सामाजिक सञ्जाल दुरुपयोग : ख्याल–ख्यालमै झेल

सामाजिक सञ्जाल दुरुपयोग : ख्याल–ख्यालमै झेल

काठमाडौं :  काठमाडौंमा डेरा गरी बस्ने २३ वर्षीया कल्पना (नाम परिवर्तन)को विवाह भएको १५ दिन मात्रै भयो । उनलाई फेसबुकबाट धेरैले शुभकामना दिए । तर, एक युवाले कल्पनासँग खिचेको फोटो राखेर कमेन्ट गरे । त्यसमै केहीले ‘अर्काको गलफ्रेन्ड चोरेर विवाह गर्ने’ भन्दै प्रतिक्रिया जनाए । ती युवती र उनका पतिले उक्त घटना सहन सकेनन् । उनीहरूले प्रहरी गुहारे । प्रहरीले कमेन्ट गर्ने युवाको खोजी गरिरहेको छ । तापनि, ती युवाले युवतीका आफन्तलाई पुराना फोटो पठाएर हैरान पार्न छाडेका छैनन् ।

० बागबजारमा डेरा गरी बस्ने सुजन (नाम परिवर्तन)को भेट जापानमा रहेकी एक युवतीसँग फेसबुकमा भयो । उनीहरू फेसबुकमै गफिन थाले । सुजनले म्यासेन्जरमा भिडियो कल गरे । ती युवतीले संवेदनशील अंग देखाउन भनिन् । युवकले सर्वांग नांगो भएर भिडियो च्याट गरे । तर, उनी तब छाँगाबाट खसेझैं भए जब युवतीले ५ हजार डलर नदिए गुप्तांगसहितको फोटो र भिडियो फेसबुकमा हालेर भाइरल बनाउने धम्की दिइन् । युवक प्रहरीमा पुगे । प्रहरीले फेसबुक एकाउन्ट बन्द ग¥यो । समस्या तत्काललाई समाधान भए पनि युवती जापानमै रहेकाले उनी ढुक्क हुन सकेका छैनन् ।

 पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा पुग्न ढिलाइ भइसकेको थियो । ती युवक वैदेशिक रोजगारीका लागि मलेसिया उडिसकेका छन् ।

‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन् । मन मिलेसम्म सबै कुरा गर्ने, नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’ सहकुल थापा, प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा

सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधबारे अनुसन्धान गर्दै आएको छ । महाशाखामा साउनदेखि वैशाखसम्म मात्र ४ हजार उजुरी परेका छन् । यसमध्ये प्रहरीले १ हजार ५ सय ७० वटामा मुद्दा चलाएको छ । ‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन्’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘मन मिलेसम्म सबै कुरा गर्ने र नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’

उनका अनुसार उजुरी आउने अधिकांश घटना फेसबुकसँग सम्बन्धित छन् । महाशाखाको अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ । उजुरीको ३९.९२ प्रतिशत उजुरी यो उमेर समूहले लिएर प्रहरीमा पुग्ने गरेको देखिएको छ । २० वर्षभन्दा कम उमेर समूहका किशोरकिशोरीले पनि दुरुपयोग गर्ने गरेको महाशाखाको अध्ययनले देखाएको छ । २०.५ प्रतिशत उजुरी किशोरकिशोरीको छ । यो उमेर समूहमा स्कुल र कलेज पढ्ने किशोरकिशोरी बढी छन् । ३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशतले महाशाखामा उजुरी गरेका छन् । यसमा गृहिणी, शिक्षक, वैदेशिक रोजगारमा पुगेका युवा बढी पीडित देखिएका छन् । बाँकी ७.९८ प्रतिशत ४० देखि ६० वर्ष उमेर समूहका व्यक्तिले प्रहरीमा उजुरी दिने गरेको देखिएको छ । फेसबुक ह्याक हुने, पासवर्ड बिर्सिनेजस्ता समस्या यो समूहमा देखिन्छ ।

महाशाखाका अनुसार २०७२ मा ८ सय ३०, २०७३ मा १ हजार १ सय ९७, २०७४ मा १ हजार ४ सय ८२ र २०७५ मा १ हजार ५ सय ७० वटा मु्द्दा दर्ता भएका छन् । ‘पीडितले ल्याएका सबै उजुरीको मुद्दा दर्ता नहुन पनि सक्छ’, एसएसपी थापा भन्छन्, ‘कतिपय कुरा परिवारभित्रकै हुन्छन् । त्यसमा हामीले सम्झाइबुझाइ गरी पठाउँछौं ।’ उनका अनुसार युवामाझ फेसबुक दुरुपयोगको समस्या भयावह देखिएको छ । दिएको ऋण फिर्ता नभए, चेक बाउन्स भए, फोन नउठाएजस्ता विषयमा पनि फेसबुकमा लेखेर अरूको मानमर्दन गर्ने गरेका घटनासमेत प्रहरीमा आउने गरेका छन् ।

कुन वर्ष कति मुद्दा ?

वर्ष मुद्दा संख्या

२०७२    ८३०

२०७३    ११९७

२०७४    १४८२

२०७५    १५७०

स्रोत : महानगरीय प्रहरी अपराध महाशाखा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.