फिरौतीपछि बालकको हत्या, मृतकका बावु भन्छन् : प्रहरीले आलटाल गर्दा छोरा गुमाउनुपर्याे
वीरगन्ज : वीरगन्ज महानगरपालिका–३ प्रगतीनगरबाट गत शुक्रबार अपहरित बालक करण साहको हत्या भएको भेटिएको छ ।
कबाडी सामान खरिद बिक्रीको कारोबार गर्दैआएका प्रगतीनगरका शम्भु साहका छोरा ८ वर्षीय करणको अपहरणपछि हत्या भएको हो । करणको शव बाराको कलैया उपमहानगरपालिका–२५ मा पर्ने खौरहीस्थित खोलामा हत्या गरी फालिएको अवस्थामा बुधबार बिहान बजे भेटिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
करणको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारको बेतीया स्थायी घर भइ वीरगन्जको प्रगतिनगरमा डेरामा बस्दै आएका २० वर्षीय विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ का २१ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरपाता निवासी २० वर्षीय रामविनेश महतो छन् ।
गत शुक्रबार बिहान विद्यालयबाट घर फर्किएका बालक करण अचानक बेपत्ता पारिएका थिए । उनी बेपत्ता भएकै दिन बेलुकी ९ बजेर २१ मिनेटमा नचिनेको मान्छेले बालकका बावु शम्भुलाई फोन गरी ३० लाख रुपैयाँ फिरौती मागेका थिए ।
प्रहरीका अनुसार, बालकको अपहरणपछि अपहरणकारीले शुरुमा ३० लाख फिरौती मागेको तर परिवारका सदस्यहरु त्यति पैसा नभएको भन्दै ५ लाख मात्रै दिन सहमत भएका थिए ।
फिरौती रकम दिएपछि मात्रै बालक फिर्ता दिने अडान अपहरण्कारीहरुले लिएपछि शम्भुले सोही दिन राति प्रहरीलाई खबर गरेका थिए । बालकका बावु शम्भुले प्रहरीलाई खबर गरेपछि बालकको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय पर्सा र बाराको संयुक्त टोलीले बालकको अपहरण र हत्यामा संलग्न तीनैजनालाई मंगलबार नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तीनैजनासँग प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले अपहरित बालकको कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा हत्या गरी शव फालेको बयान दिएका थिए ।
प्रहरीलाई नै झुक्याइ भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली प्रहार गरेरै अपरहरणकारीमध्येका विकास र सिकेन्द्र घाइते भएका छन् । उनीहरु दुबैलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रहरीले चलाएको गोली विकास र सिकेन्द्रको खुट्टामा लागेको छ । दुवैजनाको कलैया अस्पतालमा प्रारम्भीक उपचारपछि वीरगन्जको नारायणी अस्पतालमा थप उपचारको लागि भर्ना गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । शम्भुको घरनजिकै डेरा गरी बस्दैआएका विकास अपहरण र हत्याको मूख्य योजनाकार रहेको प्रहरीको दावी छ ।
प्रहरीले आलटाल गर्दा छोरा गुमाएँ : मृतकका बावु शम्भु
करणका बावु शम्भु साहले भने प्रहरीकै ढिलासुस्ती र लापरवाहीका कारण अपहरणमा परेका आफ्नो छोराको ज्यान जोगाउन नसकिएको गुनासो गरेका छन् ।
‘छोरा अपहरण भएको खबर पाएलगत्तै शुक्रबार राति नै मैले फोन गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराएको थिएँ । तर छोराको खोजतलाशका लागि प्रहरीले ढिलासुस्ती गरेको हो । प्रहरीको लापरवाहीबाटै अपहरणकारीले छोराको हत्या गरिदिए ।’
अपहरणकारीहरुले नेपाली मोबाइल नम्बरबाटै पटक पटक आफूलाई फोन गरेर फिरौतीका लागि धम्की दिँदैआएको बारेमा प्रहरीलाई निरन्तर जानकारी गराए पनि प्रहरीले वास्ता नगरेको शम्भुको भनाइ छ ।
‘नेपाली नम्बरकै चारवटा मोबाइलबाट अपहरणकारीहरुले फिरौतीका लागि पटक पटक फोन गरेका थिए । यस बारेमा मैले निरन्तर प्रहरीलाई खरब गर्दै आएको थिएँ । नेपाली मोबाइलबाटै फोन आउँदा पनि प्रहरीले अपहरणकारीलाई बेलैमा पक्राउ गर्न सकेन ।’
बुधबारको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले शुक्रबार अपहरणमा परेका बालक करणको सोही दिन अपहरणकारीले हत्या गरेको हुनसक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !