विश्वकप क्रिकेट : आयोजक इङ्ल्यान्डसँग वेस्ट इन्डिज आठ विकेटले पराजित
लन्डन : आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत शुक्रबार भएको खेलमा आयोजक इङ्ल्यान्ड विजयी भएको छ। एकपक्षीय खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्डले विश्वकपमा तेस्रो जित निकालेको हो।
साउथह्याम्पटनस्थित रोज बल रंगशालामा वेस्ट इन्डिजले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा दुई सय १३ रन बनाउँदै जित हात पार्यो।
इङ्ल्यान्डको जितमा जोए रुटले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरे। वेस्ट इन्डिजका सिम्रन हेटमायर र कप्तान जासन होल्डरको महत्वपूर्ण विकेट लिएका उनले ब्याटिङबाट पनि शतकीय पाली खेले। ९४ बलको सामना गरेका उनले ११ चौका प्रहार गरे। इङ्ल्यान्डका जोनी बेयरस्टले ४५, क्रिस वाक्सले ४० र बेन स्टोक्सले १० रन बनाए। वेस्ट इन्डिजका सानन् गाब्रियलले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले खराब प्रदर्शन गरेको थियो। वेस्ट इन्डिज ४४.४ ओभरमा दुई सय १२ रनमा समेटिएको थियो। टोलीको खातामा चार रन मात्र रहेको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान इभिन लेविसलाई गुमाएको वेस्ट इन्डिजले त्यसपछि पनि लगातार विकेट गुमाएको थियो। लेविसले टोलीको खातामा दुई रन मात्र थप्न सके।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले अर्धशतकीय पाली खेले। एक छेउबाट लगातार विकेट गुमाइरहेको अवस्थामा पुरनले ६३ रनको महत्वपूर्ण पाली खेले। उनले ७८ बलमा एक छक्का र तीन चौका हिर्काए। यसैगरी सिम्रन हेटमायरले ३९, प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले ३६, आन्द्रे रसेलले २१, कार्लोस बेथवेटले १४ र साइ होपले ११ रन बनाए।
वेस्ट इन्डिजलाई कम योगफलमा समेट्न इङ्ल्यान्डका जोफरा आर्चर र मार्क उडले तीन÷तीन विकेट लिए। यसैगरी जोए रुटले दुई तथा क्रिस वाक्स र लियाम प्लुनकेटले एक÷एक विकेट हात पारे।
जारी विश्वकपमा इङ्ल्यान्डको तेस्रो जित हो। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको थियो। तेस्रो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई एक सय ६ रनले हराएको थियो। इङ्ल्यान्डले चार खेलबाट ६ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
यसैगरी आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हराएको वेस्ट इन्डिज दोस्रो खेलमा अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो। वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको तेस्रो खेल भने वर्षाका कारण रद्द भएपछि एक-एक अंक बाँड्न बाध्य भएको थियो। अंक तालिकाको छैटौं स्थानमा रहेको वेस्ट इन्डिजले चार खेलबाट तीन अंक जोडेको छ।