विराटनगरमा विराट एक्स्पो सुरु

विराटनगर : विराटनगरमा शनिबारदेखि विराट एक्स्पो-२०२५ सुरु भएको छ। उद्योग संगठन मोरङले एक्स्पोको आठौं संस्करण आयोजना गरेको हो। माघ २० गतेसम्म चल्ने एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन्। उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सीमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन संघीय सरकारले नीति निर्माण गर्नुपर्ने बताए। उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालका अनुसार नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ६८ स्टल मेलमा छन्। एक्स्पोमा २ हजार ५ सय विद्यार्थीलाई सिपमूलक तालिम दिने तयारी छ।
एक्स्पोमा बजार प्रवर्द्धनकै लागि मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रक्रिया तथा स्टेपवाई स्टेप प्रक्रिया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैदेशिक लगानीको प्रक्रियालगायत उद्योग व्यवसायसँग सम्बन्धित सबै सूचनाहरू भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमियालगायत संगठनका कार्यक्रमहरूको डिजिटलाइजेशन भर्सनसहितको स्टल छन्।
प्रतिक्रिया दिनुहोस !
