रावी पार
दर्शन सिंहका पिताको घरमै मृत्यु भयो। आमा गुरुद्वारा भत्किँदा मरिन्। त्यति नै बेला साहनीले जुम्ल्याहा छोरा जन्माइन्। रुनु कि हाँस्नु, ऊ अन्योलमा थियो। भाग्यले ऊप्रति अनौठो खेल खेलेको थियो। एक हातले लिएको थियो, अर्को हातले खोसेको थियो।
स्वतन्त्रता आउँदै थियो भन्ने कुरा उनीहरूले बुझिसकेका थिए। तर उनीहरूलाई थाहा थिएन, त्यो लयालपुर कहिले आइपुग्नेछ। हिन्दु र सिखहरू लुकीचोरी गुरुद्वारामा भेला हुन थालिसकेका थिए। साहनीलाई व्यथा लाग्न थालेको थियो। उनी दिनरात चिच्याउँथिन्। उनको पहिलो अनुभव थियो।
दर्शन सिंह नयाँ नयाँ अफवाहहरू लिएर आउँथे।
उनका पिता ढाडस दिन्थे, ‘केही हुन्न नआत्तिऊ, छोरा। के कुनै पनि हिन्दु अथवा सिखको घरमा अहिलेसम्म हमला भएको छ ? ’
‘तर बुवा, गुरुद्वारामा त दुईपटक आगो लगाइदिइसके’, दर्शन भन्थे।
‘तैपनि तिमीहरू त्यहीँ शरण लिन खोज्छौ।’
दर्शन सिंह यो कुरा सुनेर चुप लाग्थे। तैपनि मानिसहरू घरबार छाडेर गुरुद्वारामा शरण लिन छाडिरहेका थिएनन्।
‘मानिसहरू त्यो बेला सुरक्षित महसुस गर्छन् जब धेरैजना सँगै हुन्छन् नि।’
दस पन्ध्र दिनअगाडिको कुनै एक रात दर्शनका पिता आँगनमा पछारिए। गुरुद्वाराको दिशाबाट ‘जो बोले सो निहाल’को चर्को नारा गुञ्जिरहेको थियो। दर्शनका पिता ब्यूँझिनलाई यही काफी भो। उठेर कुरो बुझ्न भनी उनी बरन्डामा गए। भर्याङ झर्ने क्रममा चिप्लेर उनको टाउको आँगनमा भएको बन्चरोमा पछारिन पुग्यो।
जेनतेन पिताको काजकिरिया सम्पन्न गरे। तकियाको खोलमा बहुमूल्य सामानहरू पोको पारेर दर्शन सिंहको परिवार गुरुद्वारामा शरण लिन पुग्यो। शरणमा आएका भयभीत केही आफूजस्तैलाई देखेपछि उनीहरूले सुरक्षित महसुस गरे।
दर्शन सिंहले भने, ‘अब हामी एक्लो छैनौं। जेसुकै अप्ठ्यारो परे पनि वाहेगुरु हाम्रो साथमा हुनुहुन्छ।’
स्वयंसेवक ठिटाठिटी दिनभरि व्यस्त देखिन्थे। शरण लिन आएकाहरूले आआफ्ना घरबाट आँटा, दाल, घ्यू लिएर आएका थिए। भान्सा रातदिन खुला हुन्थ्यो। तर यसरी कति दिनसम्म चल्थ्यो ? यो प्रश्नले सबैलाई सताउन थाल्यो। उनीहरूले सरकारी सहयोगको आश गर्न थालेका थिए।
‘कुन सरकार ? ’ भीडमा कसैले सोध्यो, ‘ब्रिटिस सरकारले त देश छाडिसक्यो।’
‘पाकिस्तान बनेको छ। तर पाकिस्तानी सरकार अझै बन्न बाँकी छ।’
‘सुनेको छु बाहिरतिर आर्मीहरू जताततै छन् र उनीहरूले शरणार्थीलाई बोर्डरसम्म पुग्न सहयोग गर्छन्।’
केही परिवारले त्यहाँबाट जाने निधो गरे। ‘हामी स्टेसन जान्छौं। रेल चलिरहेको छ भन्ने सुनिएको छ। यहाँ कतिन्जेल बस्ने ? ’
‘हामीले हिम्मत गर्नैपर्छ। वाहेगुरुले हामीलाई काँधमा राखेर त पार लगाउने होइनन्।’
भीडमै कोही एक चिच्यायो, ‘नानक नाम जहाज है, जो चढे सो उतरे पार !’
