षक भुजेलले भने अध्यक्षको कार्यादेश बिना आर्थिक कारोबार गर्न नसकिने बताउँदै आएका छन्। विगतको परम्पराअनुसार अध्यक्ष आफ्नै नाममा खाता सञ्चालन हुनुपर्ने अडानमा र बहुमत सदस्यहरू कोषाध्यक्षको नाममा खाता सञ्चालन हुनुपर्ने अडानमा रहेपछि आफू चेपुवामा परेको भुजेलको गुनासो छ।

कर्मचारीहरू भने समितिका सम्पूर्ण पदाधिकारी बसेर यथाशीघ्र समस्याको समाधान गर्नु पर्ने बताउँछन्। खाता सञ्चालनको समस्या भएपछि विगत दुई महिनादेखि कार्यालय प्रमुख भुजेलले पेस्की लिएर कर्मचारीलाई तलब खुवाउँदै आएका छन्। यसअघि पनि कर्मचारीबीच कार्यालय प्रमुख बन्ने होडबाजी चल्दा कार्यालयमा तालाबन्दी भएको थियो।

प्रशासकीय अधिकृत लक्ष्मण मण्डल कार्यालय प्रमुखको जिम्मेवारीसहित सरुवा भएर पुनः सप्तरी आएपछि १६ महिनाअघि जिल्ला खेलकुद कर्मचारी संघले पनि कार्यालयमा तालाबन्दी गरेको थियो। यसैगरी मण्डल सरुवा भएपछि पनि कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रशासकीय अधिकृत महेन्द्र यादवविरुद्ध समितिका पदाधिकारीले तालाबन्दी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.