प्रदेश ५ मा सामुदायिक अब्बल

प्रदेश ५ मा सामुदायिक अब्बल

बुटवल : एसईईको नतिजामा सामुदायिक विद्यालयको नतिजा देशभर कमजोर देखिएको छ। तर रुपन्देहीका कतिपय सामुदायिक विद्यालयको नतिजा निजीभन्दा अब्बल छ। विद्यालय व्यवस्थापनमा चुस्तता अपनाइएकाले एसईई नतिजामा रुपन्देहीका केही विद्यालय मुलुककै लागि नमुना सावित भएका छन्।

कालिका मानवज्ञान माविले एसईईमा उत्कृष्ट नतिजा निकालेको छ। विद्यालयकी छात्रा सविना सुवेदीले चार जीपीए ल्याएकी छन्। उनी मात्रै होइन यस विद्यालयका अन्य विद्यार्थीको पनि ग्रेड राम्रो छ। कालिका त्यही विद्यालय हो जसले केही वर्षअघि एसएलसीमा २० प्रतिशत विद्यार्थी पनि पास गर्न नसकेर कारबाही भोगेको थियो। पछिल्ला वर्षमा भने राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै आएको छ।

शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर विद्यालयले आफ्नो पुरानो छवि परिवर्तन गरेको छ। ‘विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर नयाँ ढंगले पठनपाठन गराउँदै आएका छौं’, विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले भने, ‘शिक्षकको मेहनतले विद्यार्थीको सिकाई उपलब्धि बढ्दै गएको हो।’

कालिका माविबाट यसवर्ष ३ सय ७१ विद्यार्थी एसईईमा सहभागी थिए। तीमध्ये १ सय १८ जनाले जीपीए ३.६ भन्दामाथि ल्याएका छन्। यो रुपन्देहीका ए ग्रेडका निजी विद्यालयको भन्दा अब्बल नतिजा हो। साधारण र प्राविधिक विषय चलाएको यस विद्यालयको शैक्षिक गुणस्तरकै कारण विद्यार्थीको संख्या पाँच हजारभन्दा धेरै छ।

रुपन्देहीका सामुदायिक विद्यालयमा पढ्न सैयौं विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने गरेका छन्। यस्तो स्थिति अन्य जिल्लामा सायदै होला।

रुपन्देहीकै कान्ति मावि, नवीन औद्योगिक कदरबहादुर रीता मावि, शान्ति नमुना मावि पनि चलेका निजी विद्यालयलाई पछि पार्ने विद्यालय हुन्। बुटवलको कान्ति माविका अभिषेक कर्ण र एलन रानाले ३ दशमलव ९५ जीपीए प्राप्त गरेका छन्। कान्तिकै धनिश्वर भण्डारी, लक्ष्मी पौडेल, इशा रेग्मीले ३ दशमलव ९ जीपीए ल्याए। कान्ति बुटवलको पुरानो विद्यालय हो। उत्कृष्ट नतिजा दिएकाले यो विद्यालयमा पनि विद्यार्थी थेग्न मुस्किल छ। ‘विद्यार्थी केन्द्रित शैक्षिक क्रियाकलापले सिकाई उपलब्धि सुधार भएको हो’, विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले भने। कान्तिबाट एसईईमा सहभागी २१५ जना विद्यार्थीमध्ये अधिकांशको जीपीए राम्रो छ।

तिलोत्तमाको मणिग्रामस्थित शान्ति नमुना माविबाट ३३८ विद्यार्थी सहभागी थिए। जसमध्ये २८ जना ए प्लस नतिजा ल्याएका छन्। छात्रा दिया पाण्डेको ३ दशमलव ९ जीपीए आएको विद्यालयले जनाएको छ। कुनै समय सुकुम्बासी वस्तीका विपन्न समुदायका विद्यार्थी मात्रै पढ्ने यो विद्यालयमा अहिले निजी छाडेर जाने धेरै छन्। समुदाय नै विद्यालय उत्कृष्ट बनाउनुपर्छ भन्ने अभियानमा जुटेपछि शान्ति नमुनाको शैक्षिक गुणस्तर फेरिएको हो। प्रधानाध्यापक कुलप्रसाद लामिछाने विद्यालय सुधारको जस अभिभावकलाई दिन्छन। ‘अभिभावकले नानीबाबु पढ्ने विद्यालयमा चासो दिने हो भने शैक्षिक गुणस्तरमा सुधार हुन्छ’, उनले भने।

भैरहवाका भानु मावि पनि अब्बल विद्यालयमा गनिन्छ। त्यस्तै बुटवलको नबिन औद्योगिक विद्यालय पनि समुदायकै सक्रियतामा सुधारिएको हो। यस विद्यालयको नतिजाले पनि निजी विद्यालयलाई टक्कर दिएको छ। एसईईमा १० जना विद्यार्थीले ए प्लस नतिजा ल्याएका छन्। पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाका अनुसार प्रधानाध्यापक, व्यवस्थापन समिति र अभिभावकको चासो भयो भने विद्यालय सुधारमा समस्या हुँदैन। तर रुपन्देहीका दक्षिणी क्षेत्रका कतिपय विद्यालयको अवस्था अझै कम्जोर छ।

