राष्ट्रपति सिको नेपाल भ्रमण कहिले ? ज्ञवाली–वाङ वार्तामा परामर्श

राष्ट्रपति सिको नेपाल भ्रमण कहिले ? ज्ञवाली–वाङ वार्तामा परामर्श

बेइजिङ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सि चिनफिङको स्वागत गर्न नेपाल आतुर रहेको सन्देश चिनियाँ समकक्षी वाङ यीसँग दोहोर्‍याएका छन्। ‘उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिएर सम्बन्ध थप मजुबत बनाउनेमा दुवै पक्ष सहमत छन्’, बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

ताल्यानमा आयोजित गृष्म डाभोस मञ्चमा सहभागी हुन आइतबार चीन आएका ज्ञवाली बुधबार बिहान बेइजिङ आएलगत्तै समकक्षी वाङसँग भेटेका हुन्। भेटमा नेपाल–चीन सम्बन्धका सबै पक्षमा छलफल भएको जानकारी दिइएको छ। वार्ता बुधबार बेइजिङस्थित ‘ग्रेट हल अफ पिपुल’ मा भएको थियो।

दुईपक्षीय सम्बन्ध थप सुदृढ र अन्तरक्रियात्मक बनाउन छलफल भएको जानकारी दूतावासले दिएको छ। ‘अति व्यस्तताबीच चिनियाँ विदेशमन्त्री वाङसँग मेरो भेटवार्ता निकै उपलब्धिमूलक रह्यो’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘राष्ट्रपति सिको नेपाल भ्रमण र यसअघि गरिएको निमन्त्रणा स्मरण गराउने काम भएको छ।’

नेपालले लामो समयदेखि चिनियाँ राष्ट्राध्यक्ष सीको भ्रमणको प्रतीक्षा गरिरहेको उनले वाङमार्फत दोहो‍र्‍याएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बेइजिङ आउँदा पनि चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणमा निम्त्याएकी थिइन्।

नेपाल–चीनबीच बीआरआई अन्तर्गतका परियोजना, रेलको सम्भाव्यता अध्ययन, तातोपानी नाका सञ्चालन नभएको साथै यसअघिका सम्झौताको प्रगतिमा समकक्षी वाङसँग छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘राष्ट्रपतिको बेइजिङ भ्रमणमा भएका छलफलको पनि समीक्षा भयो।’ दुई देशबीचको सम्बन्ध सहयोग तथा आपसी हितका आधारमा अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा साटासाट भएको बताइएको छ।

भूकम्पपछि सुचारु तातोपानी नाका अझै सञ्चालनमा आउन नसकेको विषय वार्तामा उठेको छ। भेहिकल मुभमेन्ट मात्र भनिएको र त्यसका लागि सहकार्य नहुँदा नाका सहज सञ्चालनमा आउन नसकेको बताइएको छ। यसलाई कसरी पूर्वावस्थामा सुचारु गर्ने छलफल भएको एक अधिकारीले जानकारी दिए।

नेपाली दूतावासले बुधबार गरेको अन्तरक्रियामा मन्त्री ज्ञवालीले नेपाली समुदायसँग नेपालको विकास र प्रक्रियाबारे छलफल गरेका थिए। उनले ‘ब्रेन गेन सेन्टर’ मार्फत सरकारले विदेशमा रहेको नेपाली समुदायलाई देश विकासमा समेट्न खोजेको बताए। उनले नेपालमा लगानी गर्न चिनियाँहसँग आग्रह गर्दै नेपाल भ्रमण वर्षलगायतबारे जानकारी दिए।

ताल्यानबाट बेइजिङ आएका उनले राजनीतिक भेटघाट पनि गर्ने छन्। उनी शुक्रबार स्वदेशह फर्कने बताइएको छ।

मुख्यमन्त्रीहरू पनि चीनमै

प्रदेश ३ र ५ का मुख्यमन्त्री पनि चीनमा छन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको सछुवान (सिचुवान) प्रान्तका राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्दै भगिनी सम्बन्ध जोडेका छन्। मुख्यमन्त्री पोखरेल र सछुवान प्रान्तका गभर्नर यीन लीले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरे। चीन र भारतसँग सीमा जोडिएको महत्वपूर्ण प्रदेश मानिन्छ प्रदेश ५ लाई।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीनमा नै छन्। उनी नेतृत्वको प्रतिनिधिमण्डल गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा त्यहाँ पुगेको हो। चीनको लाम्झाउमा असार १९–२३ चल्ने ‘पच्चीसौं चाइना लाम्झाउ इन्भेस्टमेन्ट ट्रेड फेयर’ को उद्घाटनमा सहभागी हुन उनी चीन आएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.