स्थानीय तहको बजेट : शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा
धनकुटा : धनकुटाका स्थानीय तहहरु यतिबेला आगामी वर्षका लागि योजना तथा कार्यक्रम निर्माणको तयारीमा जुटेका छन्। असार १० गतेभित्र नगर तथा गाउँ सभाबाट आगामी वर्षको योजना तथा कार्यक्रम ल्याउँदैछ। वडाले टोलवस्ती तर्जुबाट ल्याएका योजनाको विषयमा वडासभाबाट छलफल गरी कार्यपालिका तथा गाउँपालिका वैठकमा छलफल चलिरहेको छ।
सातवटा स्थानीय तहले आागमी बजेटमा शिक्षा, स्वास्थ्य तथा कृषिमा लगानी बढाउँदैछन्। सडक पूर्वाधारमा बजेट विनियोजन गर्ने भनिए पनि आगामी वर्ष नयाँ ट्रयाकमा लगानी भन्दा पनि बाह्रैमास सडक सञ्चालन हुने गरी स्तरोन्नती गर्ने जनप्रतिनिधि बताउँछन्। सहिदभूमि गाउँपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउने अध्यक्ष मनोज राईले बताए।
विद्यार्थी पठनपाठन गर्न व्यवस्थित कक्षा कोठाको भवन निर्माणसँगै शैक्षिक गुणस्तर उकास्ने खालका योजना, कृषकहरुलाई व्यवसायीक उत्पादनतर्फ प्रोत्साहन, गाउँका स्वास्थ्य संस्थाबाट सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनले बताए। वित्तिय समानीकरण, ससर्त अनुदान, राजश्वबाट गरी आगामी आवको लागि करिब २९ करोड बजेट रहेको छ। वडाले छनोट गरेका योजनाबारे गाउँपालिकामा छलफल भएर आगामी १० गतेभित्र गाउँसभामा प्रस्तुत हुने योजना तथा कार्यक्रमको अन्तिम टुंगो लाग्ने अध्यक्ष राईको भनाइ छ।
यसैगरी छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले वडागत सिलिङ र विषयगत सिलिङहरु निर्धारण गरिसकेको बताए। वडाले टोल–टोलमा पुगेर योजना संकलन गर्ने कामसमेत गरिसकेको छ। वडा र विषयगत कार्यालयलाई मार्गदर्शन निर्धारण गरिएको उनले बताए। उनले भने ‘कृषिका कार्यक्रम, विगतमा सञ्चालन भएर अधुरो रहेका योजनाहरुलाई पूरा गर्ने कार्यक्रमहरु आगामी वर्षको बजेटमा समेटिने छन्।’
शैक्षिक गुणस्तर बढाउन आधारभुत तहदेखि अंग्रेजी पाठ्यक्रमको पठनपाठन, शिक्षक र शैक्षिक सामग्री व्यवस्थापन, वास्थ्य संस्थालाई उपकरणयुक्त बनाउने योजना प्राथमिकतामा परेका छन्। यस्तै कृषि र पशुमा लगानी बढाउँदै व्यवसायीकरण गर्दै साना तथा मझौला उद्योगका लागि पनि कार्यक्रम राखिने उनको भनाइ छ। पाख्रिवास नगरपालिकाको आगामी आर्थिक वर्षको लागि करिव १९ करोड रुपैयाँ बजेट रहेको छ। पाख्रिवास नगरपालिकाले आागमी वर्ष भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिने नगरप्रमुख बिर्खबहादुर राईले बताए।
‘यो नगरपालिकाको सम्भावना भनेको कृषि र पर्यटन नै हो’ उनले भने ‘तर पूर्वाधार नहुँदा कृषिजन्य वस्तु बजारसम्म ल्याउन सहज छैन। त्यसैले हामीले अहिले पनि पूर्वाधारलाई नै प्राथमिकतामा राखेका छौं। अरु त नियमित योजनाहरु समेटिने नै छ। महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले पनि आगामी बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेका छन्। साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याख्याले स्थानीय तहको बजेटले मात्रै नपुग्ने भएकाले ठूला योजना निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिने बताए।
जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य र शिक्षालाई नै प्राथमिकतामा राखेर बजेट ल्याउन लागेका छन्। नागरिकको आधारभूत आवश्यकता पूर्ति भएमात्रै समृद्धि सम्भव भएको भन्दै यी विषयहरु प्राथमिकतामा राखिएको जनप्रतिनिधिहरुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !