फर्किए यार्सा संकलक

फर्किए यार्सा संकलक

जाजरकोट : नलगाड–३ करुवाका २० वर्षीय केशर पुन डोल्पाका विभिन्न पाटनमा यार्सा टिप्न जान थालेको सात वर्ष भयो। हरेक वर्ष ५० हजारभन्दा बढी पैसा कमाएर आउने उनी यसपालि पाटनबाट रित्तो हात घर फर्किएका छन्। महिनौं दिन डोल्पाकोे कागमारा पाटनमा यार्सा खोजे पनि अन्त्यमा रित्तै फर्किनुपर्दा निकै निरास मुद्रामा भेटिएका उनले बाटो खर्च जुटाउन मुस्किल परेको बताए।

पाटन जाँदा लगेको बाटो खर्चको रकम सकिएपछि पाटनमै ऋण सापटी गरेर घर फर्किन बाध्य भएको उनको भनाइ छ। उनले भने, ‘एक जनालाई १०/१२ हजार रुपैयाँ खान खर्च लाग्छ तर त्यत्ति कमाइ पनि भएन, भेटिएका यार्सा पनि हिमपात र अत्यधिक चिसोले तुरुन्तै कालो भएर मूल्य गुम्यो।’

उनका अनुसार गत वर्ष प्रतियार्र्सा सात सयसम्म बिक्री गर्ने गरेका यार्सा संकलनकर्ता यस वर्ष मूल्य घटेर दुई सयसम्म प्रतियार्सा बेच्न बाध्य भए। धेरै पैसा कमाएर ल्याउने अनि सजिलै घरखर्च चलाउने उद्देश्यले एक महिना डोल्पाको पाटन बसेकी नलगाड–३ करुवाकी ४० वर्षीया देउसरा बुढा पनि रित्तो हात फर्किएकी छन्। ‘पाटनमा निकै चिसो हुने रहेछ, १५ रुपैयाँको चाउचाउलाई सय रुपैयाँमा किन्नुपर्ने’, उनले भनिन्, ‘त्यस्तो अवस्थामा मैले यार्सा खोज्न सकिनँ, निकै गाह्रो भो, पैसा कमाउने भनेर गएकी उल्टै बिरामी परेर आएँ।’

केशर र देउसरा मात्र होइन, यार्सा टिपेर मनग्ये आम्दानी गर्ने सोच बनाएर पाटन गएका यहाँका धेरै मानिस यसपटक रित्तै घर फर्कन बाध्य भएका छन्। यार्सा टिप्नकै लागि जाजरकोटका बारेकोट, कुशे र नलगाड नगरपालिकाबाट १० हजारभन्दा बढी मानिस एक महिनाअघि डोल्पाका विभिन्न पाटन पुगेका थिए। कोही फर्कंदै छन्। कोही जेठ अन्तिम साता फर्किसके।

नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले भने, ‘एक महिनामै कतिपयले यार्सा टिपेर वर्षदिनका लागि घरखर्च जुटाउँथेँ तर यसपालि चिसोले यार्सा पाउन नसकेर रित्तै फर्किनुले थप पीडा भएको छ।’ पाटनमा यार्सा टिप्न जाँदा जाजरकोटका पाँच जनाले यस वर्ष अकालमा ज्यान गुमाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.