सत्ताको विपक्षमा ‘योगमाया’
काठमाडौं : ‘सरकार कुम्भकर्ण हो, जगाऊँ भने निदाएको छैन। अब मानव साङ्लोको शक्ति देख्नेछ, अनि डगमगाउने छ’, दुई सय ४० जनाले भोजपुरको अरुण नदीमा सामूहिक जल समाधि गर्नुअघि योगमाया उर्फ ठूली हजुरको भूमिकामा रहेकी मिथिला शर्माले अभिनय गर्दै तत्कालीन सरकारविरुद्ध उद्घोष गर्छिन्।
जुद्धशमशेर जबराको शासनकालमै अनेक सामाजिक कुरीति र कुसंस्कारविरुद्ध योगमायाले यसरी आवाज उठाएकी थिइन्। तर अझै योगमायाले परिकल्पना गरेको धर्मराज्य स्थापित हुन सकेको छैन। र सरकार पनि डगमगाएको छैन।
नीलम कार्की निहारिकाको मदन पुरस्कार प्राप्त उपन्यास ‘योगमाया’ लाई टंक चौलागाईंले नाट्य परिमार्जन गरी निर्देशन गरे। सांग्रिला फाउन्डेसन र स्कुल थिएटर नेपालको प्रस्तुतिमा शुक्रबारदेखि गोठाले नाटकघरमा सुरु भएको योगमाया नाटक हेरेपछि दर्शकले भने, ‘आजसम्म देखिएका थुप्रै सामाजिक विकृतिविरुद्ध त्यतिबेलै योगमाया एक्ली अभियन्ता बनेर धर्मराज्य रोजेकी रहिछन्।’
गोपीकृष्णले कमिनीसँग अन्तरजातीय विवाह गरेपछि उसलाई कालोमोसो र जुत्ताको माला लगाएर जनै चुडाइदिनेसम्मका हर्कत गरेको सन्दर्भबाट नाटक सुरु हुन्छ। पुरोहितले अन्तिम मौका दिँदै भन्छन्, ‘तँ कमिनी रोज्छस् कि समाज ? ’ उसले भन्छ, ‘म प्रेम चाहन्छु।’ नाटकको अन्त्यमा सामूहिक जलसमाधिअघि समाजको अनावश्यक दबाब र थिचोमिचो सहन नसकेर उसले आत्महत्या गर्छ।
समाजको अन्याय, शोषण, बलात्कार, दास प्रथा, सती प्रथा, विदेशमा बेचिनुपर्ने बाध्यता, असमानता, छुवाछूत, भ्रष्टाचारजस्ता थुप्रै पीडाविरुद्ध योगमाया एक्लै खरो उत्रिएकी हुन्छिन्। उनी विधवा भएपछि एकाएक हराउँछिन्।
एक महिनापछि धार्मिक अभियन्ता बनेर समाज सुधार्ने अभियानमा लाग्छिन्। महिला अधिकारकर्मी बनेर उनै योगमाया (न्यौपाने) १८६० देखि १९४१ सालसम्म राणा शासनविरुद्ध लडेको विषयवस्तुलाई एक घण्टा ३० मिनेटमा जीवन्त प्रस्तुति गरिएको हो। उनलाई साथ दिने सीमित हुन्छन् जसमध्ये केहीलाई थुन्ने काम हुन्छ। योगमायाले समाजमा परिवर्तन गर्न नसकेको भन्दै जलसमाधि लिने दृढ निश्चय गरेपछि बाँकी पनि सबै विरूप समाजमा बस्न नसक्ने भन्दै अरुण नदीमा आत्मदाह गर्छन्।
नाटकको विषयवस्तु र प्रस्तुतिले अधिकांश समय दर्शकको मन कुड्याउँछ। पात्रहरूको जीवन्त प्रस्तुतिले रुवाउँछ पनि। तर एकोहोरो निरसमात्र बनाउँदैन, बेलाबखत हँसाउने हैसियत पनि राखेको छ। यसमा नाट्य परिमार्जन तथा निर्देशक टंक चौलागाईंको क्षमता झल्कन्छ।
सबै पात्रले नाटकलाई न्याय गरेका छन्। मूल अभिनयमा रहेकी मिथिला शर्माले योगमायाको भूमिका जीवन्त बनाएकी छन्। योगमायाको भूमिका शर्माले निभाउनुले पनि नाटकको गरिमा बढेको छ। नाटकमा प्रयोग गरिएका संवादले दर्शकको मन सहजै जित्छ। मान्छेलाई भने सधैं मायाकै खडेरी पर्दोरहेछ।
भैंसीले आफ्नै सिङको भारी मान्न थाले भने चल्दो हो र ? कसैले सेतोलाई कालो देख्छ कसैले सेतै पनि देख्छन् नि। धर्मको बाटोमा उही हिँड्न सक्छ जो अरूको भलो गर्न सक्छ। मान्छेले मान्छेलाई नचिनेपछि कसको के लाग्छ ? हाम्रो एउटै जात छ त्यो हो मानव। यस्ता संवाद र तिनको दमदार प्रस्तुतिले दर्शकलाई जुरुकजुरुक बनाउँछ।
नाटकको कारुणिक पक्ष योगमायापछि उनकी छोरी र केही समयपछि भाइको मृत्युले बुहारीसमेत विधवा हुनुमा देखिएको छ। बालविवाह गर्दिएकी योगमाया ज्वाईं मरेको खबरसँगै कलिली छोरी सेतो लुगामा देख्दा पनि विचलित हुन्नन्। भन्छिन्, ‘जब छोरी विधवा भई तब मेरो ज्ञानका आँखा खुले। जबकि आफू विधवा भएर पनि बालविवाह गर्दिएँ।’ छोरीलाई बिहे गर्दिन्छु भन्दा छोरी भन्छिन्, ‘आमा अब म सन्न्यास लिन चाहन्छु।’ यी र यस्ता थुप्रै सन्दर्भमा दर्शकले आँसु खसाए। नाटक सकिएपछि पनि मन थाम्न नसक्ने दर्शकलाई आधार मान्ने हो भने नाटक सफल भएको छ, मन जितेको छ।
निर्देशक टंक भन्छन्, ‘महिलाका विषयमा काम गर्ने इच्छाको निरन्तरता हो योगमाया जुन टिमवर्कले सम्भव भएको हो।’ लेखिका निहारिकाले शासनहरू फेरिए, दु:खद् सत्य–जनताका कहर यथावत नै रहेका कारण योगमाया आज पनि जीवन्त रहेको बताइन्। उनले भनिन्, ‘आजसम्म योगमायाको धर्म राज्य अर्थात् सुशासन स्थापना नभएकाले योगमायाका आवाजहरू समाजमा प्रिय बनिरहेका हुन्।’ नाटक असार १६ गतेसम्म हरेक साँझ देखाइनेछ।