धनकुटामा पहिरोले पार्‍यो पीर

धनकुटामा पहिरोले पार्‍यो पीर

धनकुटा : अविरल वर्षाले गाउँदेखि सहरसम्म जताततै पहिरो गएको छ। पहिरोका कारण स्थानीय बासिन्दा त्रासमा छन्। सडक आसपासका भीरबाट माटोको ढिस्को खस्दा ग्रामीण क्षेत्रका सडक अवरुद्ध बनेका छन्।

प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीका अनुसार वर्षाले पहिरोको जोखिम बढाएपनि मानवीय क्षतिको विवरण अहिलेसम्म आएको छैन। पहिरोका कारण निम्तन सक्ने जोखिमबारे सजगता अपनाएको उनले बताए।

महालक्ष्मी नगरपालिकामा पहिरोले हालसम्म १९ वटा घर पूर्णरुपमा क्षति गरिसकेको छ । त्यस्तै १० वटा घर जोखिममा रहेको नगर प्रमुख पर्शुराम नेपालले बताए । उनका अनुसार ४ वटा घरमा आंशिक क्षति र १ वटा घर उच्च जोखिममा रहेका छन् । निरन्तरको वर्षाले सवै वडामा पुग्ने वाटो अवरुद्ध हुँदा राहत पुर्‍याउन कठिन भएको उनको भनाई छ।

‘सडक तथा बाटाघाटोमा भएको अवरोध र भौगोलिक कठिनताका बाबजुत जतिसक्दो चाँडो राहत दिलाउने कार्यमा लागेका छौं’, उनले भने, ‘नगरपालिकाले पीडितको लागि तत्काल राहत र पुनर्स्थापनामा स्रोत र क्षमताले भ्याएसम्म द्रुत गतिमा काम गर्नेछ।’

महालक्ष्मी नगरपालिका बाहेक धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभूमि गाउँपालिका, चौविसे गाउँपालिका, छथरजोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा पनि पहिरोको उच्च जोखिम रहेको छ। ती स्थानीय तहका कतिपय स्थानमा पहिरोकै त्रासमा स्थानीय घर छाडेर छिमेकी तथा नातेदारकोमा शरण लिन पुगेका छन्। विद्यालय भवनहरूमा पनि क्षति पुगेको छ। खानेपानी योजनाका पाइप बगाउँदा खानेपानी अभाव हुन थालेको छ।

पहिरोले सडक बगाएपछि छथरजोरपाटी गाउँपालिका ६ नाम्जाङको सिँधुवा बजारसँग सडक संजाल टुटेको एक हप्ता भन्दा बढी भइसक्यो। सडक सम्पर्क विच्छेद भएपछि नाम्जाङका करिब १३० घरपरिवारले उत्पादन गरेको तरकारी र दूध बजार ल्याउन सकिएको छैन।

बजार ल्याउन नसक्दा तरकारी बारीमै कुहिएको स्थानीय दीपक गुरुङले बताए। उनका अनुसार किसानका घरमा दूध फाटेको छ। यहाँबाट दैनिक ९०० लिटरसम्म दूध उत्पादन बजारमा विक्री हुन्थ्यो। पहिरोले सडक नै बगाएपछि गाउँमा खाद्यान्न ल्याउन र कृषिजन्य वस्तु पुर्‍याउन ठप्प भएको उनले बताए। स्थानीयलाई आवतजावतमा समस्या भएपनि मान्छे हिँड्ने पैदल बाटो भने बनाइएको छ।

सहिदभूमी गाउँपालिका सबैजसो कच्ची सडक पहिरोले अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। ‘कच्ची सडकमा गाडी गुड्नै अवस्थाको छैन’, उनले भने, ‘वर्षा केही दिन लम्बिए गाउँमा खाद्यान्न अभाव हुने सम्भावना छ’, बिजुली आपूर्ति बन्द हुँदा गाउँ अन्धाकारमय छ। मोबाइल चार्ज गर्न धनकुटा सदरमुकाम आउनुपर्ने अवस्था रहेको उनले बताए।

यता चौविसे गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले सडक हिलाम्ये हुँदा पहिरोले पीडित भएका घरपरिवार राहत वितरण गर्न कठिन भएको बताइन्। निरन्तरको वर्षाले पहिरो जाँदा बिजुली आपूर्ति बन्द भएको समेत उनले बताइन्।

छथरजोरपाटी गाउँपालिकाको धेरै ठाउँमा पहिरो गएको छ। ग्रामीण क्षेत्र त्रिसुले हात्तीखर्कका कच्ची सडकमा पहिरो खस्दा बाटो अवरुद्ध छ। ६/७ घरमा पूर्ण क्षति भएको र ४० भन्दा बढी घर पहिरोको कारण जोखिमयुक्त रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताए।

धनकुटा नगरपालिका क्षेत्रका घरहरू समेत पहिरोको कारण भासिएका छन्। बजार क्षेत्रका पक्की घर समेत पहिरोको चपेटामा परेका छन्। घर रहेको डिल पहिरोले खस्दा पक्की घरका जग चर्किएर खसेको स्थानीय बासिन्दाले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.