आमाको बिहे

आमाको बिहे

करिब चार वर्ष पहिले एउटी किशोरीले भनेकी थिई, ‘सानू ! (मलाई उसले सम्बोधन गर्ने शब्द) म त मामूको बिहे गरिदिने हो।’

ऊ आफ्नी डिभोर्सी आमाको विवाह गरिदिने कुरा गरिरहेकी थिई। उसकी एउटी बहिनी पनि छे।

दुई वर्ष अघिको दसैं सकिएपछिको असोजको अन्त्यतिर उसले फेसबुकमा फोटो राखी र लेखेकी थिई, ‘मामुको विवाह’।

त्यो देखेर मैले आफूलाई रोक्न सकिनँ। उसलाई फोन गर्दा ऊ आफ्ना नयाँ पिताका घरमा थिई। उसले नयाँ दम्पतीसँग कुरा गराई। बेहुलाकी पहिली पत्नीले दोस्रो विवाह गरिसकेकी र उता पनि एक छोरा र छोरी थिए। केही दिनमा चारै छोराछोरी लिएर नयाँ दम्पतीले काठमाडौं यात्रा गरे। हुर्किसकेका छोराछोरीले सहजै त्यो पुनर्विवाहलाई स्वीकार गरेको देखियो। र त्यो पारिवारिक प्रेम अझ झाँगिँदै गइरहेको देखिरहेकी छु।

२०७५ भदौ १ देखि नयाँ मुलुकी ऐनले पहिलाका कानुनका केही कसिला गाँठा फुकाएको छ। फलस्वरूप पुरुषवादी भएका सम्बन्धविच्छेदका फाइलका संख्या अदालतमा बढिरहेका छन्। अबको केही समय सम्बन्धविच्छेदको दर बढेर जानेछ।

यसैबीच एउटा फोन आयो। लोग्नेले कोठा भाडामा लिएर सरिसकेपछि श्रीमतीलाई भनेछ कि अब तँसँग सम्बन्धविच्छेद गर्छु। अझ उसले भनेछ कि मैले अर्को विवाह गरिसकेको छु, तँ मलाई छोडी दे।

‘अब के गर्ने ? ’

‘छोराछोरी छन् ? ’

‘बाबुसँगै छन् ? ’

‘दोस्रो विवाहको प्रमाण छ ? ’

‘दोस्रो विवाह त गरेकै छैन रे, पत्नीलाई धम्क्याउन मात्रै भन्या रे !’

‘सम्झाएर मिलाउन सकिँदैन ? ’

‘केटो श्रीमतीसँग बस्दै बस्दिनँ भन्छ रे।’

‘अंश मुद्दा हाल्ने उसो भए।’

‘गाउँमा केही छैन रे भागमा आउने गरी। सम्बन्धविच्छेद नगराउन सकिँदैन ? छोराछोरीबिना गतिलो शिक्षा र कुनै सीप नभएकी ऊ कहाँ जाओस् ? के गरोस् ? त्यसको त बिजोग हुन्छ त !’

‘उसको लोग्ने साँच्चै नै ऊसँग बस्न चाहँदैन भने उसलाई रोक्न सकिँदैन। कानुनतः ऊ सम्बन्धविच्छेदको मुद्दा हालेको मितिले एक वर्षपछि सम्बन्धबाट मुक्त हुन्छ। उसलाई रोक्न सकिँदैन।’

‘अनि ऊ के गर्छे त अब ? ’

‘त्यही भएर छोरीलाई गतिलो ज्वाइँ होइन गतिलो शिक्षा दिनुपर्छ।’ म केही चर्को सुनिन्छु।

‘उसको लोग्नेलाई रोक्न सकिँदैन त अब श्रीमतीलाई छोड्नबाट ...!!? ? ’ प्रश्न दोहोरिएर आउँछ सुस्केरासहित।

‘उसले छोड्न नै चाहेमा अब सकिँदैन...।’

र संवाद सकिन्छ।

अब ऊ श्रीमतीलाई सम्बन्धविच्छेदका लागि विवश बनाउँछ, नभए सम्बन्धविच्छेदका लागि मुद्दा हाल्छ। कम्तीमा एक वर्षमा ऊ सम्बन्धबाट मुक्त हुन्छ र आफूले चाहेको जीवन बाँच्नेछ। यसरी एउटा पूर्ण गृहस्थीबाट जबर्जस्ती निकालिनेछे ऊ।

