राष्ट्रिय विभूतिको उपेक्षा

राष्ट्रिय विभूतिको उपेक्षा

भर्जन्म घाँस तिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो।।

लोकको हित गर्ने पवित्र उद्देश्यसाथ घाँसीको प्रेरणाले नेपाली साहित्याकाशमा तनहुँको चुँदी रम्घाका समृद्ध आचार्य खलकमा एक कवि जन्मिए। विश्वभरका नेपालीभाषीलाई एउटै एकता सूत्रमा बाँध्ने काम गरेको भन्दै आदिकवि भानुभक्त आचार्यलाई असार २९ का दिन सम्झने गरिन्छ। नेपालभन्दा बाहिरका नेपालीभाषीका लागि आदिकविको जन्मोत्सवले नेपालमा दसैंजत्तिकै महत्त्व पाउने पनि गरेको छ। तर सारा नेपालीलाई एकता सूत्रमा बाँध्ने आदिकविको जन्मदिनमा जति उत्साह देखिन्छ, उनको जन्मथलोमा भने उत्तिकै बैरागलाग्दो अवस्था छ।

आदिकविको जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने भनिए पनि भानुले आफ्ना काव्यकृति सिर्जना गरेको प्राचीन घरको अझै जीर्णोद्धार हुन सकेको छैन। डेढ दशकअघि दशकअघि यादव खरेलनिर्देशित चलचित्र भानुभक्तको छायांकनका क्रममा आदिकविको जन्मघरलाई पुनर्निर्माण गरिए पनि आगलागीका कारण भएको भग्नावशेष अझैसम्म उही अवस्थामा छ। सरकारी तवरबाट पुनर्निर्माण हुनुपर्नेमा नभएपछि एक गैरसरकारी संस्थाले भानुको जन्मघरलाई पुनर्निर्माण गर्ने जिम्मा लिएको थियो। पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाले भानुको जन्मघरसँगै रामायण भवन तयार पारे पनि भानुको जन्मघर बन्ने छाँट भने अझै देखिएको छैन। भानुको जन्मघर तयार पार्न सकिए त्यसैका माध्यमबाट विश्वभरका नेपालीभाषी साहित्यकारहरूको चहलपहल बढाउन सकिने यस क्षेत्रका बुद्धिजीवीहरूको अपेक्षा छ। तर पर्यटक आएमा उनीहरूको सबैभन्दा धेरै चासो रहने जन्मघरकै अस्तित्व विलिन भएपछि यसले पार्ने प्रभाव पनि सकारात्मक नरहने धेरैको धारणा छ।

संघ सरकारले झिक्यो हात

२०५२ सरकारले भानुको जन्मथलोको विकासका लागि भानु जन्मस्थल विकास समिति गठन पनि गरेको थियो। तर, समितिका लागि आउने बजेट कर्मचारीकै लागि नपुग्ने भएकाले विगतमा धेरै काम गर्न नसकिएको तीनपटक अध्यक्ष रहिसकेका भानुकै वंशज श्रीभक्त आचार्यको भनाइ छ। ‘हामीकहाँ गर्नुपर्ने काम धेरै थिए’ उनले भने, ‘तर बजेट नै नपुग्ने भएपछि सोचेजस्तो काम हुन सकेन।’ त्यही समिति पनि हालै संघ सरकारले विघटन गरेपछि स्थानीय तहकै जिम्मामा पुगेको छ। राष्ट्रिय विभूति भनेर सरकारले सम्झने गरे पनि भानुको जन्मथलोको विकास आफ्नो हातबाट झिकेर स्थानीय सरकारमा पु¥याउनुले पनि उसको यस थलोप्रतिको उपेक्षा बुझ्न गाह्रो छैन। भानु नगरपालिकाका प्रमुख उदयराज गौली संघ सरकारले उपेक्षा गरेकाले अब आफूहरूले सक्दो विकासमा पहल गर्ने बताउँछन्। ‘यति नै भन्ने त छैन तर आवश्यक परेका बजेट रोक्दैनौं’, उनले भने।

भानु जन्मथलोको साहित्यिक गरिमा उँचो छ। यसलाई सबैले एकपटक आउनैपर्ने ठाउँका रूपमा विकास गर्नुपर्छ।

तर भानुको जन्मघरको निर्माण भने नगरपालिकाको वशमा नभएको उनको भनाइ छ। ‘कति लाग्छ भन्ने पनि यकिन छैन। करोडौं लाग्छ भन्ने सुनेको छु। डिजाइन सकिएपछि पश्चिमाञ्चल विकास मञ्चले नै बनाउँछ’ उनले भने, ‘अरू कुरामा हामी सघाउँछौं।’ भानुको नामबाट स्थापित नगरपालिकाले स्थानीय स्तरमा भानु जयन्तीमा सार्वजनिक बिदा तथा औपचारिक समारोहमा भानुको ‘बिर्के टोपी’ लगाउने प्रचलन थालेको छ। तर प्रदेश र संघ सरकारले भानुको विकासमा भरथेग नगर्दा विराट् महत्त्व बोकेको थलोको विकास स्थानीय योजनामा सीमित हुने खतरा बढेको छ।

