आन्दोलनले मध्यमोदी फेरि ठप्प
कुश्मा : तलब नपाएको भन्दै आयोजनामा कार्यरत मजदुरहरूले आन्दोलन गरेपछि पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत आयोजना निर्माणको काम फेरि पनि रोकिएको छ। १५ मेगावाट क्षमताको जलविद्युत आयोजनामा कार्यरत झन्डै २ सय मजदुरले एक सातादेखि आफूको तलब पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्। प्रभावित क्षेत्रका बासिन्दाहरूको आन्दोलनका कारण झन्डै दुई सातासम्म बन्द रहेको आयोजनाको काम गत जेठ २५ गतेबाट मात्र सुचारु भएको भए पनि फेरि कार्यरत मजदुरको आन्दोलनका कारण सुचारु भएको एक महिना नपुग्दै आयोजनामा अवरोध उत्पन्न भएको छ।
आन्दोलनरत मजदुरले यस अगाडि गरिएका पटक पटकका आन्दोलनमा कर्मचारीहरूलाई समयमानै तोकिएको तलब उपलब्ध गराउने भनी सहमति भएको थियो। तर पछिल्लो छ महिनादेखि आफूले पारि श्रमिक नपाएका कारण आयोजनाको काम नै बन्द गराएर आन्दोलनमा उत्रनु परेको बताइएको छ।
मजदुर युनियनका अध्यक्ष रामजी शर्माले छ महिनादेखि तलब नपाएका कारण नै बाध्यताले आन्दोलन गर्नु परेको बताए। ‘यति लामो समयसम्म पनि हामीलाई तलब उपलब्ध गराइएको छैन। हामीले पनि खानुपर्छ हामीले पनि बाँच्नुपर्छ। तर तलब समयमा नदिएर हामीमाथि अन्याय गरिएको छ’ उनले भने, ‘हामीले अहिलेसम्म काम गरेको तलब नपाएसम्म काममा नफर्किने र आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छौँ।’ त्यति मात्रै होइन।
हाम्रो तलबबाट काटेर सञ्चय कोषमा जम्मा गर्ने भनिएको रकम पनि जम्मा गरिएको छैन।’ छ महिना अगाडिसम्म बुझेको तलबबाट मजदुरको सञ्चयकोषमा जम्मा गर्ने भनी रकम काटिएको भए पनि सञ्चयकोषमा भने उक्त रकम दाखिला नगरिएको शर्माको भनाई छ। आयोजनाको काम सुचारु गराउन र मजदुरका समस्याको सुनुवाइका लागि निर्माणाधीन आयोजना रहेको मोदी गाउँपालिकालाई समन्वयको काम गर्न भनिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको भनाई छ।
मजदुरको आन्दोलनका कारण आयोजनाको काम ठप्प रहेकोले आयोजना र मजदुरकोबीचमा सहमति गराएर काम सुचारु गराउने प्रयास भइरहेको आयोजना रहेको मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले बताए। आयोजनाको काम जुन कुनै हालतमा पनि सुचारु गर्नु पर्छ भन्ने आसयका साथमा दुवै पक्षका बीचमा गाउँपालिकाले मध्यस्थताको काम गरिरहेको पनि उनको भनाई छ। चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य २०७१ मंसिरमा सुरु गरिएको थियो।
निर्माण प्रारम्भ गरेको ३ वर्ष अर्थात ०७४ मंसिरभित्र काम सक्ने लक्ष्य लिइएको भए पनि आयोजनाको काम अझै सकिन सकेको छैन। प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको पटक पटकको आन्दोलन, भूकम्प, आयोजना निर्माण भइरहेको मोदी खोलामा आउने बाढी लगायतका अवरोधका कारण आयोजनाको काम ढिला हुँदै गइरहेको छ। आयोजनामा अहिले पावर हाउस निर्माण गर्न काम चलिरहेको थियो।
प्रतिक्रिया दिनुहोस !