रुपन्देही सँधै अब्बल

विद्यालय तहको शिक्षामा रुपन्देहीले अब्बल नतिजा निकाल्दै आएको छ। ०५६ सालको एसएलसीमा रुपन्देहीले बोर्ड फस्ट ल्याएको थियो। २० वर्षपछि एसईईमा पनि रुपन्देहीका १० विद्यार्थीले जीपीए ४ प्राप्त गरेका छन्। सामुदायिकको उत्कृष्ट ग्रेड भने यो वर्षमात्रै हो। रुपन्देहीबाट कालिका मानवज्ञान, देवदह बोर्डिङ र सिद्धार्थ बोर्डिङका एक÷एक जना र न्यू होराइजनका सात जनाले ४ जीपीए प्राप्त गरेका हुन्। गत वर्ष पनि रुपन्देहीका सात जनाले ४ जीपीए ल्याएका थिए।

०५६ सालमा रुपन्देहीका विद्यार्थी मनोज बोहोरा एसएसलीमा नेपाल प्रथम बनेका थिए। मनोजले एसएसली टप गरेको २० वर्ष पुग्यो। त्यसयता रुपन्देहीले विद्यालय तहको शैक्षिक विकासमा ठूलो फड्को मारेको छ। ०५६ यता रुपन्देहीले एसएलसीमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। ०५६ पछि ०५८ मा बोर्ड सेकेण्ड पवन शर्मा र ०५९ मा वोर्ड फस्ट विशाल ज्ञवाली पनि रुपन्देहीको होराइजनका विद्यार्थी हुन्। ०६० मा एभरेष्टका विशाल खनाल पनि बोर्ड फस्ट बनेका थिए।

०६२ सालमा बोर्ड फस्टको घोषणा रोकिए पनि रुपन्देही उत्कृष्ट हुने क्रम रोकिएको छैन्। १७ औं वर्ष अर्थात ०७३ सालमा रुपन्देहीका दुई जना विद्यार्थीले जीपीए ४ ग्रेड ल्याए। जीपीए ४ ग्रेड ल्याउने मुलुकका तीन विद्यार्थीमा रुपन्देहीकै हुनुले पनि यो क्षेत्रको शैक्षिक गुणस्तर अब्बल छ भन्ने देखिन्छ। ०७३ मा रामापुर रिभाइवलका आदर्श पाण्डे र आवर पिसल्याण्ड एकेडेमीका निशान्त पाण्डेले ४ जीपीए ल्याएका थिए। ०७२ मा पनि रुपन्देहीकै सुनगाभा पब्लिक माविकी समिक्षा सुवेदीले ४ जीपीए प्राप्त गरेकी थिइन्।

यसबीचमा रुपन्देहीका झण्डै दर्जन विद्यार्थी एसएलसी वा एसईईमा पहिलो÷दोस्रो भएका छन्। यस्तो नजिता निजी विद्यालयमा मात्रै होइन, सामुदायिकमा पनि छ। न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय भन्छन, ‘रुपन्देहीले शैक्षिक विकासमा ठूलै छलाङ मारेको छ। यहाँ विद्यालय र विद्यार्थी संख्या मात्रै होइन, गुणस्तर पनि बढेको छ।’

शैक्षिक गुणस्तर विकासमा सामुदायिक विद्यालयमा जागरण चलेको छ। पछिल्लो दश वर्षमा सामुदायिक विद्यालयको गुणस्तरमा निकै बृद्धि भएको छ। यहाँ सामुदायिक विद्यालयमा पढ्न पाउँ भन्दै सैयौं विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने गरेका छन्। यस्तो स्थिती अन्य जिल्लामा सायदै होला। शान्ति नमुनाकी विद्यार्थी भावना अर्याल छात्रातर्फ नेपाल प्रथम र बोर्डमा द्धितीय भएकी थिइन्।

०७१ र ०७२ मा प्राविधिक तर्फ उत्कृष्ठ बनेको कालिका मावि ०७३ मा सबै तर्फ उत्कृष्ट बन्न सफल भयो। बुटवलकै कान्ति मावि प्रदेश ५ मा उत्कृष्ठ हुँदै पुरस्कृत पनि भइसकेको छ। ‘उत्कृष्ठ नतिजा ल्याएकाले कालिकाले तीन वर्ष मुलुकमै उत्कृष्ट विद्यालयको सम्मान पायो’, प्रधानाध्यापक पाठक भन्छन, ‘पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तरमा धेरै सुधार आएको छ।’ विद्यालय तहको गुणस्तर बृद्धि भएकै कारण प्रदेश ५ को शैक्षिक केन्द्रका रुपमा बुटवललाई लिन थालिएको छ। विद्यालयदेखि उच्च तहमा पनि बुटवल उत्कृष्ट ठहरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.