‘तल्लो हेंवा’ अन्तिम चरणमा

‘तल्लो हेंवा’ अन्तिम चरणमा

फिदिम : पाँचथरको हेंवाखोलामा निर्माणाधीन ‘तल्लो हेँवाखोला जलविद्युत्’ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजना निर्माणको अधिकांश काम सकिएकाले असार महिनादेखि बिजुली उत्पादन गर्न लागिएको हो।

उक्त आयोजना सम्पन्न भएपछि मुलुकको विद्युत् प्राणालीमा २२.२ मेगावाट विद्युत् थप हुने भएको छ। ‘असारको पहिलो साता परीक्षण उत्पादन गर्ने तयारीमा छौँ’, आयोजनाका प्रोजेक्ट म्यानेजर गणेश सुब्बाले भने, ‘परीक्षण उत्पादन सुरु गरेको १५ दिनपछि व्यावसायिक विद्युत् उत्पादन सुरु हुन्छ।’ निर्धारित समयमा काम नसकिएपछि चौथो पटक थपिएको समयमा आयोजनाको कामले पूर्णता पाउन लागेको हो। अहिले टनेलको एक भागमा पानी चुहिएकाले त्यसको मर्मत भइरहेको छ। टनेल सुचारु भएपछि आयोजनाबाट बिजुली उत्पादन गर्न सकिने भएको हो।

माउन्टेल हाइड्रो नेपालको आर्थिक लगानीमा २०७१ मंसिरदेखि आयोजना निर्माण प्रक्रिया सुरु भएको थियो। आयोजना निर्माणको जिम्मा हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनी लिमिटेडले लिएको थियो। अन्तिम समयमा लगानीकर्ता र निर्माण कम्पनीबीचको विवादले आयोजनाको काम प्रभावित भएको थियो। ‘अहिले निर्माण कम्पनीलाई काम गर्न नदिएर लगानीकर्ता आफैँले काम गरिरहेको छ’, सुब्बा भन्छन्, ‘विवाद नभएको भए यसअघि नै आयोजनाबाट व्यावसायिक रूपमा बिजुली उत्पादन हुनेथियो।’

लगानीकर्तासँग आर्थिक लेनदेन र आन्तरिक विवादका कारण आयोजनाको काम प्रभावित बनेको थियो। विवादका कारण आयोजनाबाट बिजुली उत्पादनको काम नै पछाडि धेकेलिएको हो। ‘आन्तरिक लेनदेनका कारण प्रभावकारी रूपमा काम गर्न सकिएन’, हिमाल हाइड्रोका इन्जिनियर बासु भट्टराइले भने, ‘कामको भुक्तानी नपाएपछि प्रभावकारी रूपमा काम हुन नसकेको हो।’ सम्झौता अनुसार ठेकेदार कम्पनीले काम नगरेकाले उसलाई बिदा दिनुपरेको लगानीकर्ताको भनाइ छ। ‘टनेलभित्रको काममा सोचेभन्दा फरक परिस्थितिको काम आइपरेको भन्दै रकममा विवाद झिकेर काम प्रभावित गराइएको थियो’, सुब्बाले भने, ‘निर्माण कम्पनीसँग विवाद चुलिएपछि लगानीकर्ताले नै आयोजनाको कामलाई पूर्णता दिएका हौँ।’

विवादकै कारण निर्माण सुरु गरिएको चार वर्ष बितिसक्दा पनि आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको थिएन। एक वर्षअघि नै आयोजनाको काम अन्तिम चरणमा पुगेको भनिए पनि अहिलेसम्म कामले पूर्णता पाउन नसकेको हो। गत असार महिनामा काम सक्ने गरी सम्झौता भएको थियो। विवादका कारण विद्युत् उत्पादनमा एक वर्ष समय धकेलिएको हो। पावर हाउस, टनेल, पेनस्टक ट्यांक, र कन्ट्रोल रुम निर्माणको काम पूरा भएको बताइएको छ। पावर हाउसमा मेसिन जडानको काम सकिएको छ। मेकानिकल काम पनि पूरा भएको बताइएको छ। टनेलमा पानी चुहिएकाले टनेल मर्मतको काम भइरहेको हो। ‘टनेलको काम पनि पूरा भएको हो’, सुब्बा भन्छन्, ‘तर, टनेलभित्र केही प्राविधिक समस्या आएकाले मर्मत गरिरहेका छौँ।’

आयोजना सञ्चालनका लागि जम्मा ५४ सय मिटर टनेल निर्माण गरिएको हो। फिदिम नगरपालिकास्थित नागिनको ज्यामिरे खेतदेखि नागिनकै फेमे खोलाको ओडारे खेतसम्म १३ सय मिटरको टनेल र फिदिमस्थित चमेरे खोल्साबाट चार हजार मिटरको टनेल निर्माण गरिएको हो। त्यस्तै फिदिमकै सारन्ताको खर्कबारी खोल्सामा पानी पु¥याएर पावर हाउस निर्माण गरिएको छ। सुरुमा तीन अर्ब ६६ करोडको लागतमा सम्पूर्ण काम सक्ने लक्ष्य राखे पनि निर्माणमा भएको ढिलाइले चार अर्ब २५ करोडको लागतमा काम सम्पन्न भएको सुब्बाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.