नेकपाको जिल्ला कमिटीमा कर्मचारीदेखि शिक्षकसम्म
![नेकपाको जिल्ला कमिटीमा कर्मचारीदेखि शिक्षकसम्म](https://annapurnapost.prixacdn.net/media/albums/Ne-Ka-Pa-Photo-1_20190527143417_QOwpT7bO8j.jpg)
बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको जिल्ला कमिटीमा शिक्षक, कर्मचारी सहित १७५ जनाले शपथ ग्रहण गरेका छन्। सोमबार एमाले महासचिव विष्णु पौडेल र प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा सपथ भएको थियो।
कमिटीमा नेपाल विद्युत प्राधिकरण बुटवलमा कार्यरत कल्पना थापाले शपथ लिएकी छन्। त्यस्तै जनता मावि फर्साटिकरमा कार्यरत शिक्षक अबिराम विक (रसाइली)ले समेत शपथ लिए। अर्की शिक्षक भगवती घिमिरेले पनि शपथ लिएकी छन्।
कर्मचारीहरू राजनीतिक पार्टीमा आवद्ध हुन नहुने हुदा हुदै पनि जिल्ला कमिटीमै शपथ लिएका हुन्। विद्युतको प्रशासनमा कार्यरत थापाले पेशगत संगठनको तर्फबाट आफूले शपथ लिएको बताइन्। ‘खुलेरै त पाइँदैन', उनले भनिन्। उनी राष्ट्रिय कर्मचारी युनियन प्रदेश ५ अध्यक्ष समेत हुन्।
शिक्षक अबिरामले सामाजिक सञ्जाल फेसबुकमै पार्टीको जिल्ला सदस्यको रुपमा शपथ खाएको बताएका छन्।
नेकपा रुपन्देहीमा पार्टी एकीकरणपछि पहिलो पटक शपथ भएको हो। १७३ जनाले सोमबार शपथ लिएका थिए। दुई पार्टीका तत्कालीन जिल्ला सदस्यसहित कमिटीमा १४ जना नयाँ अनुहार थपिएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)