केही मानिसका प्रस्थानले एउटा रिक्तता छाडेर गयो। यो रिक्त ठाउँ भर्नलाई फेरि कहीँबाट मानिसहरू आउनु पर्नेछ, बाहिरी दुनियाँका अनेक समाचार बोकेर।
स्टेसनमा थुप्रै क्याम्पजस्तो बनाइएको थियो। कति मानिस भोकभोकै मरिरहेका थिए। र केही मानिस चाहिनेभन्दा बढी हसुरिरहेका थिए। रोग फैलिन सुरु भइसकेको थियो। पाँच दिनअगाडि रेल गएको थियो। तिलको गेडो अटाउने ठाउँ पनि थिएन। छतसमेत भरिभराउ।
संक्रान्तिको दिन। गुरुद्वारामा बिहानदेखि रातिसम्म प्रार्थना चलिरहेको थियो।
त्यही रात कसैले सूचना ल्यायो, ‘शरणार्थीका लागि विशेष रेलको व्यवस्था हुँदै छ।’
त्यही पुण्य दिनमा साहनीले दुई बच्चालाई जन्म दिइन्। दुईमध्ये एउटा निकै कमजोर थियो। बाँच्ने आश एकदमै कम थियो तर पनि साहनीले बचाउनुपर्छ भन्नेमा संघर्ष गरिन्।
त्यही रात कसैले सूचना ल्यायो, ‘शरणार्थीका लागि विशेष रेलको व्यवस्था हुँदै छ।’
एउटा ठूलो समूहले गुरुद्वारा छाड्यो। दर्शन सिंह पनि निस्किए। कमजोर अनुभव गरिरहे पनि छोराहरूका लागि साहनी जान तयार भइन्। तर दर्शन सिंहकी आमाले मानिनन्। भनिन्, ‘पछि आउँछु। तँ आफ्नी श्रीमती र छोराहरूको ख्याल गर।’
दर्शन सिंहले मानेनन्। आमालाई सँगै जान ढिपी गरे। स्वयंसेवकहरूले पनि दर्शनलाई जान आग्रह गरे र आमालाई पछि आफूसँगै ल्याउने आश्वासन दिए।
दर्शनले छोराहरूलाई एउटा बास्केटमा राखे र टाउकोमा यसरी बोके मानौं त्यो उनीहरूको परिवारको सम्पत्ति होस्।
रेल स्टेसनमा कुरिरहेको थियो तर पाइलो हाल्ने ठाउँ थिएन। मान्छेहरू कम्पार्टमेन्टको छतमा घाँस उम्रेसरी बसेका थिए। जब एउटी कमजोर महिलालाई आफ्ना बालकहरूसित प्यासेन्जरहरूले देखे तब उनीहरूले करुणा देखाउँदै छतमा केही ठाउँ निकालिदिए।
करिब दस घण्टापछि रेल हिँड्न सुरु भयो। साँझको आकाश तातो रक्ताम्य देखिएको थियो। साहनीका स्तन सुक्न थालेका थिए। पालैसित छोराहरूलाई दूध चुसाउने प्रयत्न गर्दै थिइन्। बच्चाहरू बेरिएको कपडा कुनै फोहोरको थुप्रोबाट उठाइएका जस्ता देखिन्थे।
रेल कुदिरहेको थियो। मध्य राति। दर्शन सिंहले ख्याल गरे- दुई बच्चामध्ये एउटाले हातखुट्टा चलाइरहेको थियो भने अर्को शान्त देखिएको थियो। उनले त्यस बच्चालाई स्पर्श गरे। थाहा पाए- बच्चा मरिसकेको छ।
दर्शन चिच्याएर रुन लागे। वरपरका मान्छेहरूले थाहा पाइहाले के भएको छ भनेर। तिनीहरूले साहनीबाट त्यो मृत बालक छुटाउन खोजे। तर साहनी छोरालाई छातीमा टाँसेर कुनै मूर्तिजस्तै बसिरहिन्।
‘आफ्नो भाइ नभई ऊ दूध पिउँदैन।’ उनले कसैलाई बच्चा तान्न दिइनन्।
मानिसहरूले लाख सम्झाए तर उनी टसको मस भइनन्। छातीमा च्यापेको छोरोलाई थुत्नै दिइनन्।
रेल कति पटक रोकिएर स्टार्ट भइसकेको थियो। मानिसहरू कहाँ पुगियो भन्नेबारे अनुमान गरिरहेका थिए।
‘खैराबाद कटियो।’
‘म पक्का छु, यो गुजरनवाला हो।’
‘अब एक घण्टा बाँकी छ। त्यसपछि लाहोर अनि हिन्दुस्तान।’
मानिसहरू उत्तेजना र आत्मविश्वासमा कराउँथे, ‘हर हर महादेव। जो बोले सो नि हाल।’
रेल कुनै एउटा पुलमा पुग्यो। मान्छेहरूले उत्साहमा चिच्याए, ‘हामी रावी नदी पुग्यौं।’
‘हामी रावी पुग्यौं। हामी लाहोरमा छौं।’
त्यै बेला कसैले दर्शन सिंहको कानमा खुसुक्क भन्यो, ‘सरदारजी ! मरेको बच्चालाई रावी नदीमा फालिदेऊ। गति पर्नेछ। आत्माले शान्ति पाउनेछ। किन पारिसम्म लैजान्छौ ? ’
दर्शन सिंहले सरक्क छोराहरू हालेको बास्केट श्रीमतीबाट ताने। अनि झ्वाट्ट एउटा बन्डल तानेर वाहेगुरुको नाम जप्दै फुत्त रावी नदीमा फालिदिए।
अँध्यारो रातमा उनले त्यति नै बेला फ्याँकिएको बच्चा रोएको धमिलो आवाज सुने। दर्शनले आतंकित भावले श्रीमतीतर्फ हेरे। उनकी श्रीमती मरेको बच्चालाई छातीमा टाँसिरहेकी थिइन्।
त्यति नै बेला भीडबाट रेलले भर्खरै टेकेको गाउँ वागहलाई पुकार्दै आवाजको आँधीबेहरी सुनियो, ‘वागह वागह, हिन्दुस्तान जिन्दावाद !’
गुलजारको कथासंग्रह ‘रावी पार’बाट।
उल्था : सुबिन भट्टराई @subinbhattarai1