ललितपुर नियाल्दै जापानी मन्त्री
ललितपुर : नेपालका लागि जापानका राजदूत मासामीची साईगो तथा जापानी सहायकमन्त्री हिदेयुकी तानाकाले पाटनको हिरण्यवर्ण महाविहारमा मुसाले बिरालो लखेट्ने कथा चासोपूर्वक सुने। आइतबार ललितपुरको बुङमतीमा बिहानै रोपाइँ हेरेर, स्थानीयसँग मकै र ओखलमा बनाएको चिउरा चाख्न भ्याएका उनीहरू मध्याह्न हिरण्यवर्ण महाविहार आएका थिए।
जापान सरकारको सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदा अवलोकन गर्ने क्रममा उनीहरू यहाँ आएका हुन्। ललितपुर महानगरपालिकाका सम्पदा सल्लाहकार प्रफुल्लमान सिंहले जापानी प्रतिनिधिमण्डललाई बाह्रैाँ शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार मन्दिरको कथा सुनाएका थिए। कथामा लिच्छकालका राजा भाष्करदेव वर्माले सुनको मुसाले बिरालो लखेटेको सपना देखेका किंबदन्ती छ। उनको सपनापछि मात्र हिरण्यविहारको निर्माणका लागि स्थान तय भएको विश्वास गरिन्छ। विहारको चारकुनामा मुसाको आहारको लागि प्रत्येक रात चामल छर्ने परम्परा अहिले पनि छ।
मन्दिरमा लामो समय पूजामा संलग्न रहेका ईन्द्र बज्राचार्यका अनुसार हिरण्यविहारमा धेरै मुसा भए पनि बिरालो कहिले आउँदैन। ‘बिरालो आउनै सक्दैन’ बज्राचार्यले भने, ‘मुसाले बिरालो खेदाउँछ, यो विहार मुसाको किल्ला हो।’ यसलाई एउटा दैवीशक्ति रूप भएको सुनाए। पाटन दरवार हेरचाह तथा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलको अनुसार पाटनका व्यापारीहरू तिब्बत आउजाउ गर्थे। उनीहरूले कमाएर ल्याएको पैसाले हिरण्यवर्णविहार बनेको हो। ‘सुनले बनेको कारण उक्त विहारको नाम हिरयण्वर्ण विहार भनिएको हो’ प्याकुरेलले भने, ‘उक्त विहार ललितपुरको सबै भन्दा पुरानो र धनी छ।’ यहाँ नवैाँ र दशौं शताब्दीका मूर्तिहरू रहेको बताए। ०७२ को भूकम्पले विहारको सत्तलमा क्षति पुर्याएको छ। भूकम्पअघि धेरै पटक मर्मत भइसकेको प्याकुरेलले जानकारी दिए।
जापानी टोलीसँग सम्पदा अवलोकनमा रहेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जापान सरकारले सम्पदा निर्माणमा पहिलादेखि नै सहयोग गर्दै आएको जानकारी दिए। बुङमतीमा पहिलादेखि नै जापानले सहयोग गरेको उनले सुनाए। युएन ह्याबीट्याटसँगको सहकार्यमा बुङमतीमा पुनर्निर्माण भइरहेको जानकारी दिए। पुनर्निर्माणको हिसाबले काठमाडैाँ र भक्तपुरमा भन्दा ललितपुरमा सम्पदा निर्माण धेरै भइसकेकाले उनीहरू खुशी भएको महर्जनले बताए।
सम्पदा अवलोकनमा आएका जापानी प्रतिनिधिले सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने सोझै बचन नदिए पनि घुमाउरो शैलीमा जापान सरकारको सहयोग निरन्तरमा रहने भन्न नछुटाएको मेयर महर्जनले जानकारी दिए। पाटनदरबार स्वायर क्षेत्रमा लामो समयदेखि पुनर्निर्माणमा लागेका काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टका कन्ट्री डाइरेक्टर रोहित रञ्जितकारले दरबार क्षेत्रमा भइरहेका पुनर्निर्माणका बारेमा जापानी प्रतिनिधिमण्डललाई अवगत गराएका थिए।
प्रतिक्रिया दिनुहोस !