पानीको मूलमा अवरोध गर्दा बहिष्कार

पानीको मूलमा अवरोध गर्दा बहिष्कार

गोरखा : खानेपानी योजनाको मुहान दर्ता गर्न अवरोध गरेको भन्दै सिरानचोक–२ खमारीका खोपबहादुर बस्नेत दुई वर्षदेखि बहिष्कारमा परेका छन्। स्थानीय आमाबाउ समूहको बैठकले आफूलाई बहिष्कार गर्ने निर्णय गरेको पीडित बस्नेतको भनाइ छ।

‘तपाईंलाई बहिष्कार गरिएको छ भन्ने निर्णयको फोटोकपी ल्याएर दिएका छन्’, उनले भने, ‘कोही अटेर गरी मेरो परिवारसँग मिले ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि लेखेका छन्।’ आफूलाई गाउँमा एक्लो बनाएकाले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि न्याय नपाएको उनले सुनाए। समितिले जेठ ५ गते बोलाएको भेलामा गएर फर्किंदा केही युवाले आफू र श्रीमती डिलमाया बस्नेतलाई आक्रमण गरेको उनले बताए। ‘म भागेर बाँचें, चौकीमा गएर शरण लिएँ। बूढीलाई लछारपछार गरे’, उनले भने, ‘आँपपीपल अस्पतालमा उपचार गरेर आएकी छन्।’

खेतभन्दा माथि पानीको मुहान छ। त्यसको केही पानी सिँचाइका लागि छाडिदिनुपर्ने माग बस्नेतले गरेका थिए। सिँचाइभन्दा खानेपानी महत्वपूर्ण भएकाले कत्ति पनि नछाड्ने गाउँलेको तर्क छ। पानी विवाद जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसम्म पनि पुगेको थियो। तर, जिल्ला प्रहरीले प्रहरी चौकी हर्मी र हर्मीले न्यायिक समितिमै पठाएको चौकीका असइ केशबहादुर पौडेलले बताए।

उनका अनुसार गाउँलेले उक्त मुहानको पानी २५ वर्षदेखि अस्थायी रूपमा उपभोग गर्दै आएका थिए। नेपाल रेडक्रस सोसाइटीले पक्की संरचना बनाइदिने तयारी गरेपछि उपभोक्ताले दर्ता प्रक्रिया अघि बढाएका थिए। मूल दर्ता गर्न अवरोध गरेपछि उनलाई बहिष्कार गर्ने निर्णय गरिएको स्थानीय राजेश भण्डारीले स्वीकार गरे। ‘२५ वर्षदेखि गाउँलेले प्रयोग गर्दै आएको पानीको मूल अब दर्ता गर्न दिन्नँ भनेपछि गाउँले आक्रोशित भएर एक्ल्याउने निर्णय गरेका हुन्’, उनले भने, ‘कसैले सहयोग गरे ५ हजार जरिवाना गर्ने निर्णय पनि भएको हो।’

 तर, उचित नदेखिएकाले निर्णय सच्याएको उनले सुनाए। ‘सच्याएको व्यहोरा उहाँको परिवारलाई दिन छुटेको होला’, उनले भने। लालपुर्जामा नभएको जग्गामा रहेको मूल पनि दर्ता गर्न नदिएपछि खानेपानी आयोजना असफल भएको उनले सुनाए।

स्थलगत अध्ययन गर्न लागेका बेला कुटपिटको घटना भएकाले बस्नेत परिवारले प्रहरी गुहारेको गाउँपालिका उपाध्यक्ष रीता देवकोटाले बताइन्। ‘भोलिपल्ट स्थलगत अध्ययनमा जाने भनेर बैठक स्थगन भयो’, उनले भनिन्, ‘तर, बेलुकी कुटपिटको घटना भएर उनीहरू प्रहरी कार्यालयतिर गएछन्। त्यसपछि म भएको ठाउँमा उजुरी आएको छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.