‘साहित्यिक तीर्थस्थल’ को गफ

भानुको जन्मथलोलाई साहित्यिक तीर्थस्थल बनाउने कुरा चल्न थालेको दशक नाघिसक्यो। तत्कालीन अध्यक्ष आचार्यले अघि सारेको यो अवधारणामा तीनपटक आफैंले सम्हालेको कार्यकालमा इँटा थप्न सकेन। राज्यको उपेक्षा नै यसको कारक रहेको उनको ठम्याइ छ।

सरकारले २०७१ सालमा भानुको द्विशतवार्षिकी पनि मनायो। तर राजधानीकेन्द्रित कार्यक्रमले भानु जन्मथलोको विकासमा एउटा इँटा पनि थप्न सकेन। बरु गत वर्ष स्थानीय साहित्यप्रेमीहरूको एक जमातले अन्तर्राष्ट्रिय कवि सम्मेलनको आयोजना गरेपछि भने स्थानीयमा केही हुन्छ कि भन्ने आशा पलाएको छ। ‘भानुको जन्मथलोको विकास र प्रचार गर्न सकिए यसलाई विश्वभर साहित्यिक तीर्थस्थलका रूपमा चिनाउन नसकिने होइन’ स्थानीय विक्रमबन्धु न्यौपाने भन्छन्, ‘तर त्यसका लागि स्थानीय सरकारको मात्र भर परेर हुँदैन, प्रदेश र संघले पनि उत्तिकै चासो दिनुपर्छ।’

विश्वभरका नेपालीभाषीको आस्था

भानुको जन्मथलोमा भारत, चीन तथा म्यानमारका कविका साथमा केही अघि पुगेका वरिष्ठ साहित्यकार तुलसी दिवसलाई पनि आदिकविको जन्मथलो उपेक्षामा परेकोमा चित्त बुझेको रहेनछ। ‘यो संसारभरका नेपालीभाषीका लागि साहित्यिक तीर्थस्थल बन्नुपर्छ’, उनले भने, ‘यस ठाउँको साहित्यिक गरिमा उँचो छ। सबै साहित्यकार एकपटक आउनैपर्ने ठाउँका रूपमा विकास हुनैपर्छ।’

अर्का साहित्यकार डा. नवराज लम्सालले भानु कसैको पेवा नभएको भन्दै भानुको थलोको संरक्षण र उनका रचनालाई जीवन्त पार्न सबै लाग्नुपर्ने बताए। ‘भानुबारे समालोचनात्मक टिप्पणी जरुरी छ’ उनले भने, ‘यसो भए भानुका कृति चीरकालसम्म सुरक्षित रहन्छन्।’

भानु जयन्तीलाई आफ्नो जातिकै ठूलो चाडका रूपमा मनाउने दाजिर्लिङभन्दा केही परको बस्ती डुबर्सका कवि दुर्गा चाम्लिङ राई उनकै जन्मघरमा आउन पाउँदा खुसी थिए। तर भानुको जन्मघर देख्दा भने उनको मन कुँडियो। ‘हामीले त उनको सालिकलाई पनि निकै माया गरेर राखेका छौं’, उनले भने। तर यहाँ सालिक हैन घरकै विजोग भएको देखेका

मणिपुर पारिपट्टि म्यान्मारको टमुबाट आइपुगेका कवि अमित घिमिरेले भानुको जन्मथलोबाट धेरै कुरा सिक्न पाएको भन्दै खुसी प्रकट गरे पनि आफ्नो श्रद्धाको केन्द्र अझै विकसित भएको हेर्ने चाहना उनको भावबाट बुझिन्थ्यो। गीतल प्रतिष्ठान एवं नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राज्यस्तरबाट नभए पनि आफूहरूले देशविदेशका नेपालीभाषीको तीर्थस्थल बनाउन जमघट गरेको भन्दै यसबाट राज्यले सिक्ने अपेक्षा गरे। ‘राज्यले साथ नदिँदासम्म यस ठाउँले महत्त्व पाउँदैन’ उनले भने, ‘बेलैमा झक्झकिनु जरुरी छ।’

जसले जति अपेक्षा गरिरहे पनि भानुको जन्मस्थलमा यो लेखनी छापिने दिन पोहोरभन्दा पातलो जमघटमाझ उनलाई सम्झेर काव्यकृति सिर्जना गर्ने कविहरू भने यो ठाउँ ब्युँताउने अभियानमा धीमा गतिमा लागिरहेका भेटिनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.