छोरीलाई १० हजार, भैंसीलाई भत्ता
![छोरीलाई १० हजार, भैंसीलाई भत्ता](https://annapurnapost.prixacdn.net/media/albums/junichade_20190628062821_mQ6vTH8rlV.jpg)
जाजरकोट : जुनीचाँदे गाउँपालिकाले अब छोरी जन्मिनेबित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ। गाउँपालिकाले सार्वजनिक गरेको ०७६/७७ को नीति तथा कार्यक्रममा यस्तो वयवस्था गरिएको हो।
‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने प्रत्येक छोरीको नाममा गाउँपालिकाले निःशुल्क बैंक खाता खोलेर १० हजार रुपैयाँ बचत गरिदिने घोषणा गरेको छ। छोरी भएमा गर्भमै भ्रुणहत्या गर्ने प्रवृत्ति बढेपछि छोरी बचाऊँ, छोरी बढाऊँ अभियान सञ्चालन गरी अभिभावकबीच चेतनामूलक कार्यक्रम गर्ने नीति लिइएको छ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीका अनुसार लैंगिक रूपमा छोरीलाई विभेद गर्ने, छोरीलाई नपढाउनेजस्ता रुढीवादी संस्कार तोड्न पालिकाले छोरी सुरक्षा कार्यक्रम ल्याएको हो। छोरीको बैंक खातामा रकम जम्मा हुँदा आर्थिक रूपमा सुरक्षित भई अध्ययनमा अग्रसर हुने उनको भनाइ छ। बंैक खातामा रकम जम्मा गर्दा अभिभावकले समेत छोरीलाई माया गर्ने र लैंगिक विभेद अन्त्य हुने गाउँपालिकाको अपेक्षा छ।
गाउँपालिकामा रहेका कक्षा ३ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई निःशुल्क पोसाक, झोला तथा पाठ्यपुस्तक वितरण गर्ने कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ। गाउँमा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई पनि प्रोत्साहनस्वरूप वार्षिक १० हजार रुपैयाँ दिने बजेटमा व्यवस्था छ।
यसैगरी, जुनीचाँदेमा भैंसीपालन व्यवसायलाई प्रवद्र्धन गर्न ‘एक कृषक, एक भंैसीपालन’ कार्यक्रम सञ्चालन गरी सुत्केरी भैंसीलाई १६ सयका दरले प्रोत्साहन रकम दिने बजेटमा व्यवस्था छ।
व्यावसायिक रूपमा पशुपालन गर्ने कृषकलाई भंैसी पालन तथा बाख्रापालनका लागि गाउँपालिकाले ६० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाएको गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले बताइन। उनका अनुसार सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरी प्रत्येक सुत्केरी आमा तथा बच्चालाई न्यानो कपडा प्याकेज, आयोडिन नुन, लोकल कुखुरा तथा तोरीको तेल वितरणका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)