‘डम्बेल मेरो साथी’

‘डम्बेल मेरो साथी’

कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘क्याटमान्डू’ सविन श्रेष्ठको अभिनय यात्राको पहिलो खुड्किलो हो। यही सिरियलबाट ख्याति कमाएर उनले फिल्म ‘अन्दाज’मा हिरोका रूपमा ब्रेक पाएका थिए। त्यसयता ५० भन्दा बढी फिल्ममा काम गरिसकेका उनी सुगठित शरीरवाला हिरोका रूपमा परिचित छन्। उनले आफ्नो फिटनेस अनुभव ‘सम्पूर्ण’लाई सुनाएका छन्।


मोटाउन जिम

सानोमा म असाध्यै दुब्लो थिएँ। क्षेत्रपाटीतिर बस्थेँ। टोलका दाइहरू जिम जान्थे। उनीहरूको देखासिकी र दुब्लो ज्यान भरिलो देखाउन जिम जान थालेँ। सबैभन्दा पहिला नरदेवीको युनिभर्सल जिममा गएँ। २०५६ सालमा पहिलोपल्ट जिम गएको थिएँ। त्यसयता निरन्तर जाने गरेको छु। सुटिङको बेला, काठमाडौँबाहिर भएको बेला चाहेर पनि जिम जान सकिन्न।

नत्र, हरेक हप्ताको छ दिन जिम जान्छु। मोटाउने उद्देश्यले जिम जान थालेको थिएँ। त्यो उद्देश्य धेरै वर्षपहिले पूरा भइसक्यो। अब चाहिँ सिक्स प्याक एब्सका लागि जिम जान्छु। बीचमा एक पटक निस्कन पनि लागेको थियो तर व्यस्त भएर निरन्तर जिम जान सकिएन। चाँडै सिक्स प्याक एब्ससहित फिल्ममा देखिने रहर छ।

दिनअनुसार अभ्यास

जिम जाने मात्र होइन, गएपछि के गर्ने भन्ने पनि तालिका बनाएको छु। अरूले कसरी गर्छन्, थाहा छैन। तर, मैले भने दिनअनुसार अभ्यास गर्छु। आइतबार छातीको काम गर्छु भने सोमबार बाइसेप्स, ट्राइसेप्सको अभ्यास गर्छु। मंगलबार कार्डियोका लागि छ्ट्याएको छु। बुधबार सोल्जरको व्यायाम गर्छु। बिहीबारको दिन ब्याकका लागि छुट्याएको छु भने शुक्रबार थाई र लेगको काम गर्छु। 

डाइट प्लान

डाइट प्लानका लागि आजभोलि फिटबक्सको सहारा लिने गरेको छु। यो अनलाइन साइट हो, जहाँ आफ्नो वेट बताएपछि उसैले खान हुने÷नहुने सबै कुरा प्लान गरिदिन्छ। अनि, खाना पनि डेलिभरी गरिदिन्छ। बिहान निस्किएपछि घर जान पाउँदिनँ। बाहिर जे पायो, त्यही खानुभन्दा फिटबक्समा अर्डर गर्‍यो, ढुक्क भइन्छ। अहिले चाहिँ फिटबक्सले मलाई लो क्यालोरी भएको खाना खुवाउँछ। जाडो याममा वजन बढाउने र गर्मीमा घटाउने गरेको छु। अहिले त्यहीअनुसार खाना खाइरहेको छु। 

एकहोरो जिम मात्र गरेर पनि हुन्न। सही डाइट प्लान चाहिन्छ। शरीर बनाउन ३० प्रतिशत जिमको हात हुन्छ भने ७० प्रतिशत डाइटको हुन्छ जस्तो लाग्छ। स्पेसल केही बार्ने गरेको छैन। मन लागेको कुरा खाइदिन्छु। मन लागेको कुरा एक दिन खाँदैमा केही फरक पर्दैन। जिम गर्ने अनि जे पायो त्यही खाइरहने चाहिँ गर्नु हुँदैन।

सुटिङमा जाँदा आजभोलि समस्या हुन्न। आफूलाई खान मन लागेको कुरा भनेपछि कुकले बनाइदिन्छन्। फिल्म क्षेत्रमा धेरै वर्ष भइसक्यो। अहिले कुक दाजुभाइ सबैलाई मैले के खान्छु भन्ने थाहा भइसकेको छ। त्यसैले सुटिङमा पनि डाइट मेन्टन गर्न गाह्रो हुन्न। 

डम्बेल सधैँ साथी

कामले गर्दा दिनहुँ जिम जान सम्भव हुँदैन। अझ सुटिङ त्यो पनि गाउँमा पर्‍यो भने जिम जाने सम्भावनै रहन्न। त्यसैले सुटिङ जाँदा सधैँ डम्बेल बोकेर जान्छु। यसले शरीरका सबै अंगको कसरत गर्न मिल्छ। यो भएपछि चेस्ट, बाइसेप्स, ट्राइसेप्स गर्न मिल्छ। सुटिङमा हुँदा कम्तीमा १०–११ नबजी सुटिङ सुरु हुँदैन। त्यही कारण सुटिङमा झन् धेरै समय हुन्छ।

डे–नाइट सुटिङ छ भने मात्र गाह्रो हो। तर, कसरत गर्ने भन्दैमा सातै दिन जिम गर्नु हुन्न। मसल्सलाई पनि रेस्ट दिनुपर्छ। त्यसैले हप्तामा छ दिन जिम गरेर एक दिन आराम गर्छु। 

 प्रस्तुतिः कुबेर डंगोल

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.