अपवाद नियम होइन। यी नियममा नअटाउने दृश्यलाई कानुनको क्यामेराले सायद कहिल्यै खिच्न सक्दैन। यस्ता दृश्यको अनुमान सायद हाम्रा विधायकहरूले पनि गरेका छैनन्। उसको भविष्यको चिन्ताले थर्कमान साथीभाइ, छिमेकी, परिवारले पनि हेरिरहनेछन् उसको पारिवारिक विखण्डन। गृहस्थीमा छोराछोरीको आगमन एउटा सुखद अनुभूति हो। तर हुर्किएका छोराछोरीले लिने निर्णयले अधिकांश त एक पक्षकै पक्षपोषण गरेको देखिन्छ। कहीँ बालक छोराछोरीकै नाममा भद्दा ब्ल्याकमेलिङ गरिरहेको भेटिन्छ भने कहीँ छोराछोरी एकअर्कालाई प्रहार गर्ने हतियार पनि बनाइएका छन्।

हाम्रो सामाजिक व्यवहारले छोराछोरीसहितका पुरुषको विवाहको कल्पना मात्रै गर्दैन, पुरुष त एकल हुनै हुँदैन भन्छ। एकल महिलाका हकमा सामाजिक व्यवहार कहिल्यै मित्रवत् भएन र अझै त्यसको सम्भावना देखिएको छैन। बालक छोराछोरी छोडेर कसरी हिँड्न सकेकी... ? फलानी...। छोरीछोरी नहुँदा हुन् त पनि महिलाले गरेको पुनर्विवाह सहज स्वीकार्य देखिँदैन। परिवार तथा समाजले खेद्ने क्रम रोकिँदैन।

महिलाको पुनर्विवाह नभएको होइन। तर ती विवाहमा महिलाले गर्ने त्यागको भारले सम्बन्धको तराजुको सन्तुलन मिलेको देखिँदैन। यो असन्तुलनको मारमा कोही पर्छ भने त्यो महिला नै हो। यो असन्तुलनलाई मिलाउने अभिभारा पनि महिलाकै जिम्मामा हुन्छ र यो असन्तुलनको आरोप पनि महिलाकै नाममा लेखिँदै आएको छ।

सन्तुलनचाहिँ मिल्छ कति बेला त !

जब महिला योग्य हुन्छे, त्यति बेला मिल्छ सन्तुलन। यो योग्यतालाई विवाहका लागि उमेर पुग्नुका रूपमा नलिइदिनुहोला।

पतिका पहिलेका सन्तानलाई आफ्नो ममत्वले सिँचेर आमा बन्न सक्ने थुप्रै महिला देखिन्छन्। तर आफ्नी पत्नीका पहिलेका सन्तानको बाबु बनेर आफ्नो पितृत्वमा हुर्काउने छाती कति पुरुषमा छ र !

यो संसारमा पुरुषका सन्तानलाई आफ्नो ममत्वले सिँचेर आमा बन्न सक्ने थुप्रै महिला देखिन्छन्। तर महिलाका सन्तानलाई बाबु बनेर आफ्नो पितृत्वमा हुर्काउने छाती एकाध पुरुषमा मात्रै छ। जुन संख्यात्मक हिसाबले असाध्यै नगण्य छ।

जीवनमा पाइलैपिच्छे परीक्षा दिएर अर्की आमा र दोस्री पत्नीको भूमिकामा महिलाहरू डुब्दै उत्रँदै गरिरहेछन्। महिलाले युगौंदेखि निर्वाह गरिरहेको यो भूमिकाका लागि किन पुरुषहरू सहजै फिट नभएका होलान् ? यो प्रश्नको जवाफ खोज्न सबैभन्दा पहिले हाम्रो समाजको अर्थ–संरचनालाई हेर्नु आवश्यक हुन्छ।

