करिब आठ करोड नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनिस अन्सारी
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोटसहित छजना पक्राउ परेका छन्।विमानस्थलका सुरक्षा प्रमुख सन्दीप भण्डारीका अनुसार सात करोड ७६ लाख ९४ हजार नक्कली भारुसहित शुक्रबार दिउँसो छजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिक र पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन नेपाली रहेका छन्।
पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर, महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो। रकम रिसिभ गर्न विमानस्थल पुगेका युनिस अन्सारी, सोयर खान र सुजन रानाभाटलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अन्सारी पटकपटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आएका व्यक्ति हुन्। तीन पाकिस्तानीले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार उनै अन्सारी विमानस्थल पुगेका थिए। 
विगत नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी शुक्रबार प्रतिबन्धित भारु दुई हजारका नोट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन्।
रकम लिएर आउने पाकिस्तानी नागरिक तीन र रकम लिन विमानस्थल पुगेका अनसारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। नक्कली नोट र लागुऔषध ओसारपसार गरेको अभियोगपछि चार वर्ष कैद सजाय काटिसकेका अन्सारी पटकपटक पक्राउ पर्दै छुटेका थिए।
अन्सारी पहिलो पटक २०६५ मा त्रिपुरेश्वरबाट २५ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। नक्कली नोट कारोबारपछि जेलपर्दासमेत उनले नक्कली नोट मगाउने गरेको रहस्य खुलेको थियो।
उनी कारागारमै हुँदा उनकै सेटिङमा २०६७ मा ४० लाख बढी नक्कली नोटसहित एकजना पक्राउ परेका थिए। अन्सारीमाथि २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो। 
प्रतिक्रिया दिनुहोस !