जाजरकोट सदरमुकामको पानी पिउन अयोग्य
![जाजरकोट सदरमुकामको पानी पिउन अयोग्य](https://annapurnapost.prixacdn.net/media/albums/pakhala-news_20190709133054_whdWJby34r.jpg)
जाजरकोट : जाजरकोट सदरमुकामस्थित खलंगावासीले पिउने पानी पिउनयोग्य नरहेको तथ्य फेला परेको छ। सदरमुकामवासीले प्रयोग गर्ने खानेपानीको नमूना परीक्षण गर्दा यस्तो तथ्य फेला परेको हो।
जिल्ला अस्पताल जाजरकोटले सदरमुकामका तीनओटा मुहानबाट लिइएको पानीको नमूना परीक्षण गर्दा सबैभन्दा धेरै बुदबुदी खानेपानीको मुहानमा १४० ईकोली (कोलिफर्म) देखिएको छ। कोलिफर्मको मात्रा जति धेरै भयो, पानी त्यति धेरै प्रदूषित हुने जिल्ला अस्पतालका डा. केशर कार्कीले बताए।
रानागाँउको खानेपानीमा २८ र जिल्ला प्रहरी कार्यालयको खानेपानीमा २६ ईकोली (कोलिफर्म) देखिएको डा. कार्कीले बताए। उनका अनुसार कोलिफर्मको मात्रा बढी हुनु भनेको पानीमा दिसाका जीवाणु समेत हुनु हो। पानीमा दिसाका जीवाणुयुक्त पानी पिउँदा झाडापखाला, टाइफाइड लगायत रोगको संक्रमण हुने गर्दछ।
केही दिनअघि कारागारका कैदी, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी र भेरी नगरपालिका ४ रानागाँउमा पखालाको प्रकोप फैलियो। एक सातामा करिब ३०० जना पखालाका बिरामीको उपचार भएको डा. कार्कीले बताए।
पहिलो पटक भएको वर्षाको पानीको भेल खानेपानीको मुहानमा मिसिएको पानी खाँदा पखाला देखिएको उनले बताए। उपचार पछि पखालाका विरामी घटेका छन्। पानी निकै फोहर भएकोले उमालेर खान उनले सल्लाह दिए।
पखाला लागेको थाहा पाउनेबित्तिकै खानेपानीको अवस्था बुझ्न जिल्ला अस्पतालले सदरमुकामवासीले प्रयोग गर्ने तीन ठाँउको खानेपानीको नमूना परीक्षण गरेको थियो। परीक्षणबाट खानीपानीमा ईकोलीको मात्रा अत्याधिक पाइएको डा. कार्कीले बताए। जुन पानी प्रयोग नै गर्न मिल्दैन, त्यही पानी खाने गर्नले पखाला लागेको उनको भनाई छ। पानीमा ईकोलीको मात्र ० देखि ५ सम्म भए खान मिल्ने मानिन्छ। ५ भन्दा बढी ईकोलीको मात्रा भए पानी दूषित मानिन्छ।
जिल्ला विपद् ब्यवस्थापन समितिको हालै बसेको बैठकले पानी शुद्धिकरण गर्ने, औषधिउपचारको ब्यवस्था भरपर्दो तरिकाले मिलाउने, प्रकोप फैलन सक्ने ठाउँमा औषधि स्टक राख्ने, स्वास्थ्यकर्मीलाई बिदामा बस्न नदिने, जनचेतनामुलक सन्देश प्रवाह गर्ने लगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।
उनले भने ‘जाजरकोट जिल्ला झाडापखाला लगायतका स्वास्थ्यजन्य महामारी हुन सक्ने दृष्टिकोणले उच्च जोखिममा रहेको जिल्ला भएकोले समयमै सचेत रहन सरोकारवाला निकायलाई आग्रह गरिएको छ। स्वास्थ्यकर्मीलाई पनि हाइअलर्टमा रहन निर्देशन दिएका छौ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)