महिलाले गर्दै आएका वा महिलालाई गराइँदै आइएको सामाजिक तथा गृहस्थ जिम्मेवारी आयआर्जनभित्र पर्दैन। भागवत गीताले भनेको निष्काम कर्मयोग कतै कसैसँग मिल्छ भने त्यो संसारका तमाम कर्मयोगी महिलासँग मिल्छ। यद्यपि यी जिम्मेवारीले कहिल्यै आर्थिक हैसियत प्राप्त गरेनन्। युगौंदेखिको यो फलविहीन अभिभारालाई वात्सल्य, प्रेम, कर्तव्य, परम्परा, इज्जत नामका आदर्शले जितेका हुन्। र यसरी बेफुर्सदी महिलाहरू बेकामे दरिँदै आएको सत्य हो।

यसरी बेकामे महिलाहरू विवाहका लागि योग्य त भए तर सन्तानसहितकी एकल महिला पुनर्विवाहका लागि कहिल्यै योग्य मानिइन ! संसारका तमाम विवाहित महिलालाई कसैले पनि किस्तीमा राखेर बसेका ठाउँमा खानेकुरा पुर्‍याइदिएको छैन। कुरा नचपाई भन्ने हो भने संसारमा सबैभन्दा धेरै काम कसैले गर्छ भने त्यो विवाहित महिला नै हो। सबैभन्दा ठूलो श्रमिक ! र ऊ आफ्नै श्रमले बाँचेकी छ आजसम्म।

उसले आफूलाई आफ्नै श्रमले पालेकी त छे नै। एकल महिलाको विवाहका सन्दर्भमा भने ऊ आफ्नो सन्तानलाई आफूसँग राख्ने साहस गर्न सक्दिनँ। मेरो श्रमले नै यो बच्चो पालिन्छ भन्न सक्दिनँ किनकि घरायसी कामको अहिलेसम्म कुनै मोल छैन र विवाहका नाममा थुप्रैथुप्रै महिलाहरूले आफ्नो पेसा तथा करिअरलाई पछाडि छोडेका छन् अनि मात्रै घर अगाडि बढेको छ।

म पुनः फर्किन्छु उसकी आमाको विवाहतिर; यो विवाहचाहिँ कसरी सम्भव भयो ?

वैदेशिक रोजगारका क्रममा इजरायलमा रहेर अर्थोपार्जन गरिरहेकी उनले पहिलो लोग्नेबाट केही नलिई आफ्नै बुतामा दुई छोरीको भरणपोषण गरिरहेकी छन्। दस जोड दुई पढिरहेकी जेठी छोरी र स्कुले शिक्षाको मध्यतिर पुगेकी कान्छी छोरीसहित विवाह गर्न उनले कहाँबाट हिम्मत गरिन् ? उनी स्वावलम्बी नहुँदी हुन् त उनको जीवनमा आएका यी पुरुषले दुई छोरीको जिम्मेवारीसहित उनलाई अपनाउने थिए कि थिएनन् ?

केही वर्षअघि केही समयको अघिपछिजस्तो जीवनसाथी गुमाएका साहित्यकार कृष्ण धराबासी तथा कलाकार हरिवंश आचार्यको पुनर्विवाह भयो। केही टिप्पणी भए पनि यो विवाहले समाजमा एउटा सकारात्मक सन्देश प्रवाह गर्‍यो। यो विवाहमा दुवै स्त्रीपुरुषको दोस्रो विवाह नै थियो।

केही समययता भने मलाई लागिरहेको छ कि यदि पत्नीतर्फका सन्तानको आर्थिक जिम्मेवारी पनि उठाउनु परेको भए यी विवाह कत्तिको सम्भव हुने थिए ? स्मरण रहोस्, पहिलो विवाह तर्फबाट मञ्जु विमली र रमिला पाठकका एक÷एक छोरा छन्। यी दुवैको आर्थिक जिम्मेवारीको भार धराबासी र आचार्यले उठाउनु परेन।

र आज विवाह, पुनर्विवाहका सन्दर्भ र प्रसंगले पनि भनिरहेछन् कि छोरीलाई स्वावलम्बी बनाउनुहोस्। कोही जीवनमा आउनु र जानुले आजका छोरीहरूको जीवनयापनमा फरक पर्नु हुँदैन। जीवनमा कसैको अनुपस्थितिले उनीहरू एकैपटक घरबाट न घर न घाटको बन्नु हुँदैन।

लेखक वकालत गर्छिन्। उनको ‘रेलिगेसन जिन्दगी’ कवितासंग्रह